७ वैशाख २०८१ शुक्रबार
राजनीति

नमूना मतदानमै ल्याप्चे !

अछाम (रासस)-  अछामको बान्नीगढ जयगढ गाउँपालिका–३ की सरु ताम्राकार नमूना मतदानकै बेलामा निकै अलमलिएको बताए।

“तीन मतपत्रमा भोटहाल्नु पर्दोरहेछ म त अल्मलिएँ” उनले भने, “कता खसाल्ने, के गर्ने भनेर थाहै भएन।” नमूना मतदान बजार क्षेत्रमा मात्रै गर्ने तर जान्ने बुझ्नेले नै मत बदर गरेको पाइएको स्थानीय प्रेम ताम्राकारले बताए।

जयगढमा गराइएको मतदानमा प्रतिनिधिसभातर्फ कूल खसेको ५१ मतमध्ये पाँच मत, प्रदेशसभातर्फ छ मत र सबैभन्दा धेरै समानुपातिकतर्फ नौ मत बदर भएको थियो। कुनैमा ल्याप्चे लगाइएको, कुनैमा छ ठाउँमा सम्म स्वस्तिक छाप लगाइएको थियो।

स्थानीय तहका बेला सात छाप लगाउनु पर्ने भनेर सिकाइएकाले अहिले पनि त्यसैगरी भोट खसाल्नु पर्ने धेरैको बुझाइ रहेकाले पाँच–छ ठाउँमा छाप लगाइएको हुन सक्ने जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए।

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि अछाममा नमूना मतदान गराउन शुरु गरिएको छ । मतदानस्थल तथा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतदेखि स्थानीयवासीलाई नमूना मतदान गराइएको छ।

प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवारका लागि भोट खसाल्न राखिएका छुट्टाछुट्टै रङका मतपेटिकामध्ये कुन मतपत्र कहाँ खसाल्ने भनेर मतदाता अल्मलिएको देखियो । कसरी मत संकेत गर्ने र मतपत्र पट्याउने भनेर अल्मलिएका सहभागी पनि भेटिए।

निर्वाचन आयोगले समयमै मतदाता शिक्षा गाउँगाउँमा पुर्‍याउन नसक्दा अछामका मतदातामा मतदान प्रक्रियाबारे अन्योल देखिएको हो । मत माग्दै नेता गाउँगाउँ पुगिसके पनि मतदान प्रक्रियाबारे प्रशिक्षणका लागि मतदाता शिक्षा स्वयंसेवक पुगिनसकेको स्थानीयवासीले बताएका छन्।

मतदानको दिन मतदान केन्द्र तथा मतदान स्थलमा गर्नुपर्ने व्यवस्थापनका बारेमा जानकारी गराउन नमूना मतदान गराइएको र व्यवस्थापनका बारेमा जानकारी गराइएको मतदाता शिक्षा समन्वयकर्ता खडक अधिकारीले बताए।  

साथै मत बदर हुन नदिन प्रशिक्षणका लागि जिल्ला निर्वाचन कार्यालयले १९७ स्वयंसेवक परिचालन गरेको छ। तर, सबैतिर पुगेर मतदान प्रक्रियाबारे जानकारी गराउन पर्याप्त समय नभएको उनले बताए। “एक दिनमा एकपटक सबै स्वयंसेवकले गरेको क्रियाकलापबारे जानकारी लिएकै हुन्छौँ ।” उनले भने, “एक घरका सबैलाई जम्मा गरेर सिकाउन भनेका छौँ र सोही घरबाट एकजनाको दस्तखत र नम्बर ल्याउन पनि भनेका छौँ।”

निर्वाचन कार्यालयबाट खटाइएका स्वयंसेवकले काम गरे/नगरेको बुझ्नलाई निरन्तर निगरानी गरिरहेको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ । मत बदर हुन नदिन जिल्लाको कमलबार, विनायक, मंगलसेन, जयगढ, साँफेबगरमा नमूना मतदान गराएर सकिएको छ।

जिल्ला निर्वाचन कार्यालयका मतदानमा खटिने कर्मचारीलाई मतदान केन्द्रको लेआउट मिलाउने, बाकस राख्ने तरिका, मतपत्र दिने तरिकालगायतका बारेमा जानकारी गराइएको छ । पहिलो चरणमा कर्मचारीलाई नमूना मतदान गराइएको र अझै पनि जिल्लाका विभिन्न स्थानका मतदातालाई नमूना मतदान गराइने कार्यालयले जनाएको छ।
 

 

प्रकाशित: ८ मंसिर २०७४ ०९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App