बैंकक- संयुक्त अरब इमिरेट्स (युएई) सँग बिहीबार ५ रनले पराजित भएसँगै नेपालको आइसिसी महिला ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा स्थान बनाउने सम्भावना थप कमजोर बनेको छ ।
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको खेलमा नेपालले जितका लागि ८० रनको लक्ष्य पाएको थियो । तर निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७४ रन मात्र बनाएपछि नेपालले ५ रनको हार व्यहोरेको हो ।
नेपाललाई जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक थियो । काभिसा इगोडेजको पहिलो बलमा ऋतुकुमारी कनौजियाले २ रन जोडे पनि दोस्रो बलमा रोमा थापा रनआउट भएपछि नेपालको इनिङ धरमराएको थियो । त्यसपछिका ४ बलमा नेपालले १ रन मात्र जोडेकोे थियो ।
नेपालकी कनौजियाले २२ रन र ओपनर ज्योति पाण्डेले १२ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
युएईकी निशा अली र हुमारिया तास्निमले समान २÷२ तथा इगोडेज, हुमारिया तास्निम, इसिनी मानानी र इशा रोहितले समान एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७९ रन जोडेको थियो । युएईकी नतासा चेराथले २३ र इशाले २२ रनको योगदान गरेका थिए ।
नेपालकी रुबिना क्षत्रीले ३, कानौजियाले २ र नेरी थापाले १ विकेट लिए ।
वर्षा बाधक बनेपछि नेपालले यसअघि समूहको पहिलो खेलमा आयोजक थाइल्यान्ड र दोस्रो खेलमा हङकङसँग अंक बाँडेको थियो ।
यस नतिजापछि ३ खेलको समाप्तिमा २ अंक जोडेको नेपाल पाँचौं स्थानमा झरेको छ । समान खेलमा समान ५÷५ अंक जोडेका थाइल्यान्ड र हङकङ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । त्यस्तै ४ अंक जोडेको युएई तेस्रो, २ अंक जोडेको मलेसिया चौथो र अंकविहीन चीन अन्तिम स्थानमा छन् ।
राउन्ड रोबिन लिगको आधारमा भइरहेको प्रतियोगिताका शीर्ष दुई टोलीले आगामी वर्ष वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।
नेपालले शुक्रबार मलेसिया र अन्तिम खेलमा आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाललाई जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक थियो । काभिसा इगोडेजको पहिलो बलमा ऋतुकुमारी कनौजियाले २ रन जोडे पनि दोस्रो बलमा रोमा थापा रनआउट भएपछि नेपालको इनिङ धरमराएको थियो । त्यसपछिका ४ बलमा नेपालले १ रन मात्र जोडेकोे थियो ।
प्रकाशित: ८ मंसिर २०७४ ०४:४० शुक्रबार