coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मतदानकेन्द्र तर्फ जाँदै निर्वाचन कर्मचारी

खोटाङ– खोटाङमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कर्मचारी मतदान केन्द्र खटिन थालेका छन्। मत पेटिका, मतपत्र, नङमा लगाउने मसी, स्ट्याम्प प्याड लगायतका ६४ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको समूह मतदान केन्द्रतर्फ खटिन थालेका हुन्। मंसिर १० गते हुने निर्वाचनलाई सफल बनाउनका लागि सोमबारदेखि निर्वाचन सामग्री सहितका कर्मचारी मतदान केन्द्रतर्फ पठाउन थालिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए।

सदरमुकाम दिक्तेलबाट टाढा पर्ने मतदान केन्द्रमा खटिएका अधिकांश कर्मचारी हिँडिसकेका छन् । जन्तेढुंगा गाउँपालिकामा निर्वाचन सामग्री सहितका कर्मचारी पुगिसकेका छन्। यस्तै, बराहपोखरी, खोटेहाङ, केपीलासगढी, ऐसेलुखर्क गाउँपालिकाभित्रका मतदान केन्द्रमा खटिएका कर्मचारी पनि निर्वाचन सामग्री बुझेर सदरमुकाम दिक्तेलबाट हिँडिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ गाउँपालिका लगायतका नजिकका पालिकामा खटाइएका कर्मचारीले पनि निर्वाचन सामग्री बुझिरहेका छन्। हाल जिल्ला प्रहरी कार्यालयमा निर्वाचन सामग्री बुझ्ने कर्मचारीको भिड लागेको छ । कतिपय कर्मचारी बसमार्फत तथा कतिपय कर्मचारी ट्याक्टरमा सामग्री हालेर मतदान केन्द्रतर्फ गइरहेका छन्। कार्यक्षेत्र तोकिएका कर्मचारी निर्वाचन सामग्री सहित मंसिर ७ गतेभित्र मतदानस्थलमा पुग्नेगरी मतदान केन्द्रतर्फ प्रस्थान गरेको निर्वाचन अधिकारी खत्रीले बताए। ‘निर्वाचनका लागि सोमबारदेखि कर्मचारी मतदान केन्द्र जान थालेको छ,’ खत्रीले भने, ‘मंसिर ७ गतेभित्र मतदान केन्द्रमा पुग्नेगरी कर्मचारी सम्वन्धित केन्द्रमा जानेक्रम जारी छ।’

आसन्न निर्वाचनका लागि १३६ मतदान स्थल र १७९ मतदान केन्द्र तोकिएको खोटाङमा १ हजार ४३२ कर्मचारी खटाइएका छन्। हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत सहित ८ जना कर्मचारी र सुरक्षाकर्मीको टोली खटाइएको छ । आसन्न निर्वाचनमा जिल्लाका १ लाख २५ हजार १८३ मतदाता सहभागी हुँदैछन्।

प्रकाशित: ५ मंसिर २०७४ १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App