coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस, राजपा–फोरम र वाम गठबन्धनको भिडन्त

टंक क्षेत्री

सर्लाही- आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सर्लाहीमा उम्मेदवारहरु जोडतोडले प्रचारप्रसारमा जुटेका छन् ।

राजपा अध्यक्ष मण्डलका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र रायको गृहजिल्ला भएकाले सर्लाहीमा सबैको चासो देखिएको छ । यद्यपि यसपटकको निर्वाचनमा भने राजपा अध्यक्ष मण्डलका अध्यक्षत्रयमध्ये महेन्द्र रायले मात्र सर्लाहीबाट उम्मेदवारी दिएका छन् । ठाकुर महोत्तरी र महतो धनुषातर्फ लागेका छन् ।

निर्वाचन मैदानमा बहालवाला १ मन्त्रीसहित २ जना पूर्वमन्त्री तथा ५ जना पूर्वसांसदको उम्मेदवारी परेको छ । जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, वाम गठबन्धन र राजपा–फोरम गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसले ४ प्रतिनिधिसभा र ८ वटै प्रदेशसभामा उम्मेदवारी दिएको छ भने वाम गठबन्धनमा माओवादी केन्द्रले ३ प्रतिनिधिसभा एवं ६ प्रदेशसभा तथा एमालेले १ प्रतिनिधिसभा एवं २ प्रदेशसभामा उम्मेदवारी दिएको छ । त्यस्तै राजपा फोरम गठबन्धनमा पनि राजपाले ३ प्रतिनिधिसभा एवं ६ प्रदेशसभा तथा फोरमले १ प्रतिनिधिसभा एवं २ प्रदेशसभामा भागबन्डा गरेका छन् ।

३ लाख ८५ हजार ५८१ मतदाता रहेको सर्लाहीमा ४ प्रतिनिधिसभा सदस्यका लागि ७५ जना तथा ८ प्रदेशसभा सदस्यका लागि १३२ जना गरी २०७ जनाले उम्मेदवारी दिएका छन् ।

मन्त्री श्रेष्ठलाई चुनौती

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट पशुपन्छी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । श्रेष्ठले संविधानसभा निर्वाचन २०७० मा नेकपा माओवादीबाट उम्मेदवारी दिई एमाले अध्यक्ष झलनाथ खनाललाई हराएका थिए । संविधानसभा निर्वाचन २०७० मा कांग्रेसले टिकट नदिएपछि उम्मेदवारी मनोनयनको अघिल्लो दिनमात्र उनी माओवादीमा प्रवेश गरेका थिए ।

वाम गठबन्धनका कारण यसपटक क्षेत्र नं. १ एमाले भागमा परेपछि माओवादीबाट बहालवाला मन्त्री नै रहेको अवस्थामा उनी पुनः पुरानै घर कांग्रेसबाट उठेका छन् । २०७० सालमा एमाले अध्यक्ष खनाललाई हराएर चर्चा  बटुलेका श्रेष्ठलाई यसपटक वाम गठबन्धन एवं राजपा–फोरम गठबन्धनका कारण चुनौती देखिएको छ । यस क्षेत्रमा वाम गठबन्धनबाट एमालेका जिल्ला उपाध्यक्ष ध्रुव गौतम एवं राजपा–फोरम गठबन्धनबाट सद्भावना पार्टीका जिल्ला अध्यक्ष प्रमोद साह भिड्दैछन् ।

स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार क्षेत्र नं. १ मा कांग्रेसले १५ हजार ७१७ मत प्राप्त गरेको छ । वाम गठबन्धनअन्तर्गत ३४ हजार ५१६ मत छ । राजपा फोरम गठबन्धनमा १४ हजार १०८ मत परेको थियो ।

स्थानीय तहमा लालबन्दी र ईश्वरपुर नगरपालिका तथा दक्षिणी क्षेत्रको हरिपुर नगरपालिकामा एमालेले जितेको छ भने चन्द्रनगर गाउँपालिकामा राजपाले जितेको छ । कांग्रेसले एउटा पनि स्थानीय तहमा जितेको छैन ।

