७ वैशाख २०८१ शुक्रबार
राजनीति

चुनाव जितेर फड्को मार्ने दाउमा नयाँ अनुहार

इटहरी- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुनसरीबाट राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेता प्रतिस्पर्धामा उत्रिएकाले चासोका साथ हेरिएको छ । यहाँबाट दुई बहालवाला मन्त्री, एक राज्यमन्त्री र नाम चलेका नेता चुनावी प्रतिस्पर्धामा उत्रिएकाले सबैको चासो बढेको हो । सुनसरीमा पुराना नेता विजयी भएर साख जोगाउने रणनीतिमा छन् भने नयाँ उम्मेदवार चुनाव जितेर राजनीतिमा फड्को मार्ने दाउमा छन् ।

सुनसरीमा पुराना नेता विजयी भएर साख जोगाउने रणनीतिमा छन् भने नयाँ उम्मेदवार चुनाव जितेर राजनीतिमा फड्को मार्ने दाउमा छन् ।

प्रदेश नं. १ को भाबी राजधानीका रुपमा चर्चा चलेका इटहरी र धरानसमेत सुनसरीमै परेकाले गर्दा यतिबेला चुनाबी सरगर्मी बढेको छ । नेपाली कांग्रेसले विगतमा गुमेको साख फर्काएरै छाड्ने रणनीति बनाएको छ । वाम गठबन्धन एमाले र माओवादी केन्द्र पनिसाख गुम्न नदिई विजयी हुने दाउमा छन् । संघीय समाजवादी फोरम नेपाल आशावादी भएर मैदानमा उत्रिएको छ ।
सुनसरीमा ०४८ को आमनिर्वाचन, ०५१ सालको मध्यावधि र ०५६ सालको संसदीय निर्वाचनमा कांग्रेसले जितेको थियो । ०६४ को संविधानसभा निर्वाचनमा माओवादीले एक, एमालेले दुई र फोरम नेपालले तीनवटा क्षेत्र जितेको थियो । दोस्रो संविधानसभा निर्वाचनमा एमालेले तीन, मधेसी दलले दुई र कांग्रेसले एउटा निर्वाचन क्षेत्र जितेको थियो ।
प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारमध्ये क्षेत्र नं. १ का उम्मेदवारले प्रदेशको राजधानी धरान र अरु क्षेत्रकाले इटहरीलाई बनाउने माग राखेर मतदातासमक्ष मत माग्न व्यस्त छन् । यसपटक क्षेत्र घटेर चारवटामा सीमित भएकाले प्रायः सबै उम्मेदवारले मतदातासँग भौतिक पूर्वधार, शैक्षिक विकास, स्वास्थ्य, कृषि, पर्यटन र बाढीपीडितलाई राहतजस्ता अजेन्डा अघि सारेर मत माग्न व्यस्त छन् ।

क्षेत्र नं. १
नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले २०४८ सालमा चुनाव जितेपछि एमालेको वर्चस्व रहेको क्षेत्र नं. १ मा यसपटक संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई कांग्रेससँगको तालमेलमा प्रतिस्पर्धामा छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाहेक अन्य सबै निर्वाचनमा एमालेले जित्दै आएको यो क्षेत्रमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार जयकुमार राई मैदानमा छन् ।
अशोक एमालेमा छँदा प्रभावशाली नेता थिए भने उनी मन्त्रीसमेत भएका थिए । जयकुमार जिल्ला कमिटी सदस्य र धरान उपमहानगरपालिका सहइन्चार्ज हुन् ।  
विगतमा आफैंले मलजल गरेको र संगठन विस्तार गरेको क्षेत्रमा जनताले विश्वास गर्ने आशामा छन् अशोक । जयकुमार भने एमालेको संगठन मजबुत हुनु र अर्को माओवादीसमेत गठबन्धनमा रहेकाले गर्दा सहजै जित निकाल्ने दाउमा छन् ।
‘राष्ट्रिय राजनीतिकको छवि बनाएको र जातीय ढंगले राई र नेवार समुदायको मत बढी अशोकका पक्षमा आउने आशा छ, जसले गर्दा जित निस्किनेछ,’ संघीय समाजवादी फोरम नेपालका चुनाव परिचालन समितका संयोजक ध्यानबहादुर राईले भने, ‘संगठनको तागतले मात्र हँुदैन । मतदाताले छनोट बदल्छन् ।’
कांग्रेसका चुनाव परिचालन समितिका विनोद राईले पनि संगठनका हिसाबले वाम गठबन्धन बलियो भए पनि यसपटक ‘ब्रेक’ गर्ने ढंगले अघि बढेको बताए । ‘वाम गठबन्धनको मोर्चा ब्रेक गर्ने ढंगले सक्रिय रुपमा जुटेका छौं,’ उनले भने, ‘हाम्रो मोर्चा पनि जित्ने रेसमा छ ।’
वाम गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक प्रकाश राईले जातीय मुद्दालाई प्राथमिकता दिने फोरम नेपालका अशोकसँगको प्रतिस्पर्धा र एमालेको संगठन बलियो हुँदा झनै सहज भएको जिकिर गरे । वाम गठबन्धनकै माआवोदी केन्द्रका नेता मुक्साहाङ् म्याङ्वोले वामपन्थी गठबन्धनले ऊर्जा थपेको र चुनावलगत्तै एकता हुने कुराले गर्दा संगठित भएर चुनावमा लागेकाले गर्दा जित्ने बताए ।
प्रदेशसभातर्फ क्षेत्र नं. १ (क) बाट वाम गठबन्धनबाट एमालेका प्रदीप भण्डारी र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका किशोर राईबीच प्रतिस्पर्धा हँुदैछ । कांग्रेसले क्षेत्र नं. १ को (क) मा जित्ने आशा गरेको छ । वाम गठबन्धनका भण्डारी पनि नाम चलेका उम्मेदवार हुन् ।
क्षेत्र नं. १ को (ख) मा वाम गठबन्धनबाट एमालेका भीम आचार्य र कांग्रेसका बुद्धि कटवालबीच प्रतिस्पर्धा हुँदैछ । एमाले सचिव आचार्य यसपटक जितेर ह्याट्रिक गर्ने दाउमा छन् । उनले पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं. ६ बाट जितेका थिए ।
 क्षेत्र नं. १ मा धरान उपमहानगरपालिका, बराह नगरपालिकाका वडा नंं. १ देखि ५ सम्म र रामधुनी नगरपालिकाका वडा नं. ६ र ७ समेटिएको छ । क्षेत्र नं. १ मा २०४८ सालमा एमालेका मनमोहन अधिकारी, ०५१ सालमा लीला श्रेष्ठ सुब्बा र ०५६ मा कुन्ता शर्माले जितेकी थिइन् । पहिलो संविधानसभा निर्वाचनमा भने माओवादीका किरण राई र दोस्रो संविधानसभा निर्वाचनमा एमालेकै कृष्णकुमार राईले जितेका थिए । स्थानीय निकायको चुनावमा पाएको मतका आधारमा पनि वाम गठबन्धन बलियो  छ ।  क्षेत्र नं. १ मा एक लाख २२ हजार ६९१ जना मतदाता छन् ।

