८ वैशाख २०८१ शनिबार
राजनीति

विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भाँड्न दैनिक बम विस्फोट गराउँदा पनि सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताप्रति नरम नीति अपनाएको भन्दै आलोचना बढेपछि पक्राउको क्रम तीव्र बनाएको छ । कात्तिक २४ गतेबाट विप्लव समूहले माओवादी केन्द्र, एमाले र नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई लक्षित गरेर घरेलु बम प्रहार सुरु गरेको थियो ।

प्रहरी प्रधान कार्यालयले नेत्रविक्रम चन्द (विप्लव) सहित केन्द्रीय तहको नेताको खोजीमा केन्द्रको टोली खटाएको छ भने जिल्ला तहका नेताकार्यकर्ता खोज्ने जिम्मा जिल्लाको प्रहरीलाई दिएको छ ।

दर्जनभन्दा बढी स्थानमा उम्मेदवारको ज्यानै लिनेगरी बम प्रहारको घटना भए पनि सुरक्षा परिचालन सुस्त थियो । सामान्य घरेलु बम विस्फोटसँगै शक्तिशाली धराप नै थाप्न थालेपछि गृह मन्त्रालयको निर्देशनमा सुरक्षा निकायले खोजी र पक्राउको क्रम बढाएका हुन् ।
विप्लव समूहले विस्फोट गराएमध्ये नुवाकोटमा कांग्रेस प्रतिनिधिसभाका उम्मेदवार रामशरण महतलाई लक्षित गरी पड्काएको धराप सबैभन्दा शक्तिशाली देखिएको छ । नुवाकोटको घटनापछि उम्मेदवारको हत्या योजनासहित आक्रमणमा उत्रँदा समेत सुरक्षा निकाय निरिह देखिएको भन्दै आलोचना बढेको थियो । रौतहटमा भएको बम विस्फोटमा बालकसहित ११ जना घाइते भएका थिए । सो घटना कसले गराएको हो, सुरक्षा निकायले खुट्ट्याउन सकेको छैन ।
कात्तिक २६ बाट उम्मेदवार केन्द्रित आक्रमण गर्न सबै जिल्लामा विप्लवले परिपत्र गरेको पत्र सुरक्षा निकायले फेला पारे पनि घटनामा संलग्न समूह पक्राउ गर्न सुस्त देखिएको थियो । उम्मेदवार केन्द्रित आक्रमणका घटना बढेपछि दबाबमा आएको गृह प्रशासनले विप्लव समूहका नेता कार्यकर्ता पक्राउका लागि प्रहरीलाई निर्देशन दिएको छ भने उम्मेदवारको सुरक्षामा सशस्त्र प्रहरीको संख्या बढाएको छ ।
सोमबारबाट पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा नेपाली सेनाले पैदल गस्ती बढाएको छ । जानकार स्रोतका अनुसार विप्लवसहित केन्द्रीय तहका नेताको खोजीमा प्रहरी प्रधान कार्यालयले केन्द्रको विशेष टोली खटाएको छ भने जिल्ला तहका नेताकार्यकर्ता पक्राउको जिम्मा जिल्ला प्रहरी कार्यालयलाई तोकेको छ । विप्लवको समूहमा रहेका नेता कार्यकर्ता पक्राउका लागि जिल्ला प्रहरी कार्यालयमा विशेष निर्देशन गएको छ । निर्देशनअनुसार विभिन्न जिल्लामा पक्राउको क्रम समेत बढेको छ ।  
‘रक्षामन्त्रीको निर्देशनअनुसार सोमबारबाट सेनाले पाएको जिम्मेवारीअनुसारको कार्यक्षेत्रमा थप सुरक्षा बल परिचालन भएको छ,’ सैनिक प्रवक्ता नैनराज दाहालले नागरिकसँग भने, ‘सोमबार उम्मेदवारमाथि आक्रमण गर्ने घटना हुन पाएन भने बुटवल र ताप्लेजुङमा सेनाले विस्फोटक पदार्थ फेला पारेको छ ।’
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार जिल्लामा रहेका पार्टीका इन्चार्ज, विद्यार्थी संगठन, महिला संगठन र सुकुमबासी संगठनका नेता खोजीको सूचीमा छन् । सोहीअनुसार प्रहरीले झापा, चितवन, सिन्धुली, सल्यान, धनकुटा, पाल्पा, धनगढी र नुवाकोटमा रहेका विप्लवका जिल्ला तहका नेता कार्यकर्ता पक्राउको क्रम तीव्र बनाएको छ । स्रोतका अनुसार प्रदेश तहमा सक्रिय विप्लव समूहका नेताकार्यकर्ताको सूची बनाउन हेडक्वार्टरबाट सातै प्रदेश प्रहरी कार्यालयमा परिपत्र गरिएको छ ।
बम पड्काएको स्थानमा प्रहरी र विप्लव समूहका सदस्यबीच भिडन्त भएको दाबी गरिए पनि कोही पक्राउ नपर्दा सुरक्षा संगठन आलोचित बन्दै आएकोमा सोमबार नेपाली कांग्रेसका उम्मेदवार रामशरण महतको निर्वाचनमा खटिएको गाडीलाई एम्बुसमा पार्न सक्रिय रहेको आरोपमा नुवाकोटका जिल्ला सदस्य अनन्त धिताल पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको हो । चितवन प्रहरीले आइतबार बेलुका विप्लव समूहका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गरेको थियो । उनी प्रहरी हिरासतमा छन् ।
भापामा कन्काई नगरपालिकाका देवी प्रसाईं, जिल्ला सदस्य सन्तोष कटुवाल र लीलाबहादुर लावतीसमेत प्रहरी हिरासतमा छन् । सिन्धुलीमा भक्तबहादुर विक, केदार माझी र डोरबहादुर राई पक्राउ परेका छन् भने पाँचथर प्रहरीले ११ जनालाई हिरासतमा राखेर अुनसन्धान अगाडि बढाइरहेको छ । पाँचथर प्रहरीले टीकादेवी राई, तारा राई, मौसम थाम्सुहाङ, विशाल राई, इच्छाबहादुर राई, एलिया नेम्बाङ, जितबहादुर चेम्जोङ, डिल्लीराम कटुवाल र रुपनारायण अधिकारीलाई पक्राउ गरेको छ ।
सल्यानमा प्रहरी हिरासतमा रहेका तुल्सीराम खत्री, र कृष्ण वली विप्लव समूहको जिल्लातहका नेता हुन् । धनकुटामा जिल्ला इन्चार्ज माधव गौतम र जिल्ला सदस्य रणकुमार राई पक्राउ परेको प्रधान कार्यालय स्रोतले जानकारी दियो । धनकुटामा जिल्ला सदस्य मोहन ओझा, रञ्जित राई र प्रेम कट्टेल निर्वाचनविरोधी गतिविधि गरेको अभियोगमा प्रहरी हिरासतमा छन् । पाल्पामा विप्लव समूहको विद्यार्थी संगठन राष्ट्रिय युवा जनस्वयंसेवकका पाल्पा संयोजक शंकर तामाङ पक्राउ परिसकेका छन् ।
धनगढीमा कैलाली इन्चार्ज रामबहादुर चौधरी र सेती ब्युरो सदस्य प्रकाश मल्ल पक्राउ परेका छन् भने विप्लव समूह निकट सुकुमबासी संगठनका उपाध्यक्ष मिनराज गिरी र कैलाली अध्यक्ष तपेन्द्र रसाइली टीकापुर प्रहरीको हिरासतमा छन् ।

प्रकाशित: ५ मंसिर २०७४ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App