सांसद हुँदा आफूले क्षेत्रको समग्र विकासका लागि कुनै दल नहेरी काम गरेकाले यसपटक पनि आफूले चुनाव जित्ने श्रेष्ठले बताए ।

बढी जनसंख्या भएका अधिकांश स्थानीय तहमा आफ्नो पार्टी विजयी भएको र वाम गठबन्धन नै बनेपछि एमालेका गौतम थप हौसिएका छन् । राजपा फोरमका साह पनि संविधान संशोधनलगायत मुद्दाका लागि आममधेसी जनताले आफूलाई नै रोज्ने दाबी गर्दै आएका छन् । १ लाख १ हजार ५२८ मतदाता रहेको यस क्षेत्रमा स्वतन्त्रसहित विभिन्न दलका गरी १६ जना उम्मेदवार मैदानमा छन्।

प्रतिनिधिसभा १ अन्तर्गत ४७ हजार ९९३ मतदाता रहेको प्रदेशसभा १ (क) मा १६ जनाले उम्मेदवारी दिएका छन् । यहाँ राजपा–फोरम गठबन्धनबाट राजपाका उपेन्द्र महतो, कांग्रेसका मनोज सिंह र वाम गठबन्धनका रामचन्द्रसिंह कुशवाहबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेशसभा १ (ख) मा वाम गठबन्धनकी बेची लुंगेली र कांग्रेसका शेष सहदुल्लाबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । लुंगेली एमाले जिल्ला सचिव हुन् भने सहदुल्ला कांग्रेस क्षेत्रीय सभापति हुन् । यहाँ राजपा–फोरम गठबन्धनबाट संघीय फोरमका रामप्रसाद चौधरी मैदानमा छन् । ५३ हजार ५३५ मतदाता रहेको प्रदेशसभामा १३ जनाको उम्मेदवारी परेको छ ।

पूर्वसहयात्रीबीचको रोचक भिडन्त

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा पनि रोचक भिडन्त हुँदैछ । राजपा अध्यक्ष मण्डलका सदस्य एवं पूर्वमन्त्री महेन्द्र रायलाई केही समयअघिसम्म राजपाकै सहयात्री दुई अन्य नेताले चुनौती दिएका छन् । महेन्द्रविरुद्ध राजपाका पूर्वमहामन्त्री जंगीलाल रायले कांग्रेसबाट तथा राजपा सर्लाहीका नेता दिनेश रायले वाम गठबन्धनअन्तर्गत माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन् । साबिक क्षेत्र नं. ४ का अधिकांश तथा ५ नं. क्षेत्रका केही भूभाग थपिएको यस क्षेत्रमा पहिलो संविधानसभा निर्वाचनमा ४ नं. क्षेत्रमा तराईमधेस सद्भावना पार्टीबाट महेन्द्र तथा ५ नं. क्षेत्रमा तराईमधेस लोकतान्त्रिक पार्टीबाट जंगीलाल निर्वाचित भएका थिए ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्दा चित्त नबुझेपछि राजपा छाडेका जंगीलाल पुनः पुरानै घर कांग्रेस फर्किएर लामो समय सँगै क्रियाशील रहेका पार्टीकै वरिष्ठ नेतालाई चुनौती दिएका छन् । राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रले मधेस र मधेसी जनताको अधिकारका लागि अनवरत लडिरहेकाले आफूलाई मतदाताले माया गर्ने बताए ।

जंगीलाल भने आफूसँगै पुराना अन्य नेताकार्यकर्ता पनि राजपाबाट कांग्रेसमा प्रवेश गरेको र आफूले विगतमा जित हासिल गरेको क्षेत्रसमेत भएकाले यसपटक पनि आफु जित्नेमा ढुक्क रहेको बताउँछन् ।

त्यस्तै राजपामा गाभिएको राष्ट्रिय मधेस समाजवादी पार्टीका सर्लाही अध्यक्ष रहिसकेका दिनेश रायले प्रतिनिधिसभा निर्वाचनमा राजपाबाट टिकट नपाउने भएपछि मनोनयनको केही दिनअघि माओवादी केन्द्रमा प्रवेश गरी वाम गठबन्धनबाट प्रतिनिधिसभाको टिकट लिएका छन् । २०७० सालको निर्वाचनमा क्षेत्र नं. ४ बाट रामसपाबाट १ हजार ७१४ मत ल्याएका दिनेश जित्नका लागि मरिमेटेर चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

                यस क्षेत्रमा स्थानीय तहको मत परिणामअनुसार कांग्रेसको १५ हजार ७, वाम गठबन्धनको ११ हजार ५०९ तथा राजपा–फोरम गठबन्धनको २३ हजार ७०७ रहेको छ । राजपाबाट निकै नेताकार्यकर्ता फर्किएको तथा मलंगवा नगरपालिकामा पटकपटक स्वतन्त्र रुपमा मेयर जितेका नागेन्द्रप्रसाद राय स्वयं यसै क्षेत्रको प्रदेशसभा १ मा उम्मेदवार भएकाले जंगीलाल रायले प्रतिनिधिसभामा जित्नेमा नेपाली कांग्रेस निकै आशावादी छ भने भने राजपा स्थानीय तहमा पाएको मत संरक्षणमा जुटेको छ ।

                स्थानीय निर्वाचनमा मलंगवा र पूर्वी भेगको ठूलो हरिपूर्वा नगरपालिकामा कांग्रेस विजयी भएको थियो । त्यस्तै कौडेना र ब्रह्मपुरी गाउँपालिकामा राजपा तथा पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको थियो । ३ वटा वडा परेको कविलासी नगरपालिकाको मेयरमा राजपा तथा ४ वटा वडा परेको विष्णु गाउँपालिकामा लोकतान्त्रिक फोरम विजयी भएको थियो ।

९१ हजार ७२३ मतदाता रहेको यस क्षेत्रमा स्वतन्त्रसहित विभिन्न दलका २४ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेशसभा २ (क) मा १८ जना चुनावी मैदानमा छन् । ४२ हजार ६०९ मतदाता रहेको यस क्षेत्रमा कांग्रेसबाट विनोद साह तेली, राजपा फोरम गठबन्धनबाट राजपाका गौरीनारायण साह तेली र वाम गठबन्धनबाट माओवादी केन्द्रका राजकुमार रायबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

४९ हजार ११४ मतदाता रहेको २ (ख) मा २२ जनाले उम्मेदवारी दिएका छन् । यहाँ कांग्रेसबाट नागेन्द्रप्रसाद राय, राजपा फोरम गठबन्धनबाट संघीय फोरमका अशोककुमार यादव र वाम गठबन्धनबाट माओवादी केन्द्रका सुरेशकुमार साह तेलीको उम्मेदवारी परेको छ । कांग्रेसका यादव सदरमुकाम रहेको मलंगवा नगरपालिकाबाट पटकपटक स्वतन्त्र रुपमा मेयरमा विजयी भएका छन् भने राजपा–फोरम गठबन्धनका अशोककुमार फोरमका जिल्ला अध्यक्ष हुन् ।

एक पूर्वमन्त्री र २ पूर्वसांसद मैदानमा

क्षेत्र नं. ३ मा पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन, बागमती नगरपालिका हुँदै जिल्लाकै सबैभन्दा बढी १८ वटा वडा भएको बरहथवा नगरपालिकाको ११ वटा वडा, वसबरिया गाउँपालिकाको ३, कविलासी नगरपालिकाको ४ वटा वडा छन् भने दक्षिणको चक्रघट्टा गाउँपालिकासमेत पर्दछ । क्षेत्र नं. ३ मा ९९ हजार ७८६ मतदाता रहेका छन् भने स्वतन्त्रसहित १९ जनाले उम्मेदवारी दिएका छन् । अन्य क्षेत्रमा कांग्रेस, वाम गठबन्धन र राजपा–फोरम गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिए पनि यस क्षेत्रमा भने एकजना पूर्वसांसद स्वतन्त्र रुपमा उठेपछि भिडन्त चौपक्षीय हुने आकलनसमेत गर्न थालिएको छ ।