क्षेत्र नं. २
यस क्षेत्रबाट प्रतिनिधिसभाका लागि कांग्रेसका सीताराम मेहता प्रतिस्पर्धामा छन् । २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नं. ४ बाट विजयी मेहताको वाम गठबन्धनबाट माओवादी केन्द्रका डम्मरु सुवेदी (हिमाल) सँग चुनावी प्रतिस्पर्धा हँुदैछ । मेहता पूर्वराज्यमन्त्री हुन् भने डम्मरु माओवादीका पोलिटब्युरो सदस्य हुन् ।
यहाँ संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभाका उम्मेदवार तेजनारायण चौधरी पनि मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन् । मुख्य प्रतिस्पर्धा भने कांग्रेसका मेहता र वाम गठबन्धनका सुवेदीबीच नै हुने देखिन्छ । यहाँ २०६४ र २०७० दुवै संविधानसभाको निर्वाचनमा एमालेले जितेको थियो । यसपटक एमालेले स्थानीय स्तरमा दाबी गर्दागर्दै क्षेत्र बाँडफाँट गर्दा माओवादी भागमा परेकाले कार्यकर्तामा असन्तुष्टि छ ।
प्रदेशसभातर्फ २ (क) मा एमालेका सर्वध्वज सावा र कांग्रेसका हेमकर्ण पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । सावा इटहरीका पूर्वमेयर हुन् भने पौडेल कांग्रेस इटहरीका सभापति हुन् । दुवै नेता चुनाव स्वच्छ सामाजिक छवि भएका व्यक्तिलाई आफ्नो पक्षमा पार्ने रणनीति लिएर अघि बढेका छन् ।
क्षेत्र नं. २ (ख) मा कांग्रेसका जिल्ला सभापति राजीव कोइराला र एमालेका तर्फबाट रामप्रसाद मेहताबीच प्रतिस्पर्धा हँुदैछ । कोइराला कांग्रेस सुनसरीका दुईपटक सचिव, एक कार्यकाल उपाध्यक्ष हँुदै अहिले दोस्रोपटक सभापति भएका हुन् । मेहता उम्मेदवार मनोनयन गर्ने अघिल्लो दिन कांग्रेसबाट टिकट नपाएपछि एमाले प्रवेश गरेका हुन् ।
पहिलो संविधानसभा निर्वाचन २०६४ मा एमालेका धर्म निरौलाले जितेका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका रेवतीरमण भण्डारीले कांग्रेसका बद्रीनारायण चौधरीलाई हराएका थिए ।
यस पटक निर्वाचन क्षेत्र बदलिएको छ । अहिले क्षेत्र नं. २ मा इटहरी उपमहानगरपालिकाका दसवटा वडा, रामधुनी  र इनरुवा नगरपालिकाका छ–छवटा वडा समेटिएका छन् । यस्तै, देवानगन्ज गाउँपालिका पूरै र हरिनगरा गाउँपालिकाको वडा नं. ३ क्षेत्र नं. २ मा पर्छ । यस क्षेत्रमा एक लाख ३० हजार ७३३ मतदाता छन् ।


क्षेत्र नं. ३
कांग्रेस नेता विजयकुमार गच्छदारले २०४६ सालपछिका कुनै पनि निर्वाचनमा हारेका छैनन् । उनी यसपटक क्षेत्र नं. ३ बाट छैटौंपटक मैदानमा छन् । गच्छदार २०४६ सालपछि बनेका सरकारमा प्रभावशाली मन्त्री बन्दै आएका छन् । २०६४ सालदेखि मधेसवादी दलमा गएका गच्छदार १० वर्षपछि कांग्रेसमा फर्किएर प्रतिनिधिसभाका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।
बहालवाला उपप्रधान तथा स्थानीय विकास मन्त्री रहेका गच्छदारलाई वाम गठबन्धनबाट एमाले वैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरीले टक्कर दिँदैछिन् । भगवती पूर्व वनराज्यमन्त्री हुन् । भगवती जसरी भए पनि गच्छदारलाई हारको स्वाद चखाउने दाउँमा छिन्  । गच्छदार भने विगतमा भन्दा यसपटक सजिलै जित निकाल्ने आशामा छन् । यो क्षेत्रमा कांग्रेसको राम्रो संगठन छ ।
यी दुई बलिया उम्मेदवारबीच मतदातालाई विकासे योजना बाँडेर भोट माग्न व्यस्त छन् । मत माग्ने क्रममा कतिपय स्थानमा गच्छदारलाई भाबी प्रधानमन्त्री र भगवतीलाई प्रभावशाली मन्त्रीका रुपमा प्रस्तुत गर्ने गरिएको छ । संघीय समाजवादी फोरम नेपालका पदम अधिकारी पनि चुनावी अभियानमा सक्रिय छन् ।  
प्रदेशसभामा ३ (क) मा एमालेका लिलम बस्नेत र कांग्रेसका कुमार थापाबीच प्रतिस्पर्धा हुँदै छ । यस्तै ३ (ख) मा एमालेका रामदेव यादव र कांग्रेसका अगमलाल चौधरी मैदानमा छन् । एमालेका बस्नेत उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष हुन् भने यादव जिल्ला कमिटी सदस्य हुन् । इटहरी क्षेत्रमा बस्नेतको प्रभाव देखिए पनि सोनापुर र दुहबी क्षेत्रमा थापाको प्रभाव छ । क्षेत्र नं. ३ मा इटहरीका दसवटा वडा समेटिएका छन् । दुहबी नगरपालिका, गढी र बर्जु पूरै गाउँपालिका यही क्षेत्रमा पर्छ । इनरुवाको वडा नं. ७ पनि क्षेत्र नं. ३ मै समेटिएको छ ।
स्थानीय निकायको निर्वाचनका आधारमा हेर्दा फोरम लोकतान्त्रिक कांग्रेसमा मिसिइसकेकाले वाम गठबन्धनका तुलनामा बलियो छ । क्षेत्र नं. ३ मा एक लाख नौ हजार ९१७ मतदाता छन् ।


