८ वैशाख २०८१ शनिबार
अन्य

बूढापाका भन्छन् संस्कृति जोगाऊ, युवा भन्छन् रोजगारी देऊ

चाकुको सहरका रूपमा चिनिएको काठमाडौंको टोखा अहिले अपार्टमेन्टको सहर बनेको छ । पुराना संरचना नासिँदै छन् भने गगनचुम्बी भवन ठडिरहेका छन् । स्थानीय ७० वर्षीय कृष्णलाल महर्जनलाई पुराना संरचना मासेर अग्ला भवन बनाएको पटक्कै मनपरेको छैन । यसपटकको चुनावमा भोट माग्न आउनेलाई उनी अग्ला भवन निर्माण रोक्न माग गरिरहेका छन्। 

‘पुराना घरको ठाउँमा नयाँ घर बनेकोसम्म ठीकै छ,’ गत आइतबार टोखाको स्वागतद्वारमा घाम ताप्दै गरेका महर्जनले भने, ‘पुराना पोखरी र मठ–मन्दिर नासिँदै गएकामा दुःख लागेको छ ।’ पुराना संरचना मासिएको चिन्ताले उनी यसपटक संरक्षणमा जुट्ने उम्मेदवारको खोजीमा छन्। 

‘जसले पुराना सम्पदा जोगाउँछ, त्यसैलाई भोट हाल्ने हो,’ उनले भने, ‘हामीलाई हाम्रो संस्कृति निकै प्यारो लाग्छ ।’ उनीसँगै घाम तापिरहेका ८४ वर्षीय बेखनारायण महर्जनको भनाइ पनि उस्तै छ । नगर गेटमा बसेर चुनावी चहलपहल नियालिरहेका उनी पनि पुराना संस्कृति जोगाउने नेताको खोजीमा छन्। 

‘हाम्रो सहर पहिले निकै नाम चलेको हो,’ उनले भने, ‘यसको महत्त्व अझै बढाउने नेता चाहिएको छ ।’ जतिपटक भोट हाले पनि आफ्नो आवाज कसैले नसुनेको गुनासो गर्छन् उनी । यसपटक भने त्यस्तो नभइदिए हुन्थ्यो भन्ने महर्जनको कामना छ । ‘बाँचेकै समयमा केही राम्रो भएको हेर्ने रहर छ,’ उनले भने। 

कृष्णलाल र बेखनारायण काठमाडौं क्षेत्र– ५ का मतदाता हुन् । उनीहरू आफ्नो संस्कृति रक्षा गर्ने उम्मेदवारको खोजीमा छन् । यसै क्षेत्रका युवा भने स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेलाई मत दिने बताउँछन्। 

‘बाहिर जाने युवाको लर्को रोक्ने नेताको आवश्यकता छ,’ बालुवाटारका युवा राम नेपाली भन्छन्, ‘त्यसो भए मात्र देश विकासको बाटोमा लम्कनेछ ।’ साइनबोर्ड बनाउने व्यवसायी उनी आफूले कर तिरेअनुसार सेवा पाउन नसकिरहेको गुनासो गर्छन् । ‘पर्याप्त कर लिनेले त्योअनुसारको सेवा दिन सक्नुपर्छ,’ उनले भने, ‘त्यसो भए मात्र व्यवसायी अगाडि बढ्न सक्छन्।’  

निर्वाचन क्षेत्र– ५ अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा– २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका वडा– ३, ४, ५, ६ र ७ र टोखा नगरपालिकाका वडा– २, ३, ४, ५, ६ र ७ पर्छन्। 

क्षेत्र– ६
चक्रपथबाट करिब १२ किलोमिटर उत्तरको झोर क्षेत्र र उपत्यकाको मुख्य पर्यटकीय केन्द्र ठमेलको जीवनशैलीमा समानताभन्दा भिन्नता धेरै छन् । तर, यी दुवै स्थानका मतदाताले यसपालिको चुनावमार्फत एउटै उम्मेदवारलाई चुन्नुपर्नेछ । काठमाडौं क्षेत्र– ६ मा पर्ने यी दुवै क्षेत्रका मतदाताको अपेक्षा भने मिल्दाजुल्दा छन्।  

उनीहरू स्थानीय समस्या समाधान गर्न सक्ने प्रतिनिधिको खोजीमा छन् । सडक, खानेपानीलगायत स्थानीय समस्या मात्र होइन, मतदाता रोजगारी र शान्ति सुरक्षा दिन सक्ने नेता चुन्ने उनीहरु बताउँछन्। 

‘मोटर आउने गतिलो बाटो कहिल्यै पाएनौँ,’ फुटुङकी उषा कार्कीले भन्छिन्, ‘हामीलाई पहिले  बाटो चाहिएको छ ।’ स्थानीय समस्या अनगिन्ती भए पनि बाटो राम्रो भए अन्य कुरा बिस्तारै आउने उनले सुनाइन् । नेताले पटकपटक विकासको आश्वासन दिए पनि पूरा नगरेको उनले बताइन्।  

‘उनीहरूप्रति अझै विश्वास पलाएको छैन,’ उनी भन्छिन्, ‘आफ्नो अधिकार प्रयोग गर्न मत हाल्न भने जान्छौँ।’

उनीसँग मिल्छ, ७४ वर्षीय द्वारिका श्रेष्ठको सोच पनि । चिम्मर पोखरीका श्रेष्ठ नेताले पटकपटक धोका दिएको  भए पनि अर्को विकल्प नभएको बताउँछन् । ‘जसलाई हराए, जिताए पनि तिनै फेरि चुनावमा आउँछन्,’ उनले भने, ‘यिनैले राम्रो गर्लान् भन्ने आशामा मत हाल्न जाँदै छौँ।’ 

ठमेल र असनबीचको तँलाछीःकी यमुना श्रेष्ठको समस्या पनि उस्तै छ । टोलमा खानेपानी समस्या छ । बाटो राम्रो छैन । यी समस्या हल गर्ने नेतालाई भोट हाल्ने उनको इच्छा  छ । ‘जसले हाम्रो समस्या बुझेको छ, उसैलाई भोट हाल्ने हो,’ उनले भनिन्, ‘ठूला कुराभन्दा पनि हाम्रा साना समस्या समाधान गर्ने नेता चाहिएको छ।’ 

स्थानीय समस्यासँगै राष्ट्रिय समस्याले पनि उनलाई चिन्तित बनाएको छ । स्वदेशमै रोजगारी  र विकासको वातावरण तयार भए नयाँ पुस्ता बिदेसिनुनपर्ने उनको बुझाइ छ । अब चुनाव जित्नेले यस कुरामा ध्यान पुर्‍याउन भन्ने चाहन्छिन् उनी । ‘मुलुकमै रोजगारीको पाउनुपर्‍यो,’ उनले भनिन्, ‘तब मात्र आफ्नै युवाले देश विकास गर्नेछन्।’
 
क्षेत्र– ६ मा काठमाडौं महानगरपालिकाका वडा– २६, २७, २८, तारकेश्वर नगरपालिकाका वडा– १, २, ६, ७, ८, ९, १०, ११ र टोखा नगरपालिका वडा– १, ८, ९, १०, ११ पर्छन् । 

प्रकाशित: ८ मंसिर २०७४ ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App