coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

देश विदेशबाट दाहाललाई समवेदना व्यक्त

काठमाडौं-  आकस्मिक हृदयघातबाट पुत्र गुमाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चीन, भारत, संयुक्त राष्ट्र संघ लगायतका कुटनीतिक नियोग तथा नेताहरुले समवेदना प्रकट गरेका छन्।  
आइतबार बिहान दाहालका एक मात्र सुपुत्र प्रकाश दाहालको निधन भएपछि दिउँसो नेपालमा रहेको चीनियाँ दूताबासले अध्यक्ष दाहाल प्रति समवेदना प्रकट गरेको थियो। सोमबार बिहान नेपालका लागि चीनियाँ राजदूत यु होङ्ले दाहाल निवास पुगेका थिए।
आइतबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजले टेलिफोन गरी दाहाल र परिवारमा समवेदना प्रकट गरेका थिए। लगत्तै नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी पेरिसडाँडा पुगी अध्यक्षलाई समवेदना प्रकट गरे।
त्यसैगरी संयुक्त राष्ट्र संघको आवासीय कार्यालयबाट दाहाललाई समवेदना प्रकट गरिएको छ । भलेरि जुलिण्डले पठाएको समवेदना पत्रमा प्रकाश दाहालको अल्पायू र अकल्पनीय निधनले संयुक्त राष्ट्र संघ मर्माहत भएको उल्लेख गरिएको छ।
सोमबार नै रुसी दूताबासबाट समवेदना प्रकट गर्दै राजदूत एन्ड्री बुडनिकले अध्यक्ष दाहालका छोरा तथा युवा नेता प्रकाश दाहालको आकस्मिक निधनले आफू स्तव्ध भएको उल्लेख छ।
सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष दाहाल र उनी श्रीमिति सीता दाहाललाई लाजिम्पाटमा भेटी समवेदना प्रकट गरेकी छन्। समवेदना प्रकट गर्दै धैर्य रहन प्रचण्ड र सीता दाहाललाई आग्रह गरिन्।
त्यसैगरी सोमबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीले दाहाल परिवार भेटेर समवेदना प्रकट गरे। प्रधानन्यायाधीश गोपाल पराजुलीले लाजिम्पाटमा भेटी प्रचण्ड परिवारलाई समवेदना प्रकट गरेका थिए।
पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह, एमाले उपाध्यक्ष बामदेव गौतम, नेपाली कांग्रेसका नेताहरु प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत लगायतका नेताहरुले समवेदना प्रकट गरे।  
त्यस्तै सोमबार बिहान बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिस्तारित बैठकले मंसीर ५ गते चुनावी अभियानकै क्रममा सबै निर्वाचन क्षेत्रहरुमा शोक सभा गर्ने निर्णय गरेको छ।

 

प्रकाशित: ४ मंसिर २०७४ १०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App