क्षेत्र नं. ४
२०४८ सालपछि गिरिजाप्रसाद कोइरालाले तीनपटकसम्म जितेको निर्वाचन क्षेत्र नं. ४ मा यसपटक कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा २०४८, ०५१ र ०५६ मा कोइरालाले जितेका थिए । पहिलो र दोस्रो संविधानसभामा कांग्रेसले यो क्षेत्र निर्वाचन गुमायो । अहिले गुमेको साख फर्काउने अभियानमा कांग्रेस लागेको छ । कांग्रेसका कार्कीलाई एमालेका रमेश श्रेष्ठले टक्कर दिँदैछन् । श्रेष्ठ पूर्वगृहमन्त्री होमबहादुर श्रेष्ठका छोरा हुन् ।
बहालवाला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की गिरिजाप्रसादको र वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ पिता होमबहादुरको विरासत जोगाउने दाउमा छन् । श्रेष्ठका बाबु होमबहादुरले इनरुवासहित आसपासका क्षेत्रमा पञ्चायतकालीन राजनीतिदेखि पकड जमाउँदै आएका थिए । श्रेष्ठ एक वर्षअघि राप्रपाबाट एमालेमा छिरेका हुन् ।  
यी दुई नेतामध्ये कसले बाजी मार्ला सहजै अडकलबाजी लगाउने अवस्था छैन । कांग्रेसले आफ्ना केही असन्तुष्ट कार्यकर्तालाई सम्हाले र फोरम नेपालले प्रतिनिधिसभाका लागि कार्कीलाई सघाउने सहमतिअनुसार दुई पक्षीय तालमेल हुँदा बिरासत थामिने अवस्था छ । श्रेष्ठ पुराना राप्रपा कार्यकर्ताको मन जितेर मत माग्न व्यस्त छन् ।
कांग्रेसका कार्की राष्ट्रिय व्यक्तित्व भएकाले उनलाई भोट दिने उनका समर्थक बताउँछन् । ‘कार्की राष्ट्रिय व्यक्तित्व हुनुहुन्छ । उहाँ अर्थमन्त्री हुँदा क्षेत्र नं. ४ लार्ई नै लक्षित गरेर थुप्रै विकास गर्नुभएको छ,’ काँग्रेस क्षेत्र नं. ४ को चुनाव परिचालन समितिका संयोजक अयुव अनसारीले भने ।
एमाले चुनाव परिचालन समितिका संयोजक बद्री घिमिरे भने कांग्रेसको असन्तुष्ट मत तान्ने प्रयासमा लागेकाले गर्दा सफल हुने दाबी गर्छन् ।  
 २०५६ सालको संसदीय निर्वाचन र ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कार्की भोजपुरबाट पराजित कार्की दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकमा सभासद भए । अहिले उनी कांग्रेसको भावनात्मक सम्बन्ध जोडिएको स्थानबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । श्रेष्ठ जिल्ला विकास समितिका पूर्वसभापति हुन् ।  
क्षेत्र नं. ४ मा प्रदेशसभामा (क) मा वाम गठबन्धनबाट एमालेका जगदीश कुसियत, कांग्रेसका रेवतीरमण दुलाल र संघीय समाजवादी फोरम नेपालका हरिगोविन्द यादवबीच प्रतिस्पर्धा हँुदैछ । ४ (ख) मा वाम गठबन्धनबाट माओवादीका जाकिर हुसैन, कांग्रेसका महम्मद ताहिर मियाँ र संघीय समाजवादी फोरम नेपालका मनोजकुमार यादवबीच प्रतिस्पर्धा हुनेछ ।  
 क्षेत्र नं. ४ मा अहिले बराह नगरपालिकाका वडा नं. ६ देखि ११ सम्मका वडा, रामधुनीको वडा नं. ४, कोसी गाउँपालिका, हरिनगरा गाउँपालिकाका वडा नं. १, २, ४, ५, ६ र ७ पर्छन् । यस्तै, भोक्राहा गाउँपालिका र इनरुवा नगरपालिकाका वडा नं. ३, ४ र ८ क्षेत्र नं. ४ मा गाभिएका छन् । यस क्षेत्रमा एक लाख ११ हजार ४९० छन् ।

प्रकाशित: ५ मंसिर २०७४ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App