दाहाललाई दोस्रो अवसर

बिहिबार, २० साउन २०७३, ०८ : २७ रुद्र खड्का

काठमाडौं- 'मरे सहिद, बाँचे संसार' सशस्त्र युद्धकालीन समयमा अधिकांश पूर्णकालीन माओवादी कार्यकर्ताले प्रयोग गर्ने थेगो थियो। सोही थेगो प्रयोग गर्न लगाउने व्यक्ति पुष्पकमल दाहाल दोस्रोपटक मुलुकको कार्यकारी भूमिकामा पुगेका छन्।

दाहालले प्रतिपादन गरेको थेगोलाई आधार बनाएर युद्धमा होमिँदा कैयन कार्यकर्ता सहिद भए। सशस्त्र युद्धकै कारण करिब १३ हजार नागरिकले ज्यान गुमाए। अर्कोतर्फ बाँचेका कैयन माओवादी नेताका लागि भने यतिखेर 'नेपाली संसार' आफ्नै बनाउने, गरेर देखाउने अवसर आएको छ।

व्यवस्थापिका संसद्बाट बुधबार बहुमतका साथ प्रधानमन्त्री चुनिएका दाहालका सामु 'जनयुद्ध' मा बाँचेका कार्यकर्ताका लागि मात्र नभई सिंगो देशका लागि जनपक्षीय योजना लागू गर्ने अवसर प्राप्त भएको छ। विगतमा विपन्न जनताको दैनिकीमा सुधार ल्याउन गरिएको प्रतिबद्धता पूरा गर्ने मौका मिलेको छ। सशस्त्र युद्धका कारण विकासको गति रोकिएको देशलाई प्रगतिको बाटोमा लैजाने योजना कार्यन्वयन गर्न सहज भएको छ।

हुन त दाहालका लागि प्रधानमन्त्री नयाँ अनुभव होइन। पहिलो संविधानसभा निर्वाचनबाट ठूलो दल भइसकेपछि २०६५ साल साउन ३१ गते प्रधानमन्त्री बन्ने अवसर पाएका दाहाल आफ्नै 'अपरिपक्व' निर्णयका कारण २०६६ साल वैशाख २० गते सत्ताबाट बाहिरिएका थिए। त्यसयता पटक–पटक सत्तामा पुग्ने प्रयास गरे पनि सफल हुन उनले सात वर्ष पर्खनुपर्‍यो।

नौ महिना प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा 'जनयुद्ध'कालीन समयमा भन्ने गरिएझैँ खासै उपलब्धि देखाउन नसके पनि उनले त्यस अवधिलाई सिकाइको रूपमा लिएको स्पष्टीकरण दिएर जनताको नजरमा बाँच्ने प्रयास गरिरहे। संसदीय राजनीतिमा तिकडम नजानेको र खासै अनुभव नभएको भन्दै गुनासो गरिरहेकाले उनीप्रति आशा गरिरहेका सार्वसाधारणले अहिले लगभग 'माफी' दिइसकेको अवस्था छ।

दोस्रोपटक प्रधानमन्त्री चयन हुँदाको अवस्थामा देश र जनताको अवस्थामा खासै परिवर्तन नभए पनि दाहालको व्यक्तिगत सम्बन्ध, पहुँच र अनुभव भने निकै फराकिलो भइसकेको छ। आफ्नो दलभन्दा दोब्बर सांसद संख्या रहेको नेपाली कांग्रेेसलाई साथ लिएर प्रधानमन्त्री बन्ने हैसियतमा पुग्नु दाहालको सानोतिनो अनुभव होइन। भन्ने गरिन्छ– संसदीय राजनीतिमा सत्ताको नेतृत्व गर्ने भनेको निर्वाचनमा जुन दल ठूलो हुन्छ, त्यसैले हो। कथमंकदाचित ठूलो दलले त्यो अवसर गुमायो भने दोस्रो दलले सत्तामा पुग्ने हैसियत राख्छ।

यतिखेर दाहाल आफू अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रभन्दा निकै बढी सांसद संख्या रहेका पहिलो र दोस्रो दलका नेतालाई पाखा लगाउँदै सत्ता नेतृत्वमा पुग्नुलाई उनको राजनीतिक सफलता प्राप्त भएको वामविश्लेषक ठान्छन्। कांग्रेस, एमाले यतिखेर माओवादीभन्दा सांसद संख्याको हिसाबले मात्र ठूलो होइनन्। संसदीय राजनीतिमा वर्षौंदेखि अभ्यास गर्दै आएका अनुभवी दल पनि हुन्।

दाहालले यतिखेर पहिलो र दोस्रो ठूलो दलसँग मात्र नभई आफ्नै पाटीभित्र पनि सफलता प्राप्त गरेको अवस्था छ। युद्धकालीन समयमा बेला–बेला विवाद सिर्जना गर्ने मोहन वैद्य, बाबुराम भट्टराईजस्ता नेता बाहिरिएका छन्। माओवादीनिकट एक राजनीतिक विश्लेषकका अनुसार नेकपा माओवादी केन्द्रमा यतिखेर दाहाल जे चाहन्छन्, त्यो निर्णय गराउनसक्ने हैसियतमा छन्। तत्कालीन एकीकृत माओवादीसँग छुट्टिएर गएको क्रान्तिकारी माओवादीलाई एकीकरण गर्ने बेला पनि दाहालले विगतमा आफूसँग कुरा मिल्ने नेतालाई मात्रै फर्काउन जोडबल गरे। जसले गर्दा दाहालका सहयात्री भनेर चिनिने रामबहादुर थापा, मणि थापा, मातृक यादवजस्ता मन मिल्नेहरू मूल पार्टीमा फर्किए। बेला–बेला ठाकठुक पर्ने नेता/कार्यकर्तालाई उनले मूल पार्टीमा फर्कन आग्रह गरेजस्तो गरे पनि खासै चासो नदिएको आरोप लाग्दै आएको छ।

आखिर जुन स्वार्थले मूल दल छाडेका कार्यकर्ताबीच एकीकरण भए पनि त्यो एकीकरणले अन्ततः दाहाललाई सहज बनाएको माओवादीकै नेताहरू बताउँछन्। जुन कुरा उनले केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने प्रस्ताव गर्दा २३ सदस्य हेडक्वार्टर एक ढिक्का जस्तै भएर निर्णय गरेकाले पुष्टि हुन्छ।

आफ्नालागि अनुकूल परिस्थिति भएको बेला प्रधानमन्त्री भएका दाहालले के अहिले पाएको अवसरलाई सदुपयोग गर्न सक्लान्? यतिखेर धेरैको चासो छ।  संसद्को ठूलो दल कांग्रेसले समर्थन गरेका कारण कमसेकम दाहाल नेतृत्वको सरकार नौ महिनाअघि नढल्ने धेरैको विश्वास छ। अनुभव कमीका कारण पहिलो प्रधानमन्त्री छाड्नु परेका दाहालले यसबीच प्रशस्त अनुभव बटुलेका छन्। पार्टीभित्र आवश्यक निर्णय गराउन उनलाई खासै समस्या छैन।

अबको नौ महिनामा दाहालले युद्धकालीन समयमा व्यक्त गरेका वाचालाई कार्यान्वयन गर्लान्? कतिपय विश्लेषक भने त्यस्तो आशा गर्नु बेकार ठान्छन्। कतिपय भने दाहालले अहिलेको अवसरलाई त्यतिकै खेर नफाल्ने ठान्छन्। माओवादीका एक हेडक्वार्टर सदस्यले भने, 'नौ महिनामा जनताले महसुस गर्ने गरी कुनै न कुनै कार्यक्रम आउँछन्। त्यस्तो नभए विगतमा संघर्ष गरेर इतिहास बनाएका हौं भन्नुको कुनै अर्थ हुँदैन।'

१६ दल र एक स्वतन्त्र सांसदको समर्थनमा ३ सय ६३ मत प्राप्त गरी प्रधानमन्त्री बनेका ६१ वर्षीय दाहालको सुरुआतलाई भने धेरैले सकारात्मक रूपमा लिएका छन्। खासगरी नौ महिनासम्म संसद् बहिष्कार गरेका मधेसवादी दललाई समर्थनमा लिँदै संसद्मा भिœयाएपछि अब भद्र छलफलको प्रक्रिया अघि बढ्ने धेरैको अपेक्षा छ। आफू सशस्त्र युद्धमा रहँदा टाउकाको मूल्य तोक्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग सम्बन्ध सुधार गर्न सक्नु उनको अर्को क्षमता हो। प्रजातान्त्रिक पार्टीको रूपमा चिनिँदै आएको नेपाली कांग्रेससँग सहकार्य गर्न पाउनु पनि उनको अवसर पनि हो। अझै पनि विश्व राजनीतिक परिवेशले माओवादीलाई प्रजातान्त्रिक पार्टीको पहिचान दिन सकेको देखिँदैन।

२०२८ सालमा तत्कालीन पुष्पलाल समूहबाट कम्युनिस्ट पार्टीको सदस्य भएका दाहाल त्यसयता आन्तरिक पार्टीमा सधैँ सफल भइरहेका व्यक्ति हुन्। २०४६ सालमा नेकपा मसालको महामन्त्री, २०४८ सालमा नेकपा एकताको महामन्त्री हुँदै २०५२ साल फागुन १ गते सशस्त्र युद्ध पनि उनकै नेतृत्वमा सुरु गरिएको हो। १० वर्षे सशस्त्र युद्ध टुंग्याएर २०६३ साल असार २ गते खुला राजनीतिमा प्रवेश गरेका दाहालले दोस्रो प्रधानमन्त्रीको कार्यकालमा पनि केही ठोस परिवर्तन देखाउन सकेनन् भने उनको राजनीतिक भविष्य गिर्दो अवस्थामा पुग्ने त छ नै, साथै विगतमा जनतालाई दिएका आवश्वास झुठ मात्र हुनेछन्।

खुसी छैन :  दाहाल

संसद्मा बोल्दै दाहालले राष्ट्रिय सहमतिको सरकार बन्न नसक्दा खुसी हुन नसकेको बताए। दलहरूबीच सहमति कायम हुन सकेको भए विद्यमान समस्या समाधान हुनसक्ने उनको भनाइ थियो। मधेसी, थारु, आदिवासी, जनजाति, संविधान कार्यान्वयन, भूकम्पपीडितको पुनर्निर्माण, सत्यनिरुपण तथा मेलमिलाप आयोगको कामलाई अघि बढाएर शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउने दाहालले मुख्य एजेन्डाको रूपमा लिएको बताए।

त्यस्तै छिमेकीसँगको सम्बन्ध सुधार गर्ने दाहालको एजेन्डा छ। उनले यतिखेर मधेससँग मतभेदभन्दा पनि 'मनभेद' रहेको बताए। हुलाकी र दु्रतमार्गलाई पूरा गरेरै छाड्ने बताए। ओलीले गर्व गर्ने चीन, भारतसँगको सम्बन्ध, काठमाडौं–निजगढ दु्रतमार्गलगायत ठूला योजनालाई एकलौटी नठान्न उनले चुुनौती दिए।

दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गरेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसका समस्या समाधान नभई देशमा राष्ट्रिय एकता र समृद्धि सम्भव नरहेको बताए। दाहाल नेतृत्वको सरकारले मधेसका समस्या समाधान गर्ने उनको विश्वास छ। विगतमा मधेसमा असन्तुष्टि भइरहँदा बहुमतले संविधान जारी गरिएकाले सर्वस्वीकार्य हुन नसकेको उनको भनाइ छ।

भारत र चीनको बधाई 

प्रधानमन्त्री निर्वाचित भएलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दाहाललाई फोन गरेर बधाई दिए। मोदीले दाहालको कार्यकालमा नेपाल–भारत सम्बन्ध अझ विकसित हुने अपेक्षा राख्दै भारत भ्रमणको निम्तो दिए। त्यस्तै चिनियाँ राजदूत उ चुन्ताईले पनि दाहालनिवास लाजिम्पाटमै पुगेर प्रधानमन्त्री भएकोमा बधाई दिएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad