काठमाडौं-सांगीतिक रक ब्यान्ड १९७४ एडीले नयाँ एल्बम ‘हजार सपना’ लिएर आउँदैछ । शुक्रबार झम्सिखेलस्थित मोक्षमा १९७४ एडीले सांगीतिक क्षेत्रमा आवद्ध स्रष्टा र शुभचिन्तकहरुमाझ ‘हजार सपना’ सार्वजनिक गर्दैछ।
गायक रोहितजोन क्षेत्री र प्रज्जवल मुखिया १९७४ एडीमा आवद्ध भएपछि नौं एल्बम सार्वजनिक हुन लागेको हो। सन् १९९३ मा निराकार याक्थुम्बा, फिरोज स्याङ्देन र भानु एले १९७४ एडीको स्थापना गरेका थिए । गायक एड्रियन प्रधान र गिटारिस्ट मनोजकुमार केसीले भने १९९८ मा ब्यान्डसंग आवद्ध भएका थिए । १९७४ एडीको २३ वर्ष सांगीतिक यात्रामा एड्रियन प्रधान, फिरोज स्याङदेन, निराकार याक्थुम्बा, मनोजकुमार केसी, संञ्जय श्रेष्ठ, मनोस सिंह र भानु ए लगायत आवद्ध भइसकेका छन् ।
हाल ‘१९७४ एडी’ मा निराकार याक्थुम्बा, मनोजकुमार केसी, संञ्जय श्रेष्ठ, रोहितजोन क्षेत्री, प्रज्जवल मुखिया, सुवासजंग पाण्डे र प्रतिक बानिँया आवद्ध छन्। ‘१९७४ एडीमा नयाँ सदस्यहरु आवद्ध भएपनि ‘हजार सपना’ सार्वजनिक हुन लागेको हो,’१९७४ एडीमा गिटारिष्ट मनोजकुमार केसीले फेसबुकमा लेखेका छन्,‘आठ वटा गीत रहेको एल्बम शुक्रबार सार्वजनिक हुँदैछ।’
झण्डै ६ वर्षपछि १९७४ एडीले नयाँ एल्मब सार्वजनिक गर्न लागेको हो। एल्मबमा ‘सानैको’ र ‘हजार सपना’ लगायत आठ वटा गीतहरु समावेश गरिएको छ। ब्यान्डले यसअघि ‘टाइम आउट’, ‘सम्झी बस्छु’, ‘शताब्दी’,‘जंगी निशान’ र ‘पिजडाको सुगा’ लगायत एल्बम सार्वजनिक गरिसकेको छ । १९७४ एडीको ‘गुराँस फुल्यो’, ‘हिड्दाहिड्दै’, ‘पिजडाको सुगा’, ‘पहिलो जुनीमा’, ‘नेपाली’, ‘छुदैन तिम्रो मायाले’, ‘सम्झी बस्छु’, ‘सम्बोधन’ र ‘धेरैधेरै’ लगायत गीतहरु चर्चामा छन् ।
प्रकाशित: २० श्रावण २०७३ ०७:३७ बिहीबार