७ वैशाख २०८१ शुक्रबार
राजनीति

चुनाव लगत्तै पार्टी एकता : अध्यक्ष ओली

दाङकाे चुनावी सभालार्इ सम्बाेधन गर्दै एमाले अध्यक्ष केपी शर्मा अाेली । तस्बिर : देवेन्द्र बस्नेत

दाङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन लगत्तै माओवादी र एमालेबीच पार्टी एकीकरण हुने बताएका छन्। दाङमा बुधबार वामगठबन्धनले गरेको चुनावी आमसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले दुई पार्टीबीचको एकीकरणका सम्वन्धमा कुनै आशंका नगर्न आग्रह गरे।

उनले यि दुईपार्टी बीचको एकतालाई कसैले रोक्न नसक्ने दाबी समेत गरे । ‘माओवादी र एमालेबीच पार्टी एकीकरण भयो, तपाईहरू ढुक्क हुनुस्,’ आमसभामा ओलीले भने ‘अब यो एकीकरणलाई कसैले च्याँखे थापेर रोकिनेवाला छैन।’ 

निर्वाचन अगावै पार्टी एकीकरण गरेर जाने तयारी गरिएको भएपनि केही प्राविधिक विषयले मात्रै यो एकीकरण निर्वाचन पछि धकेलिन पुगेको उनले बताए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र आँफूबीच पार्टी एकीकरणका सम्वन्धमा ‘एकमत’ भइसकेको दाबी गर्दै उनले भने ‘कुनै बेला प्रचण्ड जि र मेरो बीचमा मत बाझाबाझ चल्थ्यो, तर अब हामी एकै ठाउँमा छौँ,पार्टी एकीकरणका लागि दुबैजना एकै थलोमा उभिएका छौँ ।’ आसन्न निर्वानले नेपालमा कम्युनिष्ट सरकारको सुनश्तिता गर्ने र एउटा कम्युनिष्ट पार्टी बनाएर सत्ता सञ्चालन गर्ने योजना ओलीले सुनाए।

ओलीले मुलुकको दिगो विकासका निम्ती बामगठवन्धन बनेको भएपनि यो गठवन्धन देखेर अत्तालिएकाहरूले नकारात्मक सन्देश प्रवाह गरिरहेको आरोप समेत लगाए । ‘मैले मुलुकको हितका निम्ति धेरै राम्रा राम्रा योजनाहरू ल्याउन कोशिश गरेँ, तर एक शक्ति यो योजनाको रिस गरेर अत्तालियो,’ उनले भने ‘अहिले पनि मुलुकको समृद्धिका लागि बनेको वाम एकता देखि त्यो शक्ति अत्तालिएको छ र नानाथरी आरोप लगाइरहेको छ।’ 

प्रदेश नम्बर ५ को मुख्यमन्त्रीको प्रसंगमा भने ओलीले प्रष्ट पारेनन् । उनले कार्यक्रममा सहभागीहरूलाई ‘प्रदेशको मुख्यमन्त्री थाहा पाईसक्नु भएको छ’ मात्रै भनेतापनि टिकट वितरणका क्रममा उनैले प्रस्ताव गरेका स्टेजमा रहेका शंकर पोख्रेलको नाम भने लिएनन्। ओलीले पोख्रेलको नाम नलिएको प्रसंग चर्चाको विषय बनेको छ । पोख्र्रेल प्रदेश नम्बर ५ को मुख्यमन्त्रीकै रुपमा आफूलाई उभ्याउँदै अहिले चुनावी प्रचारमा लागिसकेका छन्। यसैगरी प्रादेशिक राजधानीको विषयमा पनि ओलीले केही बोलेनन् । बुटवलको चुनावी आमसभालाई सम्बोधन गरेर दाङ आइपुगेका ओलीले यो विषयलाई कोट्याएनन् । उनि भन्दा अघिल्ला वक्ताहरूले पालैपालो दाङलाई राजधानी बनाउने वाचा गरेको भएपनि वामगठवन्धनका सुत्रधार ओलीको मुखबाट समेत दाङ प्रादेशिक राजधानी उद्घोष हुने अपेक्षामा रहेका सहभागीहरूले त्यो सुन्न पाएनन्। 

ओलीले घोराही र तुलसीपुरमा गरी दाङमा भएका दुईवटा चुनावी आमसभालाई सम्बोधन गरेका थिए । ओलीसंगै माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा समेत आएका थिए । बुटल कपिलवस्तु हुँदै दाङका दुईवटा चुनावी सभामा सहभागी भएका ओली र थापाले छुट्टा छुट्टै दुईवटा हेलिकप्टर चार्टर गरेर आएका थिए ।  

 

प्रकाशित: ६ मंसिर २०७४ १२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App