८ वैशाख २०८१ शनिबार
विचार

सम्भव छ गुणस्तरीय चिकित्सा सेवा

२०६२ सालतिरको कुरा हो, धुलिखेल वडा नं. ६ कुत्ताल निवासी सुमित्रा पराजुलीलाई थोरै हिँड्दा पनि सासै जालाजस्तो गरेर स्याँस्याँ भएपछि धुलिखेल अस्पतालमा ल्याइयो । मुटुको एउटा भल्भ निकै साँघुरिएको थियो तसर्थ आवश्यक सम्पूर्ण आकस्मिक उपचार गरियो । भल्भ नै फेर्नुपर्ने भएकाले केही दिनपछि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी पठाइयो । डा. भगवान कोइराला र उनको टिमबाट भल्भ फेरिएपछि राम्रो भयो ।

डाक्टर, सरकार, सर्वसाधारण र सबै सरोकारवालाको इच्छाशक्ति सकारात्मक हुने हो भने चिकित्सा शिक्षा र सेवा यहीँ गुणस्तरीय हुन्छ । सम्भव छ ।

करिब १२ वर्षको दौरानमा निकै राम्रो जीवन यापन गर्दैगर्दा पनि अर्को भल्भ बिग्रन थाल्यो । अर्को भल्भ पनि परिवर्तन गर्नुपर्ने भएकाले पहिलाकै चिकित्सक डा. कोइरालाकहाँ नै पठाइयो– मनमोहन कार्डियो भास्कुलर एवं थोरासिक सेन्टरमा । त्यहाँ सुमित्राकै परिवारका सदस्य (जो धुलिखेल अस्पतालमा सहायकको काम गर्छन्) ले एक परिचित चिकित्सक डा. कोइरालाकै टिममा भेट्टाए– डा. रवि बराल ।
रवि २००२ सालको काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, धुलिखेलका एमएस दोस्रो ब्याचबाट ग्रयाडुइट भएका चिकित्सक हुन् । उनले एमबिबिएसपश्चात काठमाडौँ विश्वविद्यालयकै नेपालगन्ज मेडिकल कलेजमा एएस जनरल सर्जरी गरे र तत्पश्चात त्रिविआइओएम टिचिङ अस्पताल महाराजगन्जबाट एमसिएच कार्डियो भास्कुलर थोरासिक सर्जरीमा उच्च उपाधि प्राप्त गरी त्यही मनमोहन कार्डियो थोरासिक सर्जरी विभागमा डा. कोइरालासँग कार्यरत छन् । उनको उपस्थितिमा सुमित्रा एवं परिवार खुसी भए । रवि खाट्टी हाम्रै डाक्टर हुन जसले सुरुबाट नै मेहनतका साथ आफ्नो पेशा सुरु गरी आज एउटा स्तरीय केन्द्रीय अस्पतालको महŒवपूर्ण टिममा सामेल भई गुणस्तरीय सेवा दिइराखेका छन् ।
धुलिखेल घर भई काठमाडौँमै बसिराखेकी ३७ वर्षीया गृहिणी सजिना श्रेष्ठलाई एक्कासि टाउको दुख्यो । नजिकैको वीर अस्पतालमा सिटी स्क्यान गरियो । मस्तिष्कको नसा फुलेको थियो जुन तुरुन्तै अपरेसन गर्नुपर्ने भयो । उनीहरू पुगे माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा डा. वसन्त पन्तलाई देखाउन । त्यहीँ भेटे डा. वसन्त पन्तको टिममा महिला न्युरो सर्जन डा. रेशा श्रेष्ठ जसलाई उनीहरूले धुलिखेलमै चिनेका थिए । रेशा पनि काठमाडाँै विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, धुलिखेलमा एमबिबिएस प्रथम ब्याचबाट चिकित्सक उपाधि पाएकी हुन् । उनले न्युरो सर्जरी विषयमा विशेषज्ञता हासिल गरेपछि डा. वसन्त पन्तको टिममा बसेर गुणस्तरीय विशेषज्ञ सेवा प्रदान गरिरहेकी छन् ।
गर्व लाग्छ, आफैँले काम गरेको अस्पताल एवं मेडिकल स्कुलबाट ग्रयाड्युएट भएका चिकित्सकहरूबाट आफ्ना बिरामीले विशेषज्ञ सेवा पाउँदा । उनीहरूले आफूभन्दा वरिष्ठ चिकित्सकको टोलीमा सामेल भई विश्वसनीय ढंगले स्तरीय सेवा दिइराखेका छन् र भविष्यमा पनि उनीहरूकै हातमा छ कस्तो सेवा दिने भन्ने कुरा ।
केही वर्षअगाडि जिरी जिल्ला अस्पताल पुग्दा पनि डा. रोशन खत्रीलाई भेटेको थिएँ । उनले पनि जिल्लामा बसेर व्यवस्थापनसहित उल्लेखनीय सेवा विस्तार गरेका थिए । त्यो भेगका जनतालाई निकै नै राम्रो सरल र सुलभ सेवा दिइरहेका उनलाई कर्मचारी तथा स्थानीयले धेरै नै माया एवं आदर गरेको पाएँ । उनी पनि धुलिखेलबाटै ग्रयाडुएट भएका थिए ।
डा.समिर लामाले प्युठान जिल्ला अस्पतालमा गरिरहेका कार्य र उनकोे यस पेशाप्रतिको इमानदारीपूर्वक सेवाको म प्रशंसक हुँ । व्यक्तिगतरूपमा उनीसँग भेट नभए  पनि उनीलगायत टिमले गरेका अनवरत सेवाले कति ग्रामीण भेगका जनताले स्तरीय सेवा पाए भन्ने पक्ष अतुलनीय छ । डा. समिरले त्रिवि आइओएमबाट विशेषज्ञता हासिल गरेका हुन् ।
यी त केही प्रतिनिधि पात्रमात्र हुन् । यस्तै हजारौँ चिकित्त्सकले देश एवं विदेशमा आफ्नो योग्यता हासिल गरेर थप विशेषज्ञ शिक्षा प्राप्त गरी देशका विभिन्न अस्पताल अनि अन्य ठाउँमा कार्यरत छन् । आफ्नो आधारभूत डिग्री एमबिबिएस सकेपछि अनवरत मेहनत  गरेर अध्ययन गर्छन् विशेषज्ञ शिक्षा । विशेषज्ञता हासिल गरेपछि त्यसलाई कसरी राम्रोसँग उपचारमा लगाउन सकिन्छ भनेर त्यति नै खटिन्छन् पनि ।
२०७२ सालको भूकम्पका बेला घाइतेहरूलाई निरन्तर सेवा दिने नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मी नै थिए । बाहिरी सहयोगको तुलनामा नेपाली टोलीको सेवाको स्तरीयता निकै उल्लेखनीय अनुभव भएको थियो सबैलाई त्यतिबेला ।
कठमाडाँै विश्वविद्यालयको २३ औँ दीक्षान्त समारोह आज (२०७४ मंसिर ४ गते) भइराख्दा ११९१ जना दीक्षित हुँदैछन् । जसमध्ये विशेषज्ञ चिकित्साशास्त्रमा दीक्षित हुने १७८ जना छन् भने एमबिबिएसमा ५७२ र बिडिएसमा १५५, बिएससी नर्सिङमा २०८, बिपिटीमा १९ र बिएनएसमा ५९ जना छन् । त्यसरी नै हरेक वर्ष त्रिविको आइएसएस, पाटