५ वैशाख २०८१ बुधबार
खेल

रियालको जितमा रोनाल्डोको २ गोल

पेरिस– स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई गोलप्रेरित साबिक विजेता रियाल मड्रिडले मंगलबार एपोइलमाथि ६–० को सहज जित हात पार्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ।

२३औं मिनेटमा लुका मोडरिचले गरेको गोलमा मड्रिडले अग्रता लिएको थियो । ३९औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै मड्रिडको अग्रता दोब्बर पारेका थिए । त्यसको दुई मिनेटपछि नाचो फर्नान्डेजले गोल गर्र्दै टोलीको अग्रता बढाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै मड्रिडको अग्रता ४–० मा पु¥याएका थिए ।
रोनाल्डोले ४९औं मिनेटमा गोल गरेपछि मड्रिडको अग्रता अझ बढेको थियो । त्यसको पाँच मिनेटपछि रोनाल्डोले व्यक्तिगत दोस्रो गोल पूरा गरेपछि मड्रिडले सानदार जित हात पारेको हो।

यस जितपछि ५ खेलको समाप्तिमा १० अंक जोडेको मड्रिडले समूह ‘एच’ को उपविजेताका रूपमा प्रतियोगिताको अन्तिम १६ मा स्थान पक्का गरेको हो । यस समूहबाट यसअघि नै टोटेनह्यामले समूह विजेताका रूपमा अन्तिम १६ को टिकट काटिसकेको छ । टोटेनह्यामले समान खेलमा १३ अंक जोडेको छ । समान खेलमा २÷२ अंक जोडेका डर्टमन्ड र एपोइनलको यात्रा समूहचरणमै सीमित भएको छ।

 मंगलबार सम्पन्न समूहको अर्को खेलमा टोटेनह्यामले बोरुसिया डर्टमन्डलाई २–१ ले पराजित गरेको हो । 
यता ३–० को अग्रता लिनाका बावजुद अग्रता जोगाउन नसक्दा  सेभियासँग ३–३ को बराबरी खेलेपछि लिभरपुलले अघिल्लो  चरणमा स्थान पक्का गर्ने मौका खेर फालेको छ।

खेलको दोस्रो मिनेटमा रोबर्टो फिर्मिन्होले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो ।
 २२औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।  त्यसको ८ मिनेटपछि फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुलले अग्रता ३–० मा पुर्‍याएको थियो। 

५१औं मिनेटमा सेभियाका विसाम बेन याडरले गोल गर्दै गोलअन्तर कम गरेका थिए । त्यसको ९ मिनेटपछि याडरले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। 
अतिरिक्त समयको तेस्रो मिनेटमा ग्युडो पिज्जारोले गोल गर्दै सेभियालाई खेलमा फर्काएका थिए।

यस नतिजापछि समूह ‘इ’ मा ५ खेलको समाप्तिमा ९ अंक जोडेको लिभरपुल समूहको शीर्ष स्थानमा छ । समान खेलमा  ८ अंक जोडेको सेभिया दोस्रो स्थानमा छ । त्यस्तै समान खेलमा ६ अंक जोडेको स्पार्टक मस्को तेस्रो र २ अंक जोडेको मारिबोर अन्तिम स्थानमा छन्।

त्यस्तै समूह ‘एफ’बाट म्यानचेस्टर सिटी र समूह ‘जि’ बाट बेसिक्टासले पनि अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।

यता समूह ‘एफ’ मा पाँच खेलको समाप्तिसम्म शतप्रतिशत नतिजालाई निरन्तरता दिएको म्यानचेस्टर सिटीले फेयनुर्डलाई १–० ले पराजित गर्दै अघिल्लो चरणमा स्थान पक्का गरेको छ। 

समूहको अर्को खेलमा साक्तर डोनेक्ट्सले नेपोलीलाई ३–० को नतिजा सुम्पिएको छ।
यस नतिजापछि ५ खेलको समाप्तिमा १५ अंक जोडेको सिटी शीर्ष स्थानमा छ। समान खेलमा ९ अंक जोडेको डोनेक्ट्स दोस्रो,६ अंक जोडेको नेपोली तेस्रो र अंकविहीन फेयनुर्ड चौथो स्थानमा छन्।
त्यस्तै बेसिक्टासले समूह ‘जी’ का विजेताका रूपमा अन्तिम १६ मा स्थान पक्का गरेको छ। 

३–० को अग्रता जोगाउन नसकी सेभियासँग ३–३ को बराबरी खेलेपछि लिभरपुलले अघिल्लो चरणमा स्थान पक्का गर्ने मौका खेर फालेको छ।

प्रकाशित: ७ मंसिर २०७४ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App