स्थानीय तहको निर्वाचनअघि नेपाल लोकतान्त्रिक फोरमका वरिष्ठ उपाध्यक्ष छाडेर माओवादी केन्द्र प्रवेश गरेका पूर्वमन्त्री रामेश्वर राय वाम गठबन्धनबाट यस क्षेत्रमा खडा भएका छन् । चक्रघट्टा गाउँपालिकाअन्तर्गत बेल्ही निवासी रायले चक्रघट्टा गाउँपालिकाको अध्यक्षमा भने आफ्नै छोरा विक्रम रायलाई माओवादी केन्द्रका तर्फबाट जिताएका थिए ।

                त्यस्तै पूर्व सांसद् हरेशप्रसाद महतो नेपाली कांग्रेसका तर्फबाट मैदानमा छन् । हाल हरिवन नगरपालिका र चक्रघट्टा गाउँपालिकाबाहेक अधिकांश भूभाग पर्ने साबिक क्षेत्र नं. ३ बाट २०६४ सालको संविधानसभा निर्वाचनमा महतो कांग्रेसबाट प्रत्यक्ष उम्मेदवार बने पनि पराजित भएका थिए । २०७० सालमा भने उनी पार्टीबाट समानुपातिकमा निर्वाचित भए ।

                त्यस्तै राजपा–फोरम गठबन्धनबाट फोरमका अशोककुमार सिंहको उम्मेदवारी परेको छ । सिंह मधेस आन्दोलनताका उक्त क्षेत्रमा आन्दोलन चर्काएर निकै चर्चामा आएका नेता हुन् ।

त्यसैगरी यसै क्षेत्रमा पूर्वसांसद नरेन्द्र साह स्वतन्त्र रूपमा खडा भएका छन् । साह २०७० सालको निर्वाचनमा तमसपाबाट समानुपातिक सभासद् बनेका थिए । उनी स्थानीय स्तरमा विकास निर्माणको काम गर्ने नेताका रूपमा परिचित छन् ।

स्थानीय तहको मतपरिणामअनुसार वाम गठबन्धनअन्तर्गत ३५ हजार ५१, राजपा फोरम गठबन्धनको १७ हजार ४ सय ३४ तथा कांग्रेसको १३ हजार ७३२ मत रहेको छ ।

वाम गठबन्धनलाई बागीको चिन्ता

माओवादी केन्द्रका केदार खत्रीले बागी उम्मेदवारी दिएपछि ३ नं. क्षेत्रमा वाम गठबन्धनलाई टाउको दुःखेको छ । २०६४ को निर्वाचनमा माओवादी उम्मेदवारका रुपमा ७ हजार १५ मतका साथ तेस्रो स्थान प्राप्त गरेका खत्री माओवादीका युद्धकालीन नेता हुन् । खत्रीले बागी दिएपछि ‘नवमाओवादी’ का रुपमा उम्मेदवार बनेका रामेश्वर रायलाई ठूलो धक्का पुग्ने आकलन गरिएको छ ।

त्यसैगरी प्रतिनिधिसभा ३ को प्रदेशसभा (क) मा वामगठबन्धनबाट एमालेका डिल्लीप्रसाद उप्रेती र कांग्रेसका कपिलमुनि मैनालीबीच प्रतिस्पर्धा हुने देखिएको छ । ५५ हजार ५४० मतदाता रहेको यस क्षेत्रमा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका मैनाली र एमालेका उप्रेती घरदैलोमा व्यस्त छन् । दुवैजना हरिवन नगरपालिका निवासी हुन् । त्यस्तै यस क्षेत्रमा राजपा–फोरम गठबन्धनले भने कुसुमकुमार महतोलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै ४४ हजार २४६ मतदाता रहेको प्रदेशसभा ३ (ख) मा १५ जनाले उम्मेदवारी दिए पनि कांग्रेसका कृष्णदेव यादव, वाम गठबन्धनबाट माओवादीका रामबाबुप्रसादसिंह कुशवाह र राजपा–फोरमबाट फोरमका सञ्जयकुमार यादवबीच प्रतिस्पर्धा हुने देखिन्छ।

