४ वैशाख २०८१ मंगलबार
अर्थ

थानकोटमा पेट्रोल भण्डार क्षमता ६० लाख लिटर पुर्याइने

काठमाडौं–भारतीय कम्पनीले नेपाल आयल निगमको थानकोट डिपोमा पेट्रोल ट्यांक बनाउने ठेक्का पाएको छ । निगमले ४२ लाख लिटर मट्टीतेल राख्ने ट्यांकलाई पेट्रोलमा परिणत गर्न भारतीय ब्यांकेट एसिया कम्पनीलाई ठेक्का दिने निर्णय गरेको छ । बजारमा मट्टीतेलको खपत घटेपछि निगमले थानकोट डिपोस्थित दुई मट्टीतेल ट्यांकलाई पेट्रोल भण्डारण गर्ने बनाउन लागेको हो ।

पूर्वाधार परिवर्तन गर्न निगमले आह्वान गरेको ‘ग्लोबल टेन्डर’मा एकमात्र भारतीय कम्पनीले आवेदन गरेपछि सोही कम्पनीलाई ठेक्का दिने निर्णय निगम सञ्चालक समितिले गरेको छ । तीन कम्पनीले आवेदन लगेको भए पनि एउटाले मात्र बुझाएपछि सोही कम्पनीले ठेक्का पाएको हो । सार्वजनिक खरिद ऐनमा एकमात्र कम्पनीले आवेदन दिएपछि पुनः ठेक्का खोल्नु पर्ने भए पनि निगम सञ्चालक समितिले आफ्नै विनियमावलीमा टेकेर निर्णय गरेको हो । यो विनियावलीमा एउटाको मात्र आवेदन परे पनि दिन सक्ने प्रावधान भएको समितिले जनाएको छ ।
१ करोड ७० लाख रुपैयाँको लागतमा २१ लाख लिटरका दुई मट्टीतेल ट्यांक पेट्रोलमा परिणत गर्ने निगमको योजना हो ।

उक्त कम्पनीसँग २–३ दिनभित्र सम्झौता भएर काम सुरु गर्ने निगम इन्जिनियरिङ विभागका निर्देशक विरेन्द्र गोइतले बताए । ‘भारतीय कम्पनीका ठेकदार काठमाडौं आइसकेका छन्,’ गोइतले भने, ‘सम्झौता हुनासाथ काम अघि बढ्छ ।’ निगमसँग थानकोटमा अहिले १८ लाख लिटर पेट्रोल भण्डारण गर्ने क्षमता छ । दुई ट्यांक पेट्रोलमा परिणत गरेपछि क्षमता बढेर ६० लाख लिटर पुग्छ ।

बजारमा मट्टीतेलको माग घट्दै गएपछि २१ लाख लिटरका दुई ट्यांक प्रयोगविहीन थिए । भारतीय नाकाबन्दीको बेला भण्डारण कम हुँदा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन संसदीय समितिसहित सरकारले निगमलाई निर्देशन दिएको थियो । निगमले विस्तृत अध्ययन गरेपछि तत्काल अन्य स्थानमा डिपोको पूर्वाधार तयार गर्न समय लाग्ने भएपछि मट्टीतेलका ट्यांकलाई पेट्रोल राख्न मिल्ने बनाउने निष्कर्षमा पुगेको थियो ।

थानकोटको हालको १८ लाख लिटर क्षमताले मुस्किलले ६ दिनलाई पुग्छ । मुग्लिनमा सडक अबरुद्ध हुनासाथ उपत्यकामा पेट्रोल अभाव हुने गरेको छ । ‘काठमाडौंमा दैनिक तीन लाख लिटर पेट्रोल खपत हुन्छ,’ निगम प्रवक्ता मुकुन्द घिमिरे भने, ‘९० दिनलाई स्टक राख्ने योजना भए पनि तत्कालको लागि यसले राहत हुन्छ ।’ मट्टीतेल ट्यांकलाई पेट्रोलमा रूपान्तरण गर्न आल्मुनियम फ्लोटेड रुफ चाहिन्छ । पेट्रोलिय पदार्थ स्टक राख्ने भण्डार नहुँदा उपभोक्ताले सास्ती झेल्दै आएका छन् । थानकोटमै ७ सय ६० किलोलिटरको अर्को रित्तो ट्यांक भएकाले त्यसलाई मट्टीतेलको लागि प्रयोग गर्ने तयारी छ । अहिले दैनिक करिब १ लाख लिटर मट्टीतेल मुलुकभर खपत हुन्छ ।

यो परियोजना सफल भए निगमले अन्य क्षेत्रमा प्रयोगविहीन भएका मट्टीतेल ट्यांकलाई पेट्रोलमा परिणत गर्ने योजना छ । ‘परीक्षणको रुपमा थानकोटका दुई ट्यांकलाई कन्भर्ट गर्न ठेक्का दिएका हौं,’ निमित्त नायब प्रबन्धक  सुशील भट्टराईले भने, ‘यी सफल भएपछि अन्य डिपोका ट्यांकलाई पनि प्रयोगमा ल्याउछौं ।

अहिले निगमसँग पेट्रोलियम पदार्थको भण्डार क्षमता ७१ हजार १ सय ९८ किलोलिटर छ । उसले ५ हजार १ सय ७५ लिटर किलोलिटर पेट्रोल, ४२ हजार ३ सय ८५ किलोलिटर डिजेल, १४ हजार ८ सय ५९ किलोलिटर हवाई इन्धन र ८ हजार ५ सय किलोलिटर  मट्टीतेल स्टक राख्न सक्छ । सन् २००५ मा एसियाली विकास बैंकको सहयोगमा भण्डारण क्षमता बढाएयता निगमले यसतर्फ प्रगति गरेको छैन । पेट्रोलियम पदार्थ भण्डारण क्षमता कमजोर भएकाले चीनको सहयोगमा बढाउने निगमको योजना छ । प्रधानमन्त्री केपी ओलीको बेइजिङ भ्रमणमा भण्डारण क्षमता बढाउन सहयोग गर्ने आश्वासन दिएको थियो ।

 

प्रकाशित: २० श्रावण २०७३ ०५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App