८ वैशाख २०८१ शनिबार
समाज

ड्रोन उडाउने दुई विदेशी नागरिक पक्राउ

काठमाडौं–प्रहरीले अनुमति नलिई क्यमरा जडित ड्रोन उडाएको आरोपमा दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले एकथान ड्रोन सहित रसियन नागरिक चुपिन अलेक्जाण्डर र काजकिस्तान नागरिक नुसुपोभ अलेक्जाण्डर पक्रेको हो । महानगरीय प्रहरी प्रभाग सानेपाको टोलीले ललितपुरको धोविघाटमा ड्रोन उडाईरहेका दुबैलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी पिताम्बर अधिकारीले अनाधिकृत रुपमा ड्रोन उडाएका दुई विदेशी नागरिकलाई बुधबार नियन्त्रणमा लिएर नागरिक उड्डयन प्राधिकरणमा बुझाएको जानकारी दिए । उनका अनुसार अनाधिकृत ड्रोन उडाउनलाई प्रहरीले नियन्त्रणमा लिएपनि निर्देशिका अनुसार प्राधिकरणले कारवाही गर्दै आएको छ ।

प्रभागका प्रहरी निरीक्षक रामकृष्ण सापकोटाका अनुसार दुबै हङकङ र चिन हुदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर  नेपाल भित्रिएका हुन । नेपालमा रहेका साथी भेटन आएका दुबैले साही घरको छतबाट ड्रोन उडाईरहेको फेला पारेपछि नियन्त्रणमा लिएको थियो । उनका अनुसार दुबैले नेपालमा ड्रोन उडाउन अनुमति लिनुपर्ने नियमका बिषयमा आफूहरुलाई जानकारी नभएको बताएका थिए ।

यसअघि गत चैत्र १ मा ललितपुर पुल्चोकस्थित मन्त्री निवासमा क्षथिग्रस्त अवस्थामा क्यामरा जडित ड्रोन फेला परेको थियो । स्वास्थ्यमन्त्री रामजनम चौधरीको सरकारी निवास बाहिर ड्रोन फेला परेको थियो । यस्तै गत असोज २८ मा दुईजना चिनियाँ नागरिक नेपाली सेनाको मुख्यालय जंग्गी अड्डामा ड्रोन उडाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । चाईना नेशनल टेलिभिजनका पत्रकार दाई ल्याङ र लिदोङ बेनलाई चिनियाँ दुतावासको रोहबरमा छाडिएको थियो ।

गत बैशाखमा गएको महाभूकम्पपछि नेपालमा भित्रिएका ड्रोनको प्रयोग सम्वेदनशिल स्थानमा समेत हुन थालेपछि गत कार्तिकमा गृह मन्त्रालयले ड्रोनको प्रयोग सम्बन्धी निर्देशिका जारी गरेको थियो । निर्देशिका अनुसार नेपाल भित्र ड्रोन ल्याउन र त्यसको प्रयोगका लागि अनुमति लिनुपर्ने नियम छ ।

 

प्रकाशित: २० श्रावण २०७३ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App