coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘चुनाव चिह्न’ हेरेर मत दिन बाध्य मतदाता

रसुवा- निर्वाचनका समयमा उम्मेदवार भोट माग्न नजाँदा रसुवाको लाङटाङका मतदाता ‘चुनाव चिह्न’ हेरेर भोट हाल्ने भएका छन् । सडक सञ्जालले नजोडिएको पर्यटकीय क्षेत्र लाङटाङमा विगतमा भएका निर्वाचनमा पनि उम्मेदवार पुगेका थिएनन् । २०५६, २०६४ र २०७० सालमा भएका निर्वाचनमा समेत भोट माग्नका लागि उम्मेदवार नपुग्दा निर्वाचन चिह्न हेरेरै लाङटाङवासीले मत हालेका थिए ।
यसअघि स्थानीय तह निर्वाचनमा भने लाङटाङकै उम्मेदवार भएका कारण सहज भए पनि यो पटक उम्मेदवार नपुग्दा मतदाता अलमलमा छन् ।
भोट माग्नका लागि कुनै पनि राजनीतिक दलको उपस्थिति नहुने र चुनाव जितिसकेपछि पनि उम्मेदवार नपुग्ने गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङका दावा तामाङले बताए । उनले भने, ‘निर्वाचनमा भोट हाल्छौं, जितेपछि कहाँ जान्छन् हामीलाई थाहा नै हुँदैन ।’ अहिलेसम्म जितेका उम्मेदवारले गाउँमा कुनै योजना नल्याएको उनले गुनासो गरे ।
सदरमुकाम धुन्चेबाट करिब दुई दिन पैदल हिँडेर पुग्नुपर्ने भएकाले उम्मेदवार त्यस क्षेत्रमा जान नमानेका हुन् ।  निर्वाचन प्रचारको समय छोटो हुने भएकाले समय अभावका कारण त्यस क्षेत्रमा पुग्न कठिनाइ भएको नेताहरूले बताए ।
सुरक्षाको दृष्टिले अतिसंवेदनशिलभित्र पर्ने लाङटाङमा दुई सय ९२ मतदाता छन् । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार लाङटाङ, क्यानजिन र मुण्डुपमा एक सय ३९ पुरुष र एक सय ५३ महिला गरी दुई सय ९२ मतदाता रहेका छन् ।
उक्त क्षेत्रमा मतदाता शिक्षा कार्यक्रमसमेत पुग्न नसकेको स्थानीय बताउँछन् । लाङटाङका सुप्पा तामाङका अनुसार त्यस क्षेत्रमा अहिले मतदाता शिक्षाको नाउँमा पोस्टर टाँस्नेबाहेक अन्य काम भएको छैन ।
स्थानीय तह निर्वाचनका बेला मतदानका दिन करिब ४ घण्टा सम्पर्कविहीन भएको त्यस ठाउँबाट मतपेटिका ल्याउन समस्या हुने गरेको छ । व्यक्तिले बोकेर ल्याउनका लागि सुरक्षाका दृष्टिकोणले कठिन हुने र हेलिकोप्टरबाट ल्याउनका लागि प्रतिकूल मौसम समस्या हुने देखिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनका लागि मंगलबारदेखि त्यहाँ कर्मचारी खटाइनेछ ।
बाटोको म्याद हेरेर मंसिर ७ गते प्रत्येक निर्वाचन क्षेत्रमा पुगिसक्ने गरेर कर्मचारी खटाइने भएकाले लाङटाङमा मंगलबारदेखि नै कर्मचारी खटाउन लागिएको हो ।

प्रकाशित: ५ मंसिर २०७४ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App