८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचन सुरक्षाका लागि नौ सय महिला प्रहरी

उम्मेदवारी दर्ताका दिन चितवनको भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि खटेका महिला प्रहरी ।

चितवन- चितवनमा निर्वाचन सुरक्षाका लागि मतदान केन्द्रमा परिचालन हुने सुरक्षाकर्मीमा नौ सयजना महिला प्रहरी छन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा एक हजार ८ सय ९५ प्रहरी र एक हजार ७ सय १० जना म्यादी प्रहरी परिचालन हुनेछन् ।

चितवनमा निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा एक हजार ८ सय ९५ प्रहरी र एक हजार ७ सय १० म्यादी प्रहरी परिचालन हुनेछन् ।

    जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त जानकारीअनुसार चितवनमा १ सय ६१ ठाउँमा ४ सय ८ मतदान केन्द्र रहनेछन् । ‘हामीले एउटा केन्द्रमा कम्तीमा दुईा महिला प्रहरी खटाउनेछौं । जिल्लाका सबै मतदान केन्द्रमा गरेर नौ सयभन्दा धेरै महिला प्रहरी खट्नेछन्’, एसपी थापाले भने । मतदान स्थलबाहिरको सुरक्षा रणनीति अर्कै रहेको थापाले बताए ।
    चितवनमा पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, वर्तमान मन्त्री र राज्यमन्त्री तथा जिल्लाका पार्टी प्रमुख नै निर्वाचनमा उम्मेदवार छन् । प्रतिस्पर्धामा रहेकामध्ये पाँचजना त निवर्तमान सांसद नै छन् । त्यसैले सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी सक्रिय भएको उनले बताए । ‘सुरक्षा अवस्था बुझ्न बर्दीधारी सुरक्षा फौजमात्रै नभएर राष्ट्रिय अनुसन्धानको सुराकी टोलीलाई छ ठाउँमा तैनाथ गरेका छौं’, एसपी थापाले भने ।
चितवनमा प्रतिनिधिसभाका लागि तीन र प्रदेशसभाका लागि छ गरेर कुल नौ निर्वाचन क्षेत्र छन् । दुवै सभाका लागि ९८ उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये महिलाको संख्या आठ छ । जिल्लाका कुल ४ सय ८ मतदान केन्द्रमध्ये ५२ वटा अति संवेदनशिल र १ सय ९ वटा संवेदनशील रहेको थापाले जानकारी दिए ।
    चितवनमा पैदलै हिँडेर जानुपर्ने पहाडी क्षेत्रमा पनि मतदान केन्द्र छन् । ‘हामीले सबै मतदान केन्द्रलाई सुरक्षा दिन सक्छौं । त्यही अनुसारबाट सुरक्षाकर्मी परिचालन र रणनीति तय गरेका छौं’, एसपी थापाले भने । मतदान स्थलबाहिर प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समेत सुरक्षा घेरा रहनेछ । मतपेटिका ओसार्नेदेखि सुरक्षा दिने काममा पनि सुरक्षाकर्मी साथै रहनेछन् ।
‘मतपेटिकाको सुरक्षा पनि सुरक्षाकर्मीबाटै हुनेछ तर मतपेटिका छुने काम भने सुरक्षाकर्मीबाट हुनेछैन’, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने । निर्वाचनलाई प्रभावित पार्न सक्ने सबै तŒवका बारेमा सुरक्षाकर्मी चनाखो भएको प्रहरी प्रमुख थापाले बताए । निर्वाचनविरोधी गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्तामाथि पनि प्रहरीले निगरानी बढाएको छ । सो पार्टीका कार्यकर्ता पक्राउ पर्न थालेको चितवन प्रहरीले जानकारी दिएको छ । यसका साथै गुन्डागर्दीमा संलग्न हुनेहरुले पनि निर्वाचनमा अनेक खालका हिंसात्मक काम गर्न सक्ने भएका कारण उनीहरुलाई समेत नियन्त्रणमा लिन थालेको थापाले बताए । जिल्लामा फ्याउरे गुन्डा, टोले गुन्डा, आपराधिक मनोवृत्तिका मान्छेबाट संरक्षित गुन्डा, राजनीतिक गुन्डा र व्यावसायिक गुन्डा गरेर पाँच प्रकारका गुन्डा रहेको थापाले बताए ।
    ‘जिल्लामा रहेका १ सय २० गुन्डाको पहिचान गरेर उनीहरुमाथि निगरानी राख्न सुरु गरेका छौं । केही गुन्डा जिल्लाबाहिर पनि पुगेका छन् । उनीहरु जहाँ गए त्यहाँका अधिकारीलाई जानकारी दिएका छौं’, थापाले भने । चितवनमा कुल मतदाता संख्या तीन लाख ५४ हजार ३६ छ, जसमा महिला धेरै छन् । उनीहरुको संख्या एक लाख ८४ हजार ६८ छ ।
    निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक थप चार हजार ८ सय ८६ जनशक्ति खट्ने निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए । तीमध्ये तीन हजार २ सय ५९ कर्मचारी जिल्ला निर्वाचन कार्यालयले खटाउनेछ । एक हजार ६ सय २७ जना कर्मचारी मतदान केन्द्रमा नियुक्त हुने स्वयंसेवक रहनेछन् ।

प्रकाशित: ८ मंसिर २०७४ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App