८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौंमा चुनावी अभियान तीव्र

कांग्रेस घरदैलो र कोणसभामा

काठमाडौं– नेपाली कांग्रेस काठमाडौंले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचार तीव्र बनाएको छ। पहिलो चरणमा आन्तरिक छलफलपछि कांग्रेसले काठमाडौंका दसै निर्वाचन क्षेत्रमा घरदैलो सुरु गरेको हो।

मंसिर १२ गतेभित्र सबै निर्वाचन क्षेत्रमा घरदैलो सक्ने योजनामा रहेको काठमाडौं कांग्रेसका सभापति कृष्ण बानियाँ (सबुज) ले जानकारी दिए । ‘दसै निर्वाचन क्षेत्रमा घरदैलो र कर्नर बैठकहरु भइरहेको छ,’ बानियाँले नागरिकसँग भने, ‘घरदैलो कार्यक्रम सकिएपछि कोणसभासहितका कार्यक्रम अघि बढाउँछौं ।’

पार्टीबाट प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार मात्र नभएर दसै निर्वाचन क्षेत्रका नेताकार्यकर्ता, शुभेच्छुक र समर्थकसमेत कांग्रेसलाई जिताउन सक्रिय रहेको उनले दाबी गरे । ‘बिहान र साँझ घरदैलो भएका निर्वाचन क्षेत्रमा दिउँसो कर्नर बैठक राख्ने र दिउँसो घरदैलो भएका ठाउँमा बिहानबेलुका बैठक गरेर समीक्षा गर्ने काम भइरहेको छ,’ उनले भने ।

कांग्रेसले दोस्रो संविधानसभा निर्वाचनमा दसमध्ये आठ निर्वाचन क्षेत्रको नतिजा आफ्नो पक्षमा पारेको थियो । तर आगामी निर्वाचनमा दोस्रो संविधानसभामा भन्दा पनि राम्रो परिणाम ल्याउने दाबी काठमाडौं कांग्रेसले गरेको छ ।

‘काठमाडौंका जनता एकदलीय निरंकुशताका पक्षमा छैनन्,’ बानियाँले भने, ‘दोस्रो संविधानसभामा भन्दा कांग्रेसले बढी क्षेत्रमा जित निकाल्छ ।’

नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलपछि कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी समीकरण बनाएको छ । राप्रपालाई काठमाडौंका क्षेत्र नम्बर सातमा सघाउँदै कांग्रेसले नौ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

मतदातासँग भेटघाटमा एमाले

नेकपा एमालेले काठमाडौंमा उम्मेदवार र मतदाताबीच प्रत्यक्ष संवाद हुने गरी साना साना कार्यक्रमलाई प्राथमिकतामा राखेर चुनावी अभियान सञ्चालन गर्दै आएको छ ।

एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेर संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरी अभियान सञ्चालन गर्दै आएको छ।

एमालेले काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

शाक्यले प्रत्येक मतदातासँग एकपटक उम्मेदवारबीच भेटघाट हुने गरी कार्यक्रमलाई  प्राथमिकता राखेर दसवटै निर्वाचन क्षेत्रमा कार्यक्रम अघि बढाइएको बताए ।

‘घरदैलो, कोणासभा र कोठे बैठकहरुमा  उम्मेदवार र मतदाताबीच प्रत्यक्ष रुपमा अन्तरक्रिया हुने गरी कार्यक्रम सञ्चालन भइरहेको छ,’ शाक्यले भने, ‘ठूला कार्यक्रमलाई भन्दा सानासाना कार्यक्रमहरुमार्फत मतदातामक्ष पुगेका छौं ।’

मतदाताको मनस्थितिमा आएको परिवर्तनअनुसार निर्वाचनका कार्यक्रम सञ्चालन हुने एमालेका प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताए । उनले निर्वाचनमा प्रचारका पुरानो तरिकालाई पनि नछाड्ने र नयाँ प्रविधि प्रयोग गरेर अघि बढ्ने काम भइरहेको बताए 

‘पहिलो पार्टीले उठाएपछि त्यसैलाई मतदाताले मत दिएर जिताउने गरेका थिए । तर अहिले मतदाताहरुले आफूले जिताएको मानिसले चिनोस् र सुखदुःखमा साथ देओस् भन्ने चाहन्छन्,’ थापाले भने, ‘त्यसैले मतदातासँग प्रत्यक्ष अन्तरक्रिया र चिनजान हुने गरी सानो साना कार्यक्रमलाई अघि बढाएका छौं । यसमा परम्परागत र नयाँ प्रविधि दुवैको प्रयोग भइरहेको छ ।’

प्रकाशित: ६ मंसिर २०७४ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App