८ वैशाख २०८१ शनिबार
खेल

प्रशिक्षक केसी फर्के थ्री स्टारमै

काठमाडौं- नैतिकताको कारण देखाउँदै रुस्लान थ्री स्टार क्लब छोडेका प्रशिक्षक मेघराज केसी चार वर्षपछि पुनः सोही जिम्मेवारीमा फर्केका छन्। २०६९ भदौ ६ मा एनसेल कपमा समूह चरणको दोस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १–० ले पराजित भएपछि उनले भनेका थिए, 'नाम चलेका खेलाडीबाट थ्री स्टार जस्तो क्लबलाई नतिजा दिन नसकेपछि त्यसको जिम्मा मैले लिनैपर्छ।'

उनले त्यति बेला भनेका थिए, 'मैले खेलका दौरान क्लब छाड्ने निर्णय लिएको हुँ। मैले क्लब आएर धेरै राम्रो अवसर पाएँ। त्यसका लागि क्लबलाई धन्यवाद।'

उनले २०६७ मा क्लब सम्हालेको वर्ष ब्रिटिस गोर्खा कप जिताएका थिए। प्रशिक्षण जीवनमा पहिलोपटक त्यही ब्रिटिस गोर्खा कपमा उत्कृष्ट प्रशिक्षक चुनिएका केसीले थ्री स्टारलाई बुढासुब्बा, आहा, उदयपुर र भीमनारायाण गोल्डकप जिताएका थिए। 

अर्को महिना हुने एएफसी कप प्लेअफ छनोटअघि केसी फेरि थ्री स्टारमा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न पुगेका छन्। 'मैले क्लब छोडे पनि सम्बन्ध बिगारेर गएको थिइनँ। व्यावसायिक जीवनमा यस्ता निर्णय लिइन्छ,' उनले भने, 'त्यसमा व्यक्तिगत रिसिइबी हुन्न। व्यावसायिक फुटबलमा आउने–जाने क्रम स्वाभाविक हो।'

त्रिभुवन आर्मी क्लबसँगको दुईवर्षे सम्झौता वैशाखमा सकिएपछि उनी फुर्सदमा थिए। यसै बेला थ्री स्टारले क्लब हेर्न आग्रह गरेपछि उनको खुसीको सीमा रहेन। 'आर्मीलाई दोस्रो स्थान पुर्‍याएँ। लिग जित्ने क्लबले अफर दियो,' ४३ वर्षे केसीले भने, 'क्लबले मलाई विश्वास गर्‍यो। यो मेरा लागि गौरवको विषय हो। मलाई एकदमै खुसी लागेको छ। सँगै चुनौती पनि त्यत्तिकै छ।'

चार वर्षपछि थ्री स्टार फर्कंदा आफू अझै परिपक्व र अनुभव लिएर फर्केको केसी बताउँछन्। 'थ्री स्टार छाडेर फ्रेन्ड्स गएँ, लिगमा चौथो भयौं। त्यसपछि आर्मी गएँ,' उनले स्मरण गरे, 'झन्डै दशकपछि आर्मीले पाँचवटा उपाधि जित्यो। थ्री स्टारमै हुँदा राष्ट्रिय टोलीको सहायक प्रशिक्षक बनँे। यी सबै मैले प्राप्त गरेका अनुभव हुन्। अझै खारिएर फर्केको छु भन्ने विश्वास छ।'

विगतमा भन्दा आत्मविश्वासको स्तर बढेको उनको दाबी छ। 'म पहिलोपटक थ्री स्टारमा जाँदा अलिक कमजोर मानसिकता थियो। ठूलो क्लबमा नतिजा दिन सकिन्न कि भन्ने डर थियो,' आत्मविश्वासी हुँदै उनले भने, 'अब विगतजस्तो अवस्था छैन। निर्णय लिन संकोच मान्नुपर्ने अवस्था छैन।'

थ्री स्टारमा अहिले फर्कंदा पहिलाभन्दा पनि बढी अपेक्षा गर्नुलाई उनी स्वाभाविक मान्छन्। 'पछिल्लो चारवर्ष मेरो काम देखेर नै थ्री स्टारले फेरि मलाई मौका दिएको छ,' उनको दृढता थियो, 'थ्री स्टार जुन स्तरको टोली हो त्यो भन्दा अझै माथि लाने मेरो जिम्मेवारी हो। म त्यसका लागि हरसम्भव प्रयास गर्नेछु।'

पहिलो पटक 'सी' लाइसन्स मात्र गरेका केसीले अहिले 'ए' लाइसेन्स कोर्स लिएका छन्।

पहिलोपटक आयोजना हुन लागेको एएफसी कपको छनोट चरण प्रशिक्षकका रूपमा टोलीको नेतृत्व गर्नु पाउनुलाई उनी जीवनको एउटा महŒवपूर्ण अवसर ठान्छन्। उनले भने, 'मैले त्यसमा खरो उत्रनु छ।'

एक वर्षदेखि स्थानीय फुटबल नहुँदा माथिल्लो स्तरको फुटबल खेल्न सक्ने उनको नजरमा ४० को हाराहारीमा छन्। 'ती मध्ये धेरै विभागीय टोलीमा। केही मनाङ मर्स्याङ्दीमा छन्,' उनले भने, 'बाँकी रहेका खेलाडी हामीले लिएका छौं।' अहिले नयाँ खेलाडी लिन क्लबले उनकै सल्लाहबमोजिम लिएको थियो।

'फुटबल गतिविधि ठप्प हुँदा खेलाडीको फिटनेस लेभल ह्वात्तै घटेको छ। मैले पछिल्लो तीन साता त्यसमै बढी काम गरेको छु। अझै एक साता त्यसमै जान्छौं,' उनले योजना सुनाए, '९० मिनेट खेल्न सक्ने भएपछि मात्र ट्याक्टिसको कुरा आउँछ। अन्तिम साता हामी ट्याक्टिसमा काम गर्नेछौं।' केसीलाई प्रशिक्षणमा रवीन्द्र सिल्पकारले सघाउने छन्।

एएफसी कपमा थ्री स्टार क्लब समूह 'बी’ मा आयोजक मंगोलियाको इर्चिम फुटबल क्लब र कम्बोडियाको नागावोर्ल्ड फुटबल क्लबसँग छ।  थी स्टारले भदौ ५ मा इर्चिम र त्यसको दुई दिनपछि नागावोर्ल्डसँग प्रतिस्पर्धा गर्नेछ। तीन समूहमा विभाजन गरिएको प्लेअफमा ९ टोली छन्। समूह विजेता अर्को चरण पुग्नेछ।

केसी थ्री स्टार अघिल्लो चरण पुग्नेमा आशावादी छन्। 'मैले इर्चिम र नागाबोर्ल्डका बारेमा जति जानकारी पाएको छु। ती टोली पनि हामीभन्दा धेरै माथिका होइनन्,' उनको विश्वास छ, 'हामीसँग अझै केही समय छ। यसबीच हामीले धेरै मिहिनेत गर्नुछ। मलाई आशा छ हामी दोस्रो चरण पुग्नेछौं।' तयारी मापनका लागि शुक्रबार थ्री स्टारले घरेलु प्रतिद्वन्द्वी एपिएफ क्लबसँग मैत्रीपूर्ण खेल खेल्दैछ।

प्रकाशित: २० श्रावण २०७३ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App