८ वैशाख २०८१ शनिबार
अन्य

विवाहको बजार र समाजशास्त्र

समाजशास्त्री तथा मानवशास्त्रीहरू मानव जातिलाई सामाजिक प्राणी मान्छन् । मानव सामाजिक प्राणी भनिनुका पछाडि उसको समाजसँगको सम्बन्ध र समाज निर्माणमा उसको भूमिका नै हो । समाज बन्नका लागि परिवार चाहिन्छ र परिवार निर्माण हुनका लागि पति, पत्नी र सन्तान आवश्यक पर्छ । त्यसैले समाज निर्माणको आधारस्तम्भ हो विवाह । अहिलेको समाजमा विवाहको सामान्य अर्थ वयस्क दुई विपरीत लिङ्गीहरू बीचको सम्बन्धको सार्वजनिकीकरण हो । विवाह गर्ने धार्मिक, सांस्कृतिक, सामाजिक मान्यताहरू जातजाति, भूगोलअनुुसार भिन्न–भिन्न हुन्छ । समुदाय, जातजाति, भूगोलअनुसार विवाह गर्ने फरक–फरक तरिका भए पनि विवाहको उद्देश्य एउटै हो, दम्पतिलाई पतिपत्नीका रुपमा समाजमा चिनाउनु, स्थापित गर्नु । परम्परादेखि चल्दै आाएको यो मान्यता अहिले पनि उत्तिकै बलियो छ । कतिपय समाजमा विवाहपछि मात्र वयस्क जोडीले यौन सम्बन्ध राख्न पाउने धार्मिक सामाजिक नियम अद्यपि कडाइका साथ पालना गरिन्छ  । परम्परादेखि विवाह गरेर सन्तान जन्माउने, वंश वृद्धि गर्ने पैतृक सम्पत्ति भोगचलन गर्ने अर्थमा लिइन्थ्यो । यस्तो मान्यतामा परिवर्तन आइरहेका छन् ।
नेपाली समाज दिनदिनै विकासको फड्को मार्दैछ । पश्चिमा प्रभाव, देशविदेशको अनुभव र आधुनिकताको दौडमा विवाहजस्ता परम्परा बद्लिँदै छन् । विवाहको मान्यतामै नयाँ सोच विचारले आकार लिइरहेको हामी पाउँछौंँ । धार्मिक, सामाजिक चालचलन अनुसार बाजागाजा, भोजभतेर गरेर आयोजना गरिने विवाह समारोह हुन् या लुकेर केटाकेटीले आफू मात्र मिलेर गर्ने भागी विवाह वा अदालती विवाह नै किन नहोस्, ती सबैले सामाजिक कानुनी मान्यता पाउँछन् । त्यसै हुनाले विवाह आफैँमा सम्बन्धहरूको वृहद् सञ्जाल बन्न जान्छ । विवाह सम्बन्धहरू सार्वजनिक गर्ने अभ्यास भएकाले नै यो विशेष समारोह आयोजना गरी भव्यतापूर्वक सम्पन्न गरिन्छ । आफन्त इष्टमित्र, साथीसंगी, इष्टमित्र, छरछिमेक सबैको सहभागिता गराइन्छ । त्यसै हुनाले यसमा आडम्बर प्रदर्शन, हैसियत देखाउने जस्ता कुरा परम्परादेखि चल्दै आएका छन् । विवाहलाई प्रदर्शनको विषय बनाउने परम्पराहरू आधुनिक समयमा अझ फैलँदै र कतिपय अवस्थामा विकृत रुप लिँदै गएको देखिन्छ । विवाहमा दाइजो र विशेष गरेर मधेसको समाजमा अहिलेसम्म निर्मूल हुन नसकेको दहेज प्रथा त्यसकै उपज हुन् ।
नेपाली समाजका विवाह ठूलो खर्च हुने परम्परा बनेको छ । भोजभतेर, लुगा, गहनाको प्रदर्शनजस्ता कुराले यो खर्चिलो बनाएको छ । यसको अर्को आयाम विवाहसँग ठूलो बजार जोडिएको छ आजकल । भोजभतेरबाट क्याटरिङ्गमा उक्लिएको सहरिया समाज पार्टी प्यालेस हुँदै अहिले तारे होटलसम्मका बफेमा रम्न थालेको छ ।  लत्ता कपडा, गरगहना, नाचगान, श्रृंगारपटारका व्यापार र सेवा विस्तार भएका छन् । जोडीहरू खोजेर उनीहरूबीच सम्बन्ध बाँध्ने, विवाह गराउने, हनिमुनमा पठाउने जस्ता यावत् सेवा दिने अफिसहरूका दिन आएका छन् । विवाह व्यवस्थापन गर्ने संस्थाहरू थपिने र तिनको कारोबारले आकार लिँदै गएको  हामी पाउँछौं ।
र्वैवाहिक सम्बन्धको दायरा हिजोको समाजमा जस्तो परम्परावादी थियो, त्यसमा आमूल परिवर्तन आएका छन् । विवाहलाई सन्तान उत्पादन र वंश वृद्धि गर्ने संस्थाको रुपमा लिइन्थो, त्यो मान्यता बद्लिएको छ र अहिले आएर सिंगल मदरको अवधारणाले मान्यता पाएको छ । विवाहको महŒवपूर्ण पक्ष वैवाहिक जीवन प्रेममय बन्नु र सम्बन्धहरू प्रगाढ हँुदै जानु हो तर अहिले आएर वैवाहिक सम्बन्धहरू भत्कने क्रम बढ्दो छ । नेपाली समाज अहिले अधिकारका अभ्यासहरू गर्दैछ, हिजोका परम्पराबीच आधुनिक हुने दौडमा सामेल छ र विवाहका मान्यता, शैली र प्रयोगहरूलाई आत्मसात गर्दैछ ।
परिवारको यो अंक विवाह विशेष अंकका रुपमा पाठकसामु प्रस्तुत गरेका छौं । विवाहमा आएका परिवर्तनहरूबारे लेख, विश्लेषणहरू यसमा समावेश छन् । विवाहको बजार र व्यवस्थापनका कुराहरू राखिएको छ । विवाहको श्रृंगार, किनमेल लगायतका टिप्सहरू यसमा छन् । विवाह विशेष सामग्रीका साथसाथ नियमित स्तम्भहरू समावेश छन् ।

प्रकाशित: ६ मंसिर २०७४ ०५:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App