पटक–पटक आमनेसामने

९२ हजार ५४४ मतदाता रहेको साबिक ६ नं. क्षेत्रको सबै भूभाग एवं साबिक ५ नं. क्षेत्रका केही भूभाग मिलेर बनेको हालको ४ नं. क्षेत्रमा प्रतिनिधिसभातर्फ १६ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका अमरेशकुमार सिंह उम्मेदवार भएका छन्। २०७० को निर्वाचनमा ६ नं. क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सिंह बिरासत जोगाउने कसरतमा छन् भने उनीसँग २०६४ सालदेखि निरन्तर आमनेसामने हुँदै आएका शिवपुजन रायले वाम गठबन्धनअन्तर्गत माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन् । राय २०६४ सालको निर्वाचनमा राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर तथा कांग्रेसका सिंहलाई पराजित गर्दै मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट निर्वाचित भएका थिए । २०७० सालमा भने कांग्रेसका सिंहले जित हासिल गरेका थिए ।

                कांग्रेसका सिंह र ३ वटा चुनावमा ३ वटै भिन्नाभिन्नै दलबाट उम्मेदवार भएका रायबीच यसपटक कडा टक्कर हुने आकलन गरिएको छ । विद्यालय भवन निर्माण, सडक मर्मतसहित कालोपत्रे, एम्बुलेन्स वितरणलगायत विभिन्न विकास निर्माणका काम गर्दै आएकाले आफूले जित्ने दाबी सिंहको छ ।

यस क्षेत्रमा राजपा–फोरम गठबन्धनबाट राजपाका राकेशकुमार मिश्रको उम्मेदवारी परेको छ । मिश्र स्थानीय स्तरमा त्यति सारो नभिजेकाले सिंह र रायबीचमा नै कडा प्रतिस्पर्धा हुने जानकारहरु बताउँछन् ।

यस क्षेत्रमा स्थानीय तहको मत परिणामअनुसार सबैभन्दा बढी कांग्रेसको २० हजार ७१६ मत रहेको छ भने वाम गठबन्धनको २१ हजार ३९३ मत रहेको छ । राजपा–फोरम गठबन्धनको भने १७ हजार ४३४ मत छ ।

प्रतिनिधिसभा ४ को प्रदेशसभा (क) मा कांग्रेसबाट वीरेन्द्रप्रसाद सिंह, वाम गठबन्धनबाट माओवादी केन्द्रका फकिरा महतो र राजपा–फोरम गठबन्धनबाट राजपाका रामबाबु रायबीच प्रतिस्पर्धा हुने देखिएको छ । फकिरा २०७० सालको निर्वाचनमा सद्भावना पार्टीका तर्फबाट साबिक ६ नं. क्षेत्रबाट पराजित भएका थिए । ४६ हजार २७२ मतदाता रहेको यस क्षेत्रमा २१ जनाले उम्मेदवारी दर्ता गराए पनि फकिरा र सिंहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यस्तै प्रदेशसभा ४ (ख) मा कांग्रेसका उपेन्द्र कुशवाह, राजपा–फोरमबाट राजापका केदारनन्दन चौधरी र वाम गठबन्धनबाट माओवादीका रासनारायण रायसहित १८ जनाले उम्मेदवारी दिएका छन् । ४६ हजार २७२ मतदाता रहेको यस क्षेत्रमा कुशवाह, चौधरी र रायबीच त्रिपक्षीय भिडन्त हुने देखिएको छ । चौधरी २०७० मा तमलोपाबाट निर्वाचित समानुपातिक सभासद् हुन् भने राय जिल्ला विकास समितिका पूर्वसभापति हुन्।

 

प्रकाशित: ६ मंसिर २०७४ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App