८ वैशाख २०८१ शनिबार
विचार

त्रिविले बुझ्नैपर्ने पक्ष

बच्चालाई पनि थाहा छ कि समय सबैभन्दा महत्वपूर्ण कुरा हो । यो न किन्दा पाइन्छ न मागेर नै पाइने हो । न रोक्न सकिन्छ न त आफ्नो समयाकूल पार्नै सकिन्छ । त्यसैले यो अमूल्य छ भन्नेमा दुई मत हुनै सक्दैन । तर विडम्बना, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, अझ त्यसमा पनि परीक्षा नियन्त्रण कार्यालयको व्यवहार हेर्दा भने लाग्छ– समय सस्तोमात्र हैन, मूल्यहीनसमेत छ ।
त्रिभुवन विश्वविद्यालय नेपालका अन्य थुप्रै सरकारी निकाय जस्तै त्यस्तो एउटा थप निकाय हो जसको न कुनै कार्यक्रम तोकिएको समयमा सुरु हुन्छ, न त अन्त्य नै । खासगरी शैक्षिक क्यालेन्डरका सवालमा यसले गर्दै आएको खेलाँचीकै कारण लाखौँ विद्यार्थीको भविष्य धकेलिँदै आएको सबैले महसुस गरेकै छन् । दुई वर्षको शैक्षिक कार्यक्रम चार वर्षमा पनि सक्न गाह«ो हुनु त्रिविको सबैभन्दा लज्जास्पद काममध्ये पर्छ ।

पढाइ तोकिएको क्यालेन्डरअनुसार नहुने, भइहाले पनि कोर्स नसकिने, परीक्षा समयमा नहुने, परिणाम उत्तिकै ढिला प्रकाशित हुने, अनुत्तीर्ण भएमा पुनः परीक्षा दिन लामो समय कुर्नुपर्ने जस्ता कारण लाखौँ विद्यार्थी हरेक वर्ष प्रताडित हुँदै आइरहेका छन् ।


