coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रचण्ड ‘बृहत शान्ति सम्झौता’प्रति बफादार छैनन् : मन्त्री बलायर

डोटी– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘बृहत शान्ति सम्झौता’प्रति बफादार नभएको आरोप लागेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रचण्डलाई यस्तो आरोप लगाएका हुन् ।

‘कमरेड प्रचण्ड बृहत शान्ति सम्झौताप्रति बफादार देखिएनन् । एक दशक नाघिसक्दा प्रचण्डकै कारण शान्ति प्रक्रिया अझै टुंगोमा पुग्न सकिरहेको छैन,’ नेपाली कांग्रेस डोटीको बोगटान गाउँपालिका–६ गगुडामा आयोजित चुनावी सभामा बोल्दै मन्त्री बलायरले भने, ‘जसले मुलुक अझै द्वन्द्वको खतराबाट उम्कन सकिरहेको छैन । अझै बम–बारुद पड्किरहेका छन् । जनता त्रासमुक्त हुनसकिरहेका छैनन् ।’

प्रचण्डकै गैरजम्मेवारपनका कारण उनका सहयात्रीहरु अहिले मुलुकलाई द्वन्द्वतर्फ धकेलिरहेको उनले दाबी गरे । ‘प्रचण्डले गैरजिम्मेवारीपनका कारण बिप्लप (नेत्रबिक्रम चन्द–बिप्लप) बम–बारुद पड्काउँदैछन् । बैद्य(मोहन बैद्य–किरण)को अझै भरोसा छैन् । डा. बाबुराम भट्टराई कांग्रेसको साथमा चुनाव लडिरहेका छन् ।’

बृहत शान्ति सम्झौताको तत्कालीन ‘राज्यपक्ष’ अर्थात् कांग्रेसले शान्ति प्रक्रियाको मर्म अनुरुप काम गरिरहेको पनि मन्त्री बलायरले बताए । उनले भने, ‘शान्ति सम्झौताको मर्मअनुरुप कांग्रेसले आफ्नो भूमिका निर्वाह गरिसकेको छ । माओवादीलाई मूलधारमा ल्याउन हामी (कांग्रेस)ले धेरै गुमाएका छौं । राज्यको ठूलै ढुकुटी रित्तिदा चुपचाप बसेका छौं । सहेर बसेका छौं ।’ यो सब कुरा लोकतन्त्रको सबलीकरणका लागि गरिरहेको उनले बताए ।

द्वन्द्वमा खल्बलिएको समाज मिलाउन र द्वन्द्वको निरुपण गर्दै दिगो शान्तिको अभियानमा कांग्रेस जुटिरहेको उनले बताए । ‘हामी बिगतका तिता घाउँहरुमा मल्हम लगाउदै दिगो शान्ति कायम गर्ने अभियानमा छौं । फाँटेका मनहरु जोड्ने अभियानमा छौं । संगै लोतकन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिको बाटोमा अघि बढिरहेका छौं,’ मन्त्री बलायरले भने ।

तर, तत्कालीन ‘बिद्रोही पक्ष’का नेता प्रचण्डले आफ्नो पक्षलाई ब्यबस्थापन नगरेर मुलूकलाई अझै दुर्घटनातर्फ धकेलीरहेको उनले आरोप लगाए । ‘प्रचण्ड आफैँ पनि लोकतन्त्रमाथि धावा बोल्ने संकेत गरिरहेका छन् । उनका सहकर्मीहरु बन्दुक र बारुदको भाषा बोल्छन्,’ उनले भने,‘यसले शान्ति प्रक्रिया तार्किक निष्कर्शमा पुग्नेमा शंसय पैदा भैरहेको छ ।’

यति हुँदाहुँदै पनि नेपाली कांग्रेसले दीगो शान्ति निर्माणको अभियानमा आफ्नो प्रयास नछाड्ने उनले बताए । ‘कांग्रेसले असन्तुष्ट बिप्लपजी र बैद्यजीहरुसंग आबश्यक छलफल गरेर मुलधारमा ल्याउने प्रयत्न गर्नेछ,’ उनले भने,‘आशा छ उहाँहरु नेपाली जनताको भावनालाई कदर गर्दै मुलधारमा आउनुहुनेछ ।’

प्रकाशित: ७ मंसिर २०७४ ०९:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App