अण्डामा आत्मनिर्भर, पोल्ट्री कारोबार ४० अर्ब

बुधबार, ०६ मङि्सर २०७४, १० : ३८ दिलिप पौडेल

काठमाडौं- मुलुकमा कुखुराजन्य वस्तुको वार्षिक कारोबार ४० अर्ब रुपैयाँ पुगेको छ । कुखुराको मासु, अण्डा, चल्ला, मलको कारोबार बढेपछि कुखुरापालन व्यवसाय फस्टाएको हो ।
पछिल्ला वर्ष कुखुरापालन व्यवसायमा वार्षिक ४० अर्ब रुपैयाँको कारोबार भएको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ । ‘दुई वर्षअघि सरकारको तथ्यांकमा वार्षिक पौने ३४ अर्बको कारोबार हुन्थ्यो,’ मञ्चका पूर्वअध्यक्ष तिलचन्द्र भट्टराईले भने, ‘दुई वर्षको अवधिमा करिब ६ अर्ब बढेको छ ।’
कुखुरापालन बढेपछि मुलुक अण्डामा आत्मनिर्भर भएको हो । भान्सामा दूध, तरकारीदेखि माछामासुसम्म आयातित प्रयोग भइरहेको बेला अण्डा भने उपभोक्ताले स्वदेशी उत्पादन नै प्रयोग गर्न पाउने भएका छन् ।
हरेक व्यक्तिलाई वार्षिक ४८ अण्डा आवश्यक पर्नेमा अहिले प्रतिवर्ष प्रतिव्यक्ति ५०.७ गोटाका दरले उत्पादन भएको पशुपक्षी विभागले जनाएको छ । ‘मुलुकभर खपत हुने जति अण्डा उत्पादन गर्न सक्षम भएका छौं,’ विभागका प्रवक्ता चन्द्र ढकालले भने, ‘नेपाल अण्डामा आत्मनिर्भर भएको छ ।’ एक अर्ब २० करोड २१ लाख गोटा अण्डा उत्पादन भएको विभागले जनाएको छ । सरकारले चालु आर्थिक वर्ष ०७४÷७५ मा मुलुक अण्डामा आत्मनिर्भर बन्ने योजना बनाएको थियो ।
गत वर्ष कुखुराको मासु २० अर्ब ५२ करोड ८८ लाख रुपैयाँ, अण्डा नौ अर्ब १३ करोड ३७ लाख ३६ हजार, चल्ला तीन अर्ब ६० करोड ७६ लाख, कुखुराको मल ४५ करोड ३७ लाख रुपैयाँको कारोबार भएको पशुपक्षी विभागले जनाएको छ ।
६४ जिल्लामा २१ हजार नौ सय ५६ व्यावसायिक कुखुरा फार्म रहेको विभागले जनाएको छ । उच्च हिमाली क्षेत्रमा चिसो हुने भएकाले त्यहाँको तापक्रम कम हुँदा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालीकोट, अछाम, बाजुरा र हुम्ला गरी ११ जिल्लामा व्यावसायिक कुखुरापालन हुँदैन ।
मुलुकभर कुखुरापालन भए पनि चितवन, काभ्रे, दाङ, सुनसरी, धादिङ लगायत जिल्ला पकेट क्षेत्र हुन् । तीमध्ये २० हजार चार सय ८३ ब्रोइलर, १३ सय ३७ लेयर्स कुखुरा र एक सय २८ ह्याचरी, आठ गिरिराज कुखुराका फार्म छन् । विभागका अनुसार ६ करोड आठ लाख २६ हजार आठ सय कुखुरापालन गरिएको छ । तीमध्ये पाँच करोड २६ लाख ६६ हजार ब्रोइलर, ६९ लाख आठ हजार पाँच सय लेयर, १२ लाख ५२ हजार दुई सय अन्य जातका कुखुरा पालिएको छ । कुखुरापालनमा ५५ हजार ८ सय ७१ रोजगारी पाएका छन् । ९९ हजार ६ सय अस्थायी कामदार छन् । कुखुरापालनमा निजी क्षेत्रको लगानी छ । ‘यो व्यवसायमा अर्बौं लगानी छ,’ ढकालले भने, ‘स्वरोजगार पनि बढाएको छ ।’
कुखुरापालनमा करिब एक खर्ब रुपैयाँ लगानी भएको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ । ‘कुखुरापालन व्यावसायिक बनेको छ,’ मञ्चका निवर्तमान अध्यक्ष शंकर कँडेलले भने, ‘सरकारले बजारीकरणमा ध्यान दिनुपर्छ ।’
