४ वैशाख २०८१ मंगलबार
राजनीति

एमाले नेताले १२ सुकुम्बासीलाई जग्गा उपलब्ध गराए

रसुवा- निर्वाचन आउन ३ दिन बाँकी रहँदा वाम गठबन्धनतर्फका नेकपा एमाले रसुवाका नेताले सुकुम्बासीलाई जग्गा उपलब्ध गराएका छन् । प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गरी गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिमका १२ परिवार सुकुम्बासीलाई बुधबार चार रोपनी ६ आना जग्गा लालपूर्जासहित हस्तान्तरण गरिएको हो ।

नेकपा एमाले गाउँ कमिटि बृद्धिमका काले तामाङ, गोसाइँकुण्ड गाउँपालिकाका उपप्रमुख–कारग्याल्मो श्रेष्ठ र स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवारी दिएका मिङमर छिरिङ तामाङले लालपूर्जा सहित जग्गा दिएका हुन् ।

तीन पुस्तादेखि ब्यक्तिगत जग्गामा बस्दै आएका सुकुम्बासीलाई ८ लाखको जग्गा खरिद गरि लालपूर्जा सहित वितरण गरिएको बृद्धिमका काले तामाङले बताए ।

यसअघि भएको निर्वाचनमा जग्गाधनीको रोजाइका उम्मेदवारलाई मत हाल्ने गरेकोमा अबका दिनमा आफूले इच्छयाएको ब्यक्तिलाई भोट हाल्न पाउने सुकुम्बासी बताउँछन् । सुकुम्बासीमध्येका छोक्याल तामाङले भने, ‘यसअघि अर्काको दबाबमा भोट हाल्नु पथ्र्याे अबका दिनमा हामीले चाहेको उम्मेदवारलाई भोट दिन पाउनेमा ढुक्क छौँ ।’

भूकम्प अति प्रभावित जिल्लामा पर्ने रसुवाका सुकुम्बासीले जग्गा अभावमा किस्ता पाउन सकेका थिएनन् । जग्गा उपलब्ध भएसँगै नयाँ घर बनाउने उनीहरुले अपेक्षा गरेका छन् । निर्वाचनपछि घर बनाउने योजना रहेको नोर्चुङ तामाङले बताए ।

तामाङले भने, ‘आफ्नो नाममा जग्गा नहुँदा अर्काको जग्गामा बस्नुपर्ने बाध्यता रहेको थियो, जग्गा पाएसँगै यो समस्या हल भएको छ ।’ लारक्याल तामाङ, निमाग्याल्बो तामाङ, नोर्चुङ तामाङ, ताङगाङ तामाङ, कार्पु सोनाम तामाङ, लाक्पा तामाङ, टासी तामाङ, ताङगाङ तामाङ, झ्याम्बु छोकेल तामाङ र चुङ्गी तामाङले जग्गा पाएका छन् ।
 

प्रकाशित: ७ मंसिर २०७४ ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App