coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘निर्वाचनविरोधी जो भएपनि पक्राऊ गर’

काठमाडौं- प्रधानमन्त्री शेर वहादुर देउवाले ‘निर्वाचनविरोधी काम गर्ने जो भए पनि पक्राउ गर्न’ सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सहभागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई निर्देशन दिदै प्रधानमन्त्री देउवाले बम प्रहार र विस्फोटको घटनाले शान्तिसुरक्षाको अवस्थाबारे नकारात्मक सन्देश गइरहेकाले तत्काल सुरक्षाकर्मी परिचालन बढाएर वातावरण सुधार गर्न निर्देशन दिएका हुन् ।

‘सरकारले शान्तिसुरक्षा नै कायम गर्न सक्दैन भनेर प्रचार भइरहेको छ, त्यसलाई चिर्नेगरी काम गर्नुस्, चुनावअगाडि सरकारले दोष पाउने कुनै काम नहोस्-’ प्रधानमन्त्री देउवा

‘सरकारले शान्तिसुरक्षा नै कायम गर्न सक्दैन भनेर प्रचार भइरहेको छ, त्यसलाई चिर्नेगरी काम गर्नुस्,’ प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै बैठकमा सहभागी स्रोतले भन्यो, ‘अन्य राजनीतिक दलले सानो विषयलाई पनि इस्यु बनाउन सक्छन्, चुनावअगाडि सरकारले दोष पाउने कुनै काम नहोस् ।’ विभिन्न स्थानमा भएका बम विस्फोटका घटनामा विप्लव समूह संलग्न रहे पनि सरकारले पक्राउ नगरेको भनेर आलोचना बढिरहेको भन्दै उनले शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै कसर नराख्न निर्देशन दिएका थिए । प्रधानमन्त्री देउवाले विप्लव समूहका नेताकार्यकर्ताबारे सुरक्षा निकायका अधिकारीसँग जानकारी लिएका थिए ।