एकातिर यो विश्वविद्यालयले सेमेस्टर प्रणाली अपनाउने घोषणा गरेको छ भने अर्कोतिर त्यसलाई जसरी पनि तुहाउन यहीँका विद्यार्थी मरिमेटेर लागेका छन् । तर त्रिवि पदाधिकारी यस्तो अवस्थामा पनि टुलुटुलु हेरेर बस्न बाध्य छन् । केही गर्ने आँट उनीहरूमा फिटिक्कै देखिन्न । न आफैँ घोषणा गरेको सेमेस्टर प्रणाली पूर्णरूपमा लागु गराउने हैसियत उसको छ न त यसका अवरोधक पन्छाउने तागत नै । यस्तो निरीह अवस्थाको संस्थाले के गर्न सक्ला ? उसकै व्यवहारले निम्त्याएको प्रश्न हो यो ।
कुनै पनि परीक्षामा कोही अनुत्तीर्ण भयो भने कम्तीमा पनि पुनः परीक्षा दिन एक वर्ष कुनुपर्छ । अझ कतिपय अवस्थामा त यो एक वर्ष बढेर स्वत डेढ वर्षमा परिणत हुने गरेको छ । दुनियामा कहीँ नभएको यस्तो व्यवस्था अपनाउन किन त्रिवि बाध्य भयो ? उत्तर पाउन सकिएको छैन । यो बीचमा विद्यार्थीले के गरेर बस्ने भन्ने उत्तर पनि ऊसँग छैन ।
कोही त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्छु भनेर तम्सियो भने उसले करिब ६ वर्ष त्यत्तिकै खेर फाल्न तयार हुनुपर्छ । जीवनको सबैभन्दा महत्वपूर्ण ऊर्जाशील समय यसरी खेल फाल्नुपर्दा त्यसको क्षतिपूर्ति कसरी गर्छ त्रिविले ? यसरी विद्यार्थीको जीवनमाथि खेलवाड गर्ने भ्रष्टाचारी (भ्रष्ट+आचारी) लाई सिधै कारबाहीको दायरामा ल्याउनुपर्ने हो कि हैन ? तर विडम्बना, यस्ता विषयमा अहिलेसम्म सोचविचारसम्म कसैको आएको देखिन्न ।
एकातर्फ पढाइ तोकिएको क्यालेन्डरअनुसार नहुने, भइहाले पनि कोर्स नसकिने, परीक्षा समयमा नहुने, परिणाम उत्तिकै ढिला प्रकाशित हुने, अनुत्तीर्ण भएमा पुनः परीक्षा दिन लामो समय कुर्नुपर्ने जस्ता कारण लाखौँ विद्यार्थी हरेक वर्ष प्रताडित हुँदै आइरहेका छन् । अर्कोतिर परीक्षा प्रणाली एकदमै लापरबाहीयुक्त र अव्यवस्थित छ । एउटै विश्वविद्यालयको विभिन्न सङ्कायमा पढ्ने विद्यार्थीका लागि अपनाउने फरकफरक प्रावधानले पनि यो पुस्टि गर्छ । तर त्रिवि पदाधिकारीलाई भने यसतर्फ एकरत्ति पनि चिन्ता देखिएको छैन ।
एकातिर वाणिज्यशास्त्र, कानुन, शिक्षा, विज्ञान जस्ता सङ्कायअन्तर्गत पढ्नेले आफू अनुत्तीर्ण भएको विषयमा पुनः परीक्षा दिन चाहेमा कम्तीमा एक वर्ष कुर्नुपर्ने अवस्था छ भने अर्कोतर्फ यही विश्वविद्यालयको अरु सङ्कायअन्तर्गतका प्राविधिक शिक्षा पढ्नेका लागि भने त्यो समयावधि तुलनात्मकरूपमा कम छ । अर्थात उनीहरूले लगत्तै मौका परीक्षा दिन पाउँछन् । त्यसैले यो व्यवस्था निकै विभेदकारीसमेत छ ।
यसबाट देखिन्छ कि एक त त्रिविले अपनाउँदै आएको परीक्षा प्रणाली नै उपयुक्त छैन । त्योभन्दा पनि चिन्ताजनक कुराचाहिँ उसलाई आफूले अपनाउँदै आएको यो प्रणाली ठीक नभएकाले सच्याउनुपर्छ भन्ने महसुस नहुनु हो । त्यसैले समयमा परीक्षा हुने, यो सबैलाई सहज हुने, कुनै विषयमा अनुत्तीर्ण भएमा अन्यत्र मुलुकजस्तै तुरुन्त परीक्षा दिन पाउने जस्ता प्रावधानसहितको परीक्षा प्रणाली अपनाउन ढिला भइसकेको छ । यो कुराको महसुस जति चाँडो त्रिविलाई हुन सक्यो यो विश्वविद्यालयले उति चाँडो काँचुली फेर्न सक्छ ।
त्यसैगरी समयमै शैक्षिक क्यालेन्डरअनुसार अघि बढ्न सक्ने नेतृत्व अहिलेको त्रिविको अर्को ज्वलन्त आवश्यकता हो । जो जे कामका लागि नियुक्त भएको छ, त्यही काम गर्न सकेन भने ऊ सक्षम ठहरिन सक्दैन । यस्तो अवस्थामा उसले कि आफैँ महसुस गरेर मैदान खाली गरिदिनुपर्छ हैन भने नियुक्तिकर्ताले उसको विकल्प सोच्नुपर्छ । बेलैमा उचिततवरले सोचिएन भने अहिलेकै व्यवस्थापन र पदाधिकारीबाट यो विश्वविद्यालयको सफल सञ्चालन सम्भव देखिन्न ।

प्रकाशित: ८ मंसिर २०७४ ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App