८ वैशाख २०८१ शनिबार
राजनीति

‘दस मिनेट’ मै थप सुरक्षाकर्मी

निर्वाचनका लागि म्याग्दीमा खटिएका सुरक्षाकर्मी । तस्बिर : हरिकृष्ण गौतम

पोखरा – निर्वाचन दौरान कुनै पनि सुरक्षा चुनौती आइपरेको खण्डमा १० मिनेटमा अतिरिक्त सुरक्षाकर्मी थपिन सक्नेगरी व्यवस्थापन चुस्त पारेको सुरक्षा निकायले जनाएको छ । मोटर पुगेको ठाउँमा बढीमा १० मिनेटमा आवश्यक सुरक्षाकर्मी अवरोधस्थलमा पुगिसक्ने सुरक्षा अधिकारीको भनाइ छ।

‘मोटरबाटो पुगेको स्थानमा अवरोध आएको थाहा पाएको खण्डमा १० मिनेटमा अतिरिक्त सुरक्षाकर्मी पुग्न सक्नेछन्,’ पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले भने, ‘त्यसका लागि सशस्त्र प्रहरीको टिम तयारी अवस्थामा रहनेछ ।’ उनका अनुसार घटनाको १५ मिनेटमा सेनासमेत पुगिसक्नेगरी व्यवस्थापन मिलाइएको छ। 

‘मोटरबाटोमा १० मिनेटभित्र सशस्त्र, १५ मिनेटमा सेना पुग्न सक्नेगरी सुरक्षा व्यवस्थापन मिलाएका छौं,’ अर्यालले भने, ‘त्यसमा नेपाल प्रहरी पनि रहिरहन्छ ।’ उनका अनुसार मतदानस्थलको पहिलो घेरामा म्यादी र नेपाल प्रहरीको सुरक्षा रहनेछ । त्यसको बाहिरी घेरामा सशस्त्र प्रहरी खटिन्छ । सूचना संकलन गर्न राष्ट्रिय अनुसन्धान विभागको टोली पनि खटिने उनले बताए । उनका अनुसार सशस्त्रको घेराभन्दा बाहिर सेना रहनेछ । ‘सुरक्षा व्यवस्था निकै नै व्यवस्थित गरेका छौं,’ अर्यालले भने, ‘मतदाता त्रसित हुनुपर्ने कुनै कारण छैन।’ 

पैदलै हिँडेर जानुपर्ने अवस्थामा पनि बढीमा आधा घण्टामा आवश्यक सुरक्षाकर्मी पुगिसक्ने उनले बताए । अर्यालका अनुसार मतदानस्थलको डेढदेखि ३ किलोमिटरको दूरीमा सशस्त्र प्रहरी खटिनेगरी व्यवस्था मिलाइएको छ । त्यस्तै ५ किलोमिटरभित्र सेना खटिनेछ । ‘आवश्यक परेको खण्डमा थप जनशक्ति पनि परिचालन गर्न सकिन्छ,’ उनले भने, ‘जनशक्ति अभाव हुने कुनै शंका रहँदैन।’ 

क्षेत्रीय प्रशासक अर्यालका अनुुसार मतदानका दिन सामान्य अवस्थामा मतदान स्थलमा तीनपटकसम्म सेनाले फेरो लगाउनेगरी सुरक्षा व्यवस्था मजबुत पारिएको छ । त्यस्तै निर्वाचनअघि सेनाले कम्तीमा ६ पटक मतदानस्थल घुम्नेछ । त्यसबाहेक सशस्त्र पनि आसपासका क्षेत्रमा घुमिरहनेछ। 

पहिलो चरणमा निर्वाचन हुने जिल्लामध्ये केहीमा अलि बढी सुरक्षा संंवेदनशीलता रहेको विश्लेषणसहित अधिकतम सुरक्षाकर्मी प्रयोग गरेको सुरक्षा निकायको भनाइ छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लामा सुरक्षा व्यवस्था मिलाउन करिब ८ हजार नेपाल प्रहरी खटिएको एकजना वरिष्ठ सुरक्षा अधिकारीले जानकारी दिए । त्यसबाहेक म्यादी, सशस्त्र र सेना पनि खटिएका छन्।

अर्यालका अनुसार पहिलो चरणमा निर्वाचन हुने जिल्लाभित्र कुनै पनि बेला आउजाउ गर्नुपर्ने हुनसक्ने भएकाले एउटा हेलिकोप्टर पोखरामै स्ट्यान्डबाई रहनेछ । कुनै पनि जिल्लामा आवश्यक पर्दा हेलिकोप्टरबाट आवश्यक सुरक्षाकर्मी पु¥याउन र व्यवस्थापन गर्न सकिने क्षेत्रीय प्रशासक अर्यालले बताए। 

 

प्रकाशित: ९ मंसिर २०७४ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App