७ वैशाख २०८१ शुक्रबार
राजनीति

अन्तिम कसरतमा उम्मेदवार

निर्वाचन सामग्री लिएर मतदान केन्द्र जाँदै ताप्लेजुङका कर्मचारी। तस्बिर: खगेन्द्र अधिकारी

विराटनगर- प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रदेश नम्बर १ का सात पहाडी जिल्लामा चुनावी अभियान अन्तिमतिर पुगेको छ । मौन अवधि शुक्रबारअघि नै उम्मेदवारले मतदातालाई रिझाउन सबै प्रयास थालेका छन्। निर्वाचन कार्यालयले पनि प्रत्येक बुथमा मतदान समाग्री र कर्मचारी पठाउन सुरु गरेको छ।

                प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, भोजपुर, संखुवासभा, खोटाङ, ओखलढुंगा र सोलुखम्बुमा आइतबार मतदान हुँदैछ। प्रदेश नम्बर १ को मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, उदयपुर र तेह्रथुममा दोस्रो चरणअन्तर्गत मंसिर २१ गते मतदान हुँदैछ। चुनाव प्रचारका क्रममा भोजपुर र संखुवासभामा उम्मेदवार लक्षित आक्रमण भएपछि पहिलो चरणमा हुने निर्वाचनका जिल्लामा सुरक्षा व्यवस्था मजबुत पारिएको प्रदेश नम्बर १ प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । सबै जिल्लामा तीन घेरा सुरक्षामा मतदान हुने सो कार्यालयले जनाएको छ ।

दलको अन्तिम कसरत

                भोजपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङनामका अनुसार मतदान अधिकृतलाई तालिम दिने र मतपत्र पठाउने काम भइरहेको छ । निर्वाचनका लागि भोजपुरमा ११ सयभन्दा बढी कर्मचारी खटिएका छन् ।

                मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तीन दिनभित्रमा तालिम दिई सम्बन्धित क्षेत्रमा खटाइनेछ । निर्वाचन सुरक्षित बनाउन अन्यत्रबाट ठूलो संख्यामा सुरक्षाकर्मी झिकाइएको छ । निर्वाचनमा अति संवेदनशील, संवेदनशील ठाउँलाई विशेष सुरक्षा निगरानीमा राखिएको छ । भोजपुरका ८७ वटा मतदान स्थलका १ सय ४८ वटा मतदान केन्द्रमा १ लाख १३ हजार मतदाता छन् ।

                उम्मेदवारहरु भने मत माग्न गाउँ केन्द्रित भएका छन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन आफ्नो मत बचाउने र अरुको मत खोस्ने रणनीतिमा जुटेका छन् । प्रदेश (क) मा सबैभन्दा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अन्तिम समयमा उमेदवारहरु घरदैलो र चुनावी कार्यक्रममा व्यस्त बनेको तरुण दल भोजपुरका सचिव ज्योति पौडेलले बताए ।           उम्मेदवारहरुले एकै दिनमा तीनचार वटा कार्यक्रममा समेत सहभागी हुने गरेका छन् । चुनाव आउन केही दिन मात्र बाँकी रहेकाले गाउँगाउँमा रहेर मतदातासँगको भेटघाट तीव्र पारिएको एमाले प्रचार विभाग प्रमुख मक्कर खड्का बताए

खटिए कर्मचारी

                मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सम्बन्धित मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी पठाउन थालेको छ ।

                ताप्लेजुङका १ सय १४ मतदान केन्द्रमध्ये ५५ मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी पठाइसकिएको छ । सहायक निर्वाचन अधिकृत गोपालप्रसाद थापाका अनुसार बुधबारभित्रमा मतदान सामग्री र कर्मचारी सदरमुकामबाट सम्बन्धित मतदान स्थलसम्म पठाइसकिनेछ ।

                दुर्गम क्षेत्रका याङ्मा, घुन्सा, ग्याब्ला, ओलाङ्चुङगोला, पापुङको किलिङ र कालीखोलाको हरिसेलगायतका स्थानका लागि पठाइने मतदान सामाग्री सम्बन्धित कर्मचारीलाई जिम्मा लगाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान सामग्री र कर्मचारीको साथमा सुरक्षाकर्मी पनि परिचालन हुनेछन् । 

                संखुवासभामा पनि मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्मचारीहरु मतदान स्थल पुग्न थालेका छन् । १ सय ३ मतदान स्थलका १ सय ५३ केन्द्रका लागि निर्वाचन सामग्रीसहित कर्मचारीहरु मतदान स्थलमा शनिबारदेखि पठाउन सुरु गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले बताए ।

                निर्वाचनका लागि १ सय ५३ मतदान अधिकृत र मतदान सहायक अधिकृतसहित १२ सय ९ जना कर्मचारी खटाइएको छ । उनीहरुलाई कडा सुरक्षाका बीच मतपत्र, मतपेटिका, छेकाबारालगायतका सामग्री सहित तोकिएका स्थलमा पठाइएको प्रहरी नायब उपरीक्षक सन्तोष खड्काले बताए । मतदान अधिकृत र मतदान सहायक अधिकृतसहित निर्वाचनका सामग्री लिएर सुरक्षाको टोलीले स्कटिङ गरी मतदान स्थलसम्म पु¥याउने काम भइरहेको खड्काले बताए ।

                सुरुमा जिल्लाकै विकट र टाढा रहेको भोटखोला गाउँपालिकाका विभिन्न मतदान स्थलहरुमा टोली पठाइएको छ । त्यस्तै मकालु गाउँपालिका र मादी नगरपालिकामा पनि टोली पठाएको राउतले बताए । नजिकैका र यातायात सञ्चालन हुने स्थानमा बुधबारसम्ममा टोली खटाइसकिने राउतले बताए ।

उम्मेदवारको अन्तिम दौडधुप

पाँचथरका उम्मेदवारहरुले चुनावी अभियान तीव्र पारेका छन् । उनीहरु अन्तिम समयमा चुनावी ‘सेटिङ’ मिलाउन व्यस्त छन् ।

दैनिक पाँच/छ वटा चुनावी कार्यक्रम भ्याउनुपर्ने अवस्था रहेको उम्मेदवार बताउँछन् । साना कर्नर मिटिङ, साना कार्यक्रम तथा आमसभालगायतका कार्यक्रममा नेताहरुको व्यस्तता बढेको छ । लोकतान्त्रिक गठबन्धनले साना कार्यक्रमलाई बढी प्राथमिकता दिएको छ ।

                नेपाली काग्रेस,  राप्रपा र राप्रपा प्रजातान्त्रिकको गठबन्धनबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका भीष्मराज आङदेम्बे, प्रदेश १ मा काग्रेसकै नरेन्द्र केरुङ र २ मा सुरेन्द दाहाल उम्मेदवार छन् ।

                वाम गठबन्धनले भेटघाट र सभामा ध्यान दिएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज हर्क नेम्वाङले जानकारी दिए । वाम गठबन्धनमा प्रतिनिधिसभामा एमालेका वसन्तकुमार नेम्बाङ, प्रदेश १ मा एमाले गणेश काम्वाङ र प्रदेश २ मा माओवादीका इन्द्र आङबो मैदानमा छन् ।

(खगेन्द्र अधिकारी/ताप्लेजुङ, गिरिराज बाँस्कोटा/पाँचथर, एक्सन राई/भोजपुर र मेघराज तामाङ/संखुवासभाको सहयोगमा)

 

 

प्रकाशित: ६ मंसिर २०७४ ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App