काठमाडौं– छापा र अनलाइन सञ्चारमाध्यममार्फत फिल्मको समीक्षा गरिरहने फिल्म समीक्षकले बुधबार कलाकार तथा प्राविधकलाई एकैसाथ तीन वर्षको ‘क्रिटिक्स अवार्ड’ प्रदान गरेका छन् । फिल्म समीक्षक समाजले बुधबार राजधानीमा २०७१, २०७२ र २०७३ को अवार्ड प्रदान गरेको हो।
समाजले २०७० सालबाट अवार्ड वितरणको थालनी गरेको थियो । तर, २०७१ सालमा घोषणा भएर पनि अवार्ड हुन सकेको थिएन । भूकम्प तथा नाकाबन्दीका कारण सो सालको अवार्ड रोकिएको समाजका अध्यक्ष यज्ञशले जानकारी गराएका थिए । त्यसयता दुई सालको अवार्ड भने समाजले आन्तरिक कारणले गर्न सकेको थिएन । यसरी विविध कारणले रोकिएको अवार्ड एकै साल शिल्पी थिएटरमा बाँडिएको थियो।
नेपाली फिल्म समीक्षकहरूको संस्था फिल्म समीक्षक समाजले तीन वर्षयता थाँती रहेको अवार्ड वितरण गरेको हो । समाजले एक साल ८ र बाँकी दुई साल ७ विधामा अवार्ड प्रदान गरेको हो ।
२०७१ सालको अवार्डतर्फ ‘फिल्म’ विधामा ‘कबड्डी’, ‘निर्देशन’ विधामा ‘टलकजंग भर्सेज टुल्के’का लागि निर्देशक निश्चल बस्नेत, ‘पटकथा’ विधामा ‘कबड्डी’का लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बा, ‘अभिनेता’ विधामा ‘कबड्डी’कै लागि दयाहाङ राई, ‘अभिनेत्री’ विधामा ‘सुन्तली’का लागि प्रियंका कार्की, ‘छायांकन’ विधामा ‘सुन्तली’कै लागि अन्ड्रा बेलिका, ‘सम्पादन’ विधामा ‘ताण्डव’का लागि बनिष शाह र मिलन श्रेष्ठ र ‘पाश्र्व संगीत’ विधामा ‘टलकजंग भर्सेज टुल्के’का लागि जेसन कुँवरले अवार्ड थापेका थिए।
त्यस्तै २०७२ का लागि ‘फिल्म’ विधामा ‘पशुपतिप्रसाद’, ‘निर्देशक’ विधामा ‘पशुपति प्रसाद’का लागि निर्देशक दीपेन्द्र के खनाल, ‘पटकथा’ विधामा ‘पशुपतिप्रसाद’ बाटै खगेन्द्र लामिछाने, ‘छायांकन’मा ‘कबड्डी कबड्डी’का लागि शैलेन्द्र डी कार्की, ‘सम्पादक’ मा ‘क्लासिक’का लागि सुरेन्द्र पौडेल, ‘अभिनेता’ मा ‘फन्को’का लागि सौगात मल्ल र ‘अभिनेत्री’मा ‘कबड्डी कबड्डी’का लागि रिस्मा गुरुङले अवार्ड पाए।
त्यस्तै २०७३ सालका लागि ‘फिल्म’ विधामा ‘कालोपोथी’, ‘निर्देशक’ मा ‘सेतो सूर्य’बाट दीपक रौनियार, ‘पटकथा’ मा ‘कालोपोथी’बाट मीन भाम र अविनाश विक्रम शाह, ‘सम्पादन’मा ‘सेतो सूर्य’कै लागि डेभिड बार्कर, ‘छायांकन’मा ‘कालोपोथी’बाट अजिज जम्भाकिभ, ‘अभिनेता’मा ‘जात्रा’बाट बिपिन कार्की र ‘पुरानो डुंगा’बाट माओत्से गुरुङ र ‘अभिनेत्री’मा ‘लभ सासा’बाट केकी अधिकारीले अवार्ड पोल्टामा पारे । उनीहरूलाई फिल्मकर्मी यादव खरेल, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी र अभिनेत्री भुवन चन्दले प्रमाणपत्रसहित मेडलले पुरस्कृत गरेका थिए ।
समाजका अध्यक्ष यज्ञशले प्राविधिक कारणले क्रिटिक्स अवार्ड घोषणा र वितरण कार्य समयमा गर्न सकेका नसकेको अवस्थामा यसपटक एकैचोटी तीनवटै वर्षको अवार्ड वितरण गर्नुपरेको बताए । ‘कलात्मक रुपमा नयाँ काम गर्न खोज्ने युवा फिल्मकर्मीलाई प्रोत्साहन गर्न अवार्ड दिएका हौं,’उनले भने,‘हामी अन्य अवार्ड जस्तो व्यावसायिक धारलाई भन्दा पनि समीक्षक र आम दर्शकलाई नौलो स्वाद लागेका फिल्मका कलाकारदेखि प्राविधिकलाई अवार्डले प्रोत्साहन गर्छौ ।’ उनले आफूहरूले समाजकै सदस्यहरुको खर्चमा अवार्ड गरिरहेकाले आगामी वर्षदेखि चलचित्र विकास बोर्डको सहयोगको अपेक्षा गरे।
फिल्मकर्मी खरेलले पछिल्लो समयमा फिल्मको व्यापारमा सकारात्मक सुधार भइरहँदा कलाकारदेखि प्राविधिकसम्मको कामलाई नजिकबाट मूल्यांकन गरेर उनीहरूलाई पुरस्कार दिइनु सराहनीय काम रहेको बताए । समाजले चाँडै नै फिल्म समीक्षा सम्बन्धि कार्यशाला गर्ने तयारी गरिरहेको छ ।
प्रकाशित: ७ मंसिर २०७४ ०३:५८ बिहीबार