८ वैशाख २०८१ शनिबार
खेल

पुलिस क्लब सेमिफाइनलमा

झापा –भारत कोलकाताको सुवाषचन्द्र ब्वाइज क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै नेपाल पुलिस क्लब मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उद्घाटन खेलमा बुधबार अन्तिम चारमा पुगेको छ। 

कोलकाताविरुद्धको एकतर्फी जितमा पुलिसका तीर्थ रानाले दुई र भोला सिलवाल एवं तेज तामाङले समान १ गोल गरेका थिए । प्रारम्भदेखि नै आक्रामक पुलिसले १०औं मिनेटमै तीर्थको गोलमा अग्रता लिएको थियो । रवि पासवानले दिएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए। 

सुरुमै १–० ले पछि परेको भारतीय टोली त्यसपछि सन्तुलन गुमाएजत्तिकै फिका देखियो । १७औं मिनेटमा पुलिसका तीर्थले अर्को गोल थपेपछि भारतीय टोली समालिने स्थितिबाट टाढा पुगेको थियो । मैदानको मध्यभागबाट अजित भण्डारीले एक्लै बल अघि बढाउँदै विपक्षी पोस्टमा ‘क्रस’ गरिदिए । कोलकाताका रक्षापंक्तिका खेलाडी विकास मण्डीले ‘हेडर’ लिन खोज्दा उनी बिट भए । त्यही बेला अनमार्क रहेका तीर्थले बललाई जाली चुमाए । दुई गोल गरेका उनले म्यान अफ दी म्याचको पुरस्कारबापत १० हजार रुपैयाँ प्राप्त गरे। 

पुलिसका लागि भोला सिलवालले तेस्रो गोल गरे । राम वाजीले प्रहार गरेको बललाई ‘अफसाइड’ ठानेर कोलकाताका खेलाडीले बल छाडे, तर बायाँ विङ्समा रहेका भोलाको नियन्त्रणमा बल पुग्दा रेफ्रीले अफसाइड दिएनन् ।  कुनै अवरोध नभएको फाइदा उठाउँदै अनुभवी भोलाले एक्लै अघि बढेर बललाई पोस्टको दिशा दिए। 

पहिलो हाफमै ३–० ले अघि रहेको पुलिसलाई खेलको दोस्रो हाफमा कोलकाताले केही चुनौती दियो ।  पुलिसका लागि अन्तिम तथा चौथो गोल तेज तामाङले खेलको ८४औं मिनेटमा गरे । रवि पासवानले प्रहार गरेको बल रिबाउन्ड हुँदा तामाङले त्यसलाई पोस्टको दिशा दिएका थिए । कप्तान जुमानु राईको ठाउँमा प्रवेश गरेका तामाङले टोलीको अपेक्षा खेर जान दिएनन् । पुलिसका प्रशिक्षक कुमार कटुवालले विपक्षीको तुलनामा ज्यादै राम्रो खेलेर सहज जित सम्भव भएको प्रतिक्रिया दिए । ‘उनीहरूको खेल हाम्रोभन्दा कमजोर थियो’, कटुवालले भने ‘हाम्रो सेट र तालमेल मिल्यो । त्यही भएर सहज जित हात लाग्यो ।’ पहिलो खेलबाटै घर फर्कन बाध्य भएको कोलकाताले भने नयाँ मैदानमा अनुभवको कमी र खेलाडीको अभावले हार व्यहोर्नुपरेको जनाएको छ । ‘हामी महŒवपूर्ण ५ जना खेलाडीबेगरै मैदान उत्रेका थियौं’, कोलकाताका प्रशिक्षक असीम रोयले भने ‘रक्षापंक्तिको कमजोरीले दोस्रो गोल खानुप¥यो । त्यसपछि हामी खेलमा फर्कनै सकेनौं।’  
भारतको एक र नेपालका नौ गरी १० टोली सहभागी प्रतियोगितामा बिहीबार अग्नि रूपन्देही ११ र सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताअन्तर्गत तेस्रो संस्करणको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार प्राप्त गर्नेछन्। 

प्रकाशित: ७ मंसिर २०७४ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App