८ वैशाख २०८१ शनिबार
कला

एकादेशमा ‘डेथ अफ साउण्ड म्यान’ उत्कृष्ट

‘डेथ अफ साउण्ड म्यान’को एउटा दृश्य

काठमाडौं—ध्वनिको महत्वलाई समेटिएको शर्ट फिल्म ‘डेथ अफ साउण्ड म्यान’ले यस वर्षको एकादेशमा अन्तराष्ट्र्रिय शर्ट फिल्म फेस्टिभल अवार्ड जितेको छ। थाईल्याण्डका निर्देशक सोरायुस पार्पापानले निर्देशन गरेको १६ मिनेटको यो शर्ट फिल्मले एकादेशमा अन्तराष्ट्र्रिय शर्ट फिल्म फेस्टिभलको ‘परिपक्व परिवर्तन’ विधाको अवार्ड जित्दै ५० हजार रुपैयाँ पायो। दुई साउन्ड रेकर्डिस्टको कथा फिल्ममा केन्द्रित छ। सो उत्कृष्ट फिल्मले अवार्डसहित ५० हजार जितेको छ।

उत्कृष्ट फिल्मको छनोट भने अभिनेत्री मनिषा कोइराला, पाओलो बेर्टोलिन र मोस्ताफा सार्वर फारोकीको निर्णायक टोलीले गरेको थियो। त्यस्तै यस विधाको स्पेशल मेन्सन अवार्ड ‘सिल्भर ब्याङ्लग्स्’ र ‘मरे नोस्ट्रम’ले जितेको छ।

‘सिनेमाको भविष्य’ विधामा भने ‘लिज्ला’ले उत्कृष्ट शर्ट फिल्मको अवार्ड जितेको छ। बोस्निया हर्जगोभिनाको ‘लिज्ला’ को युरोभिजन प्रतिस्पर्धाको यात्राबारे फिल्म केन्द्रित रहेको छ। अभिनेत्री नम्रता श्रेष्ठ, अबु साहेद इमोन र यज्ञश सम्मिलत निर्माण मण्डलले यस विधाको उत्कृष्ट फिल्म छनोट गरेका थिए। यस विधाको स्पेशल मेन्सन अवार्ड भने भारतको ‘आफ्टर्नुन क्लाउड’ र जर्मनीको ‘सर्च’ले जितेको छ। उत्कृष्ट भएको फिल्मले अवार्डसहित २५ हजार जितेको छ।

अडियसन अवार्ड भने विकास न्यौपानेको ‘लक्ष्मणिया’ले जितेको छ। उनले अवार्ड र २५ हजार प्राप्त गरेका छन्। सामाजिक विषयवस्तु समेटिएर तयार भएका छोटा फिल्महरूको महोत्सव ‘एकादेशमा इन्टरनेसनल शर्ट फिल्म फेस्टिभल’मा ९९ वटा फिल्महरु प्रदर्शन भएका थिए। चार दिने फेस्टिभलमा २१ वटा नेपालको फिल्म सहित ४३ देशका फिल्म प्रदर्शन गरिएको थियो।

यो फेस्टिभलको पाँचौं संस्करण हो। ‘सामाजिक विषयवस्तुमा केन्द्रित शर्ट फिल्म निर्देशकहरुलाई प्रोत्साहन गर्न फेस्टिभलको आयोजना गरेका हौं। फेस्टिभललाई आगामी दिनमा निरन्तरता दिनेछौं,’आयोजकका अविनाशविक्रम शाहले भने। आयोजकले यसपटक बंगलादेशका फिल्मलाई फेस्टिभलमा बहसको विषय बनाएको थियो।

प्रकाशित: ४ मंसिर २०७४ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App