गम्भीर सुरक्षा चुनौती छैन

गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवासमक्ष चारै सुरक्षा निकायले नेत्रविक्रम चन्द –विप्लव नेतृत्वको समूहले निर्वाचन अगाडि फाट्टफुट्ट हिंसात्मक गतिविधि गराए पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षामा गम्भीर सुरक्षा चुनौती बढाउन नसक्ने निष्कर्ष निकालेका छन् ।
केन्द्रीय सुरक्षा समितिको बैठकमा सहभागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले २०७१ मा एकीकृत रुपमा निर्वाचन भाँड्ने समूह सक्रिय रहँदाको अवस्थाको तुलनामा अहिलेको विप्लवको अवस्था निकै कमजोर रहेको निष्कर्ष निकालेका हुन् ।
दैनिक भइरहेको उम्मेदवारमाथिको आक्रमणपछि सुरक्षा अवस्था कमजोर रहेको भन्दै आलोचना बढेपछि प्रधानमन्त्री देउवा डडेल्धुराबाट फर्किएलगत्तै सोमबार आफ्नो सरकारी निवासमा सुरक्षा समितिको बैठक राखेका थिए । प्रधानमन्त्रीलाई सुरक्षा अवस्थाबारे जानकारी दिन नेपाल प्रहरीका आइजिपी प्रकाश अर्याल, सशस्त्रका आइजिपी सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी बैठकमा पुगेका थिए । सेनाबाट प्रधान सेनापति राजेन्द्र क्षेत्री उपस्थित भएनन् । उनको स्थानमा सेनाका प्रतिनिधि बैठकमा सहभागी भएका थिए । मुख्य सचिव लोकदर्शन रेग्मी र गृहसचिव मोहनकृष्ण सापकोटा बैठकमा सहभागी थिए ।
निर्वाचन सुरक्षाबारे गृहले सात प्रदेशमा सुरक्षा गोष्ठी गरेको थियो । बैठकमा गोष्ठीबाट आएका सुझाव, चुनौती र सुरक्षा रणनीतिमा गर्नुपर्ने फेरबदलबारे समेत समीक्षा भएको थियो । दिनदिनै उम्मेदवारमाथि भइरहेको आक्रमणका कारण प्रतिपक्षी र आफ्नै दलका उम्मेदवारले समेत असुरक्षित महसुस गरिरहेको र सरकारको आलोचना बढेको भन्दै प्रधानमन्त्री देउवाले निर्वाचनविरोधी समूहविरुद्ध भएका सुरक्षा कारबाही र रणनीतिबारे जानकारी लिएका थिए ।
बैठकमा प्रधानमन्त्री देउवाले ‘सुरक्षा अवस्था मजबुत छ भने पनि जिल्लाहरुमा बम पड्किरहेको छ, तपाईंहरुले के गरिरहनुभएको छ’ भन्दै सुरक्षा निकायका प्रमुखलाई प्रश्न गरेका थिए । बैठकमा सहभागी सुरक्षा अधिकारीहरुले निर्वाचनअगाडि अपनाउने सुरक्षा योजनाअनुसार उम्मेदवारको सुरक्षा, निर्वाचन कार्यालयको सुरक्षा, मतदानसम्बन्धी सामग्रीको सुरक्षित ढुवानी, प्रचारप्रसारका क्रममा अपनाउनुपर्ने सुरक्षालगायतमा सुरक्षाकर्मीको संख्या बढाएको जानकारी दिएका थिए ।
निर्वाचनविरोधी गतिविधिमा संलग्न देखिएको विप्लव समूहले मतदानको दिन मतदातालाई प्रभावित बनाउने योजनाअनुसार आपराधिक गतिविधि बढाउन सक्ने भएकाले सोही अनुसार उनको नेता तथा कार्यकर्तामाथि निगरानी र पक्राउ गर्ने क्रम बढाएको जानकारी दिएका थिए । ‘२०७१ को तुलनामा अहिले घटाइएको घटना निर्वाचनविरोधी समूहको उपस्थिति देखाउने प्रयासमात्रै हो, निर्वाचन भाँड्नेगरी शक्ति सञ्चय गरेको र सोही अनुसारको तयारी भएको देखिँदैन ।’ प्रधानमन्त्रीलाई सुरक्षा निकायका प्रमुखले गरेको ब्रिफिङ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘रोल्पा, रुकुम, दैलेख, जाजरकोट, गोरखा, नुवाकोटलगायतका जिल्लामा विप्लव समूहको प्रभाव देखिएकाले सुरक्षा जनशक्ति थप गरेर गस्ती र निगरानी बढाइसकेका छौं ।’
कात्तिक २४ मा सुरु भएको उम्मेदवारविरुद्धको ३४ स्थानमा आक्रमण गरेकोमा नुवाकोट र रुपन्देहीको घटना ठूलो प्रकृतिको रहे पनि अन्य स्थानमा तर्साउन घरेलु विष्फोटक पदार्थ प्रयोग भएको सुरक्षा अधिकारीले जानकारी गराएका थिए । नुवाकोटलगायतका घटनामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्धहरु संलग्न देखिएपछि खोजी र पक्राउको क्रम तीव्र बनाएको र रुपन्देहीको घटनाबारे प्रहरीको विशेष ब्युरोले अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीको तर्फबाट ब्रिफिङ गरिएको थियो ।
‘गृहले बनाएको निर्वाचन सुरक्षा योजनाअनुसार सबै जिल्लामा प्रहरी परिचालन भइसकेका छन्,’ अर्यालले प्रधानमन्त्रीलाई गरेको ब्रिफिङ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सातै क्षेत्रका प्रहरी कार्यालयलाई निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका र हुनसक्नेको सूची बनाएर निगरानीमा राख्ने र आवश्यक परे पक्राउ गर्न निर्देशन गइसकेको छ ।’
सेनाको तर्फबाट सुरक्षा अवस्थाबारे जानकारी गराउँदै केन्द्रीय तहबाट गरिएको मूल्यांकन र सोही अनुसारको रणनीति बलियो बनाउन फिल्डमा खटिएका सुरक्षा अधिकारीबाट वस्तुथिति र अपनाउनुपर्ने नयाँ रणनीति बनिरहेको जानकारी गराएका थिए । बम विस्फोटलगायतका घटना बढेपछि सेनाले पैदल गस्तीको संख्या बढाएको सेनाका प्रतिनिधिले जानकारी गराएका थिए । बैठकमा निर्वाचनमा परिचालित सुरक्षाकर्मीसँग भौतिक स्रोतको कमी रहेकाले सरकारले त्यसतर्फ समेत ध्यान दिन प्रधानमन्त्री तथा गृहमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।
बैठक सकिएपछि गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘समितिको बैठकले निर्वाचनविरोधी आपराधिक गतिविधि निष्प्रभावी तुल्याउँदै उम्मेदवार, दलका नेता, मतदाता, कर्मचारी, मतदान सामग्रीलगायत निर्वाचनमा सहभागी सबैको सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्ने र विस्फोटनलगायतका निर्वाचनविरोधी गतिविधिमा संलग्न जोकोहीलाई यथाशीघ्र नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने निर्देशन भएको’ उल्लेख छ । बैठकले विस्फोटलगायतका घटनामा परेर घाइते भएका व्यक्तिको उपचार सरकारले गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित: ५ मंसिर २०७४ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App