१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘पाहुना’ मतदाता निर्णायक

पोखरा – व्यापार र अस्थायी बसोबासका लागि घरबाहिर रहेका हिमालपारिका जिल्ला मनाङ र मुस्ताङका मतदाता आइतबार हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोट हाल्न धमाधम घर फर्किन थालेका छन् । 

भोट हाल्नकै लागि जिल्ला आउने यी ‘पाहुना’ मतदाताको हातमा हिमाली जिल्लाको निर्वाचन परिणाम निर्भर रहने भएकाले राजनीतिक दलहरूले पनि मतदाता भित्र्याउन ठूलै कसरत गरिरहेका छन् । स्रोतका अनुसार उम्मेदवारले नै केही मतदातालाई यातायातको व्यवस्था गरेर जिल्ला भित्र्याउँछन् भने कतिपय व्यक्तिगत रूपमा खर्च गरेर घर फर्किइरहेका छन्।

मनाङ कांग्रेसका सचिव विनोद गुरुङले घरबाहिर रहेका मतदाता धमाधम जिल्ला भित्रिइरहेको बताए । ‘मतदाताहरू धमाधम जिल्ला भित्रिइरहेका छन् । मतदाता भित्रिन थालेपछि मनाङको निर्वाचन रौनक झनै बढ्दै गएको छ,’ गुरुङले भने, ‘माथिल्लो मनाङका टंकी मनाङ, घयारु, खाङसार, पिसाङलगायत क्षेत्रका मतदाता अहिले धमाधम फर्किरहेका छन् ।’ लामो समय बाहिर बसिरहेका मतदाता पनि अहिले धमाधम गाउँ आइरहेको उनले बताए। 

भोट खसाल्नकै लागि जिल्ला भित्रिने मतदाता निर्णायक हुने भएकाले उनीहरूलाई पाहुनासरह व्यवस्थापन गर्नुपर्ने हुन्छ । श्रीमाया थकाली, नेत्री, एमाले प्रतिनिधि/प्रदेशसभा निर्वाचन : मनाङ र मुस्ताङ

‘उम्मेदवारले व्यक्तिगत खर्च दिएर पनि मतदाता घरसम्म ल्याउनुपर्छ । नजिकका मतदाता आफैं आउँछन् । टाढाका मतदातालाई ल्याउने र फर्किने व्यवस्था भने उम्मेदवारले गर्नुपर्छ,’ गुरुङले भने, ‘निर्णायक जिल्लाबाहिरका मतदाता भएकाले पनि यो बेला मेहनत गर्नैपर्छ ।’ उनका अनुसार मनाङका धेरै मतदाता काठमाडौं बस्छन् । काठमाडौंमै करिब २५ सय जति मतदाता रहको उनले बताए । 

मनाङमा ५ हजार ८ सय ८१ मतदाता छन् । स्थानीय राजनीतिक दलका अनुसार मतदातामध्ये करिब ५० प्रतिशत जिल्लाबाहिर बस्छन् । स्थायी बसोबास छाडेर उनीहरू कामका लागि काठमाडौं, चितवन, पोखरालगायत सहरमा बस्दै आएका छन् । त्यसबाहेक जाडो छल्न कात्तिक पहिलो सातादेखि त्यहाँका बासिन्दा तल (पोखरा, काठमाडौं र चितवन) तिर झर्छन्।

यसैगरी अर्को हिमाली जिल्ला मुस्ताङको माथिल्लो भेगका मतदाता पनि अहिले धमाधम घर फर्किरहेको एमाले मुस्ताङकी नेत्री तथा पोलिटब्युरो सदस्य श्रीमाया थकालीले बताइन् । उनका अनुुसार काठमाडौंमा रहेका मुस्ताङका केही मतदाता जिल्ला पुगिसकेका छन् । पोखरामा रहेका मतदातामध्ये केही बुधबार घर फर्किएको र बाँकी मतदानको अघिल्लो दिनसम्म जिल्ला पुगिसक्ने उनले बताइन् । ‘मतदाता धमाधम जिल्ला भित्रिएका छन् । अरू पनि आउँदैछन्,’ उनले भनिन्, ‘मतदाता भित्रिन थालेपछि जिल्लाको चुनावी रौनक पनि बढेको छ ।’ थकालीका अनुसार कामका लागि भारततिर गएका मतदाता भने निर्वाचनमा फर्कंदैनन्।

मुस्ताङका करिब तीन सय मतदाता जिल्लाबाहिर छन् । त्यसबाहेक जाडो छल्न धेरै मतदाताले घर छाड्छन् । पहिलेदेखि नै मुस्ताङ छाडेका उनीहरूमध्ये अधिकांशको बसाइ पोखरा छ, केही काठमाडौं छन् । मुस्ताङमा ९ हजार ४ सय २७  मतदाता छन् । कात्तिक पहिलो सातादेखि जाडो छल्न पोखरालगायत सहरमा झर्ने मुस्ताङका बासिन्दा फागुन लागेपछि मात्र फर्किन्छन् । तर, यसपटक निर्वाचनका कारणले रोकिएका छन्।

थकालीका अनुसार जिल्ला भित्रिने मतदातालाई अहिले सीधा यातायातले सहज बनाएको छ । पोखरा, काठमाडौंलगायत जिल्लाबाट जोमसोमससम्म सीधा बस चल्ने भएकाले मतदाता जिल्ला भित्रिन सहज भएको उनले बताइन् । ‘जिल्ला भित्रिन सहज पनि छ । पहिला–पहिला यातायात साधन नहुने हुँदा हत्तपत्त मतदाता फर्किन मान्दैनथे,’ उनले भनिन्, ‘तर अहिले मतदातालाई गृह जिल्लामा आउजाउ गर्न सहज छ।’ 

भोट हाल्न मात्र गृहजिल्ला भित्रिने मतदाताको हातमा निर्वाचन परिणाम निर्भर हुने भएकाले  उनीहरूलाई ‘पाहुना’ सरह व्यवस्थापन गर्र्नुपर्ने उनले बताइन् । ‘पाहुना मतदातालाई उचित व्यवस्थापन गर्नैपर्छ,’ उनले भनिन्, ‘उनीहरूकै हातमा निर्वाचन परिणाम निर्भर छ।’

थकालीका अनुसार पाहुना मतदातालाई  उम्मेदवारले नै यातायात र खानपिनको व्यवस्था गर्नुपर्छ । मतदातालाई सम्बन्धित मतदानस्थलसम्म पु¥याउने जिम्मा पनि उम्मेदवारको रहेको उनले बताइन् । हिमालपारिका जिल्लाको निर्वाचन अन्यत्रको तुलनामा खर्चिलो हुने उनको भनाइ छ । थकालीका अनुसार जोमसोमदेखि तलका बासिन्दा भने जाडो छल्न जिल्ला छाड्दैनन । पुस, माघमा अति नै चिसो बढेमा, उपचार तथा भेटघाटका लागि तल झरे पनि चिसो नै छल्न भनेर जिल्ला छाड्दैनन् । तर, सबैभन्दा दुर्गम लोमान्थाङ र बाह्र्रगाउँ मुक्तिक्षेत्र भेगका बासिन्दा म्याग्दी पर्वत, स्याङ्जा, पोखरा झर्छन् । कतिपय व्यापारका लागि तराईसम्म पनि पुग्छन्। 

प्रकाशित: ७ मंसिर २०७४ ०१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App