उत्पादन बढाउन पशुपक्षी मन्त्रालयले कुखुरापालन विस्तार गरेर मासु र अण्डा उत्पादन बढाउन अण्डा आत्मनिर्भरता कार्यक्रम, पारिवारिक पोषण सुरक्षा, ग्रामीण कुखुरापालन, स्थानीय पशु संरक्षण अन्तर्गत कुखुरापालन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कुखुरामा लाग्ने रोग नियन्त्रण गर्न निःशुल्क भ्याक्सिन वितरण, रानीखेत रोग नियन्त्रण लगायत कार्यक्रम छन् ।
कुखुरापालन कम जोखिमको व्यवसाय मानिन्छ । यो व्यवसायमा रहेका ७५ प्रतिशतभन्दा बढी किसानले नाफा कमाउने गरेका छन् । ब्रोइलर कुखुराको मृत्यु दर १२.८ प्रतिशत, लेयर्सको ९.२, प्यारेन्टको सात प्रतिशत छ ।  
सरकारले बजेटमार्फत किसानलाई आवश्यक ऋण उपलब्ध गराउने घोषणा गरे पनि किसानले ऋण नपाएको गुनासो गर्दै आएका छन् । कुखुरा पालिरहेका ६२.३ प्रतिशत किसानले आवश्यकता अनुसार ऋण नपाएकोले गुनासो गरे ।
किसानले ऋण लिने प्रक्रिया झन्झटिलो भएको गुनासो गरेकोले सहुलियत ऋणको व्यवस्था गर्न, बिमाको लागि उपयुक्त वातावरण तयार गर्न, कुखुराका फार्म निर्माण, दाना र चल्ला खरिदमा अनुदानको व्यवस्था गर्न सुझाव दिँदै आएका छन् । विदेशबाट गैरकानुनी ढंगले आयात हुने चल्लामा पूर्ण प्रतिबन्ध लगाउन, बर्डफ्लू तथा महामारीमा नष्ट भएका कुखुरा, अण्डाको क्षतिपूर्ति दिन सरकारलाई सुझाव दिइएको छ । कुखुरा र अण्डाको बिक्रीको उचित बजार व्यवस्थासँगै किसानलाई क्षमता अभिवृद्धि सहित प्राविधिक सेवा दिनुपर्ने अध्यक्ष कँडेलले बताए ।
कुखुरापालन व्यवसाय फस्टाएर मासु र अण्डा आयात प्रतिस्थापन भए पनि ठूलो परिणाममा दाना आयात हुने गरेको छ । कुखुरालाई खुवाउने दानामा प्रयोग हुने कच्चा पदार्थ वार्षिक १५ अर्ब रुपैयाँको आयात भइरहेको व्यवसायी बताउँछन् । दानामा प्रयोग हुने मकै, भटमास, सूर्यमुखी र तिलको पिनालगायत कच्चापदार्थ खरिदमा मोटो रकम बाहिरिन्छ ।
दाना बनाउने ९०–९५ प्रतिशत भटमास र ७० प्रतिशत मकै विदेशबाट आायत हुने गरेको छ । मुलुकमा करिब एक सय दाना उद्योग छन् । नेपालमा वार्षिक २१ लाख ४५ हजार दुई सय ९१ मेट्रिक टन मकै, २८ हजार तीन सय १९ मेट्रिक टन भटमास उत्पादन हुने गरेको छ । स्वदेशमै दानामा प्रयोग हुने कच्चा पदार्थ मकै, भटमास उत्पादन गर्न सके व्यवसाय सञ्चालन गर्न अझ सजिलो हुने व्यवसायी बताउँछन् । कुखुरापालन अन्तर्गत ह्याचरीमा नयाँ प्रविधि भित्रिएसँगै यो व्यवसाय फस्टाएको हो । कुखरा व्यवसायमा पछिल्लो पटक व्यावसायिक घरानाको लगानी भित्रिएको छ । पछिल्ला केही वर्षमा कुखुराको मासु र अण्डा उपभोग समेत ह्वात्तै बढेको छ ।
केमा कति कारोबार ?
मासु २० अर्ब ५२ करोड ८८ लाख
अण्डा नौ अर्ब १३ करोड ३७ लाख ३६ हजार
चल्ला तीन अर्ब ६० करोड ७६ लाख
मल ४५ करोड ३७ लाख रुपैयाँ

 


 

 







यसमा तपाईको मत

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad