विराटनगर – पहिलो चरणअन्तर्गत आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रदेश नम्बर १ का ७ पहाडी जिल्लामा सुरक्षा निगरानी बढाइएको छ । निर्वाचन सुरक्षाका लागि प्रदेश नम्बर १ का सात जिल्लामा १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रदेश १ का ताप्लेजुङ, पाँचथर, भोजपुर, सोलुसुम्बु, खोटाङ, ओखलढुंगा र संखुवासभामा आइतबार मतदान हुँदैछ । यीमध्ये भोजपुर र संखुवासभामा उम्मेदवारलक्षित बम आक्रमण भइसकेको छ । सुरक्षा थ्रेट रोक्न सादा पोसाकमा पनि सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ।
‘पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर १ का सातै जिल्लामा सुरक्षा मजबुत पारिएको छ,’ प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरका प्रमुख एआइजी पशुपति उपाध्यायले नागरिकसँग भने, ‘सुगम र विकट क्षेत्रलाई फरकफरक सुरक्षा निगरानीमा राखिएको छ । शान्तिपूर्ण मतदान सम्पन्न गराउन सबै बन्दोबस्त मिलाइसकिएको छ।’
प्रदेश १ का ताप्लेजुङ, पाँचथर, भोजपुर, सोलुसुम्बु, खोटाङ, ओखलढुंगा र संखुवासभामा आइतबार मतदान हुँदैछ । यीमध्ये भोजपुर र संखुवासभामा उम्मेदवारलक्षित बम आक्रमण भइसकेको छ । सुरक्षा थ्रेट रोक्न सादा पोसाकमा सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रदेश प्रहरी प्रमुख उपाध्यायले पहिलो चरणअन्तर्गत मतदान हुने सातवटै जिल्लाका प्रत्येक मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित सुरक्षाकर्मी खटिसकेको जानकारी दिए । ‘कतैं पैदल, कतैं गाडीमा र कतै हेलिकोप्टरबाट सुरक्षाकर्मी खटाइसकिएको छ,’ उपाध्यायले भने, ‘निर्वाचनमा सुरक्षा थ्रेट हुने खालका सबै गतिविधि निस्तेज पारिँदैछ ।’
सातवटै जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरीसहित करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नम्बर १ का अन्य जिल्ला र काठमाडौंबाट पनि थप सुरक्षाकर्मी झिकाइएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन सुरक्षाका लागि छुट्टै टिम परिचालित छ । निर्वाचन सुरक्षाकै लागि प्रदेश नम्बर १ का विभिन्न जिल्लाबाट नेकपाका १ सय ३ नेताकार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
‘सुरक्षा थ्रेट हेरेर भोजपुर, सोलुखुम्बु र संखुवासभाको विकट क्षेत्रमा सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ,’ सातै जिल्लाको निर्वाचन सुरक्षा कमान्ड सम्हालेका प्रदेश नम्बर १ प्रहरी कार्यालयका एक अधिकारीले भने, ‘निर्वाचनविरोधी हरेक गतिविधिमा हाम्रो कडा नजर छ।’
चुनावका लागि सुरक्षाको सबै तयारी पूरा भइसकेको ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ताप्लेजुङका सिडिओ मोहनबहादुर जिसीका अनुसार यहाँका १ सय १४ मतदान केन्द्रमा सुरक्षाको भरपर्दो व्यवस्थापन गरिएको छ । ताप्लेजुङका सबै मतदान केन्द्रमा २ हजार ४० जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
सिडिओ जिसीले निर्वाचनमा ५ सय ६० जना नेपाल प्रहरी, ६ सय १० जना म्यादी प्रहरी, ५ सय ३५ जना नेपाली सेना र ३ सय ३५ जना सशस्त्र प्रहरीको टोली परिचालित छ । रिजर्भ फोर्सलाई पनि हाइ अलर्टमा राखिएको उनले बताए । दोभान र तेल्लोकमा रहेका इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीका ढुंगेसाँघु तथा सिनाममा रहेका बेस क्याम्पले थप सुरक्षा निगरानी गरिरहेको सिडिओ जिसीले जानकारी दिए । उनका अनुसार जिल्लाका ७३ मतदान स्थलमध्ये ३१ अति संवेदनशील, २२ संवेदनशील र २० मतदान स्थल सामान्य अवस्थामा छन् । ७३ मतदान स्थलमा १ सय १४ मतदान केन्द्र छन् । निर्वाचनको पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाको टोली परिचालित छ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि पाँचथरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचनको पूर्वसन्ध्यामा पाँचथरका तीन ठाउँमा बम भेटिएपछि सुरक्षा थे्रड कम गर्न सुरक्षा निकाय खटिएका छन्।
मतदातालाई सुरक्षित महसुस गराउन पर्याप्त सुरक्षा प्रबन्ध गरिएको पाँचथरकी सिडिओ लक्ष्मीदेवी हुमागाईंले जानकारी दिइन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी परिचालन गरिएको उनले जानकारी दिइन् । सम्भावित सुरक्षा चुनौतीलाई ख्याल गर्दै तीनै सुरक्षा निकायको मोबाइल टोली पनि परिचालन गरिएको छ।
निर्वाचन सुरक्षाकै लागि पाँचथरका विभिन्न ठाउँमा नेपाली सेना, सशस्त्र प्रहरी अस्थायी क्याम्प खडा गरिएको छ। आकस्मिक सुरक्षाका लागि रिजर्भ फोर्स तमतयार अवस्थामा राखिएको पाँचथरकी सिडिओ हुमागाईंले बताइन्। सुरक्षा चुनौती बढेपछि मतदान सामग्री र कर्मचारीलाई कडा सुरक्षा दिएर मतदान स्थलतर्फ पठाइएको छ।
मतपत्र, मतपेटिकासहित कर्मचारीलाई सुरक्षा स्कर्टिङमा मतदान केन्द्र पठाइएको छ । विभिन्न क्लस्टर बनाएर लामबद्ध बनाई निर्वाचन सामग्री लगिएको थियो । कर्मचारी र निर्वाचन सामग्रीलाई मतदान केन्द्रसम्म कडा सुरक्षामा लगिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी वामदेव गौतमले जानकारी दिए।
पाँचथरका फिदिम, मिक्लाजोङ र हिलिहाङमा बम भेटिएको थियो । निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता भएको प्रहरीको भनाइ छ।
मतदातालाई त्रासको वातावरण हुन नदिन तीन घेरामा कडा सुरक्षा व्यस्थापन गरिएको डिएसपी गौतमले बताए। नेपाल प्रहरीका ७ सय १९, ८ सय ६२ म्यादी प्रहरी, ४ सय २१ सशस्त्र प्रहरी र ४ सयको हारहारीमा नेपाली सेना परिचालन गरिएको छ । पाँचथरमा निर्वाचनकै लागि दुई डिएसपी र ११ इन्सपेक्टरको कमान्डमा सुरक्षाकर्मी खटाइएको छ । पाँचथर र ताप्लेजुङको निर्वाचन सुरक्षाको कमान्ड एसएसपीले सम्हालेका छन् । पाँचथरमा २० अति संवेदनशील र ६० संवेदनशील निर्वाचन स्थल छन्।
अजित तिवारी/विराटनगर, खगेन्द्र अधिकारी/ताप्लेजुङ, गिरिराज बाँस्कोटा/पाँचथर
प्रकाशित: ९ मंसिर २०७४ ०२:२३ शनिबार