८ वैशाख २०८१ शनिबार
समाज

अनलाइनबाट सरुवा माग्ने बढे

काठमाडौं- सामान्य प्रशासन मन्त्रालयले अनलाइन आवेदनको व्यवस्था गरेसँगै रोजाइका मन्त्रालयमा सरुवा माग्ने निजामती कर्मचारीको संख्या ह्वात्तै बढेको छ।

प्रविधिमार्फत घरै बसीबसी सरुवा आवेदन दिन पाएपछि रोजाइका मन्त्रालय, विभागमा सरुवा, काज माग्नेको संख्या बढेको मन्त्रालयले जनाएको छ। काज, सरुवाका लागि कर्मचारीले सिंहदरबार धाउनुपर्ने परिपाटी अन्त्य गर्दै मन्त्रालयले अनलाइन आवेदन लिन थालेको हो। अर्थ, गृह, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहतका कार्यालयमा सरुवा माग्नेको संख्या धेरै छ। बुधबारसम्म १ हजार ५ सय ७३ जनाले आवेदन दिइसकेका छन्।

आवेदन दिनेमा कार्यालय सहयोगी, खरिदार, सुब्बा, अधिकृतदेखि उपसचिवसम्म छन्। अबदेखि अनलाइन आवेदन दिएका निजामती कर्मचारीले कहाँ सरुवा भएँ भन्नेबारे मोबाइलमा एसएमएसमार्फत थाहा पाउने व्यवस्था गरिएको छ। काज, सरुवाले बेलाबेला विवाद निम्त्ाउने गरेको छ। आफू नजिकका व्यक्तिलाई मागेको स्थानमा सरुवा गरेको भन्दै विवाद पनि आउने गरेको छ। सरुवाका लागि मन्त्रालयलाई दबाब समेत आउने गरेको छ।

मन्त्रालय धाइरहनुपर्ने बाध्यता र विवाद अन्त्य गर्दै प्रविधिमार्फत कर्मचारीको सरुवा व्यवस्थित गरिने मन्त्रालयका प्रवक्ता नीता पोखरेलले बताइन्। निजामती सेवा ऐन, नियमावलीअनुसार सरुवालाई व्यवस्थापन गर्न अनलाइन पोर्टल निर्माण गरिएको उनले जानकारी दिइन्। गत साउन ३ देखि मन्त्रालयले अनलाइन आवेदन खुला गरेको हो। 'साउनभरिमा हामी सरुवासम्बन्धी निवेदन छानबिन गरी निर्णय गछौं, सम्बन्धित कर्मचारीले आफ्नै मोबाइलमा एसएमबाट सरुवाको जानकारी पाउनेछन्,' पोखरेलले भनिन्।

प्रविधिमार्फत गरिने सरुवाले कामलाई छिटोछरितो, निष्पक्ष हुने अपेक्षा कर्मचारीले गरेका छन्। सरुवाका लागि केन्द्रमा धाउने परिपाटीको अन्त्य हुने विश्वास गरिएको छ। निजामती कर्मचारीको समय, लागत बचत हुने उनले बताइन्।

निजामती ऐन अनुसार कार्यअवधि पुगेका कर्मचारीलाई आवश्यकताअनुसार साउन महिनाभर अन्तर मन्त्रालय सरुवा गर्ने व्यवस्था छ। उनले मन्त्रालयले अध्ययन गरी कसलाई कुन ठाउँमा सरुवा गर्ने भन्नेबारे निर्णय गर्ने बताइन्। माग गरेअनुसार सबै सरुवा भने हुन पाउने छैनन्। मन्त्रालयमा रहेका खाली सिटको आधारमा सरुवा गरिने उनले जनाइन्।

प्रकाशित: २० श्रावण २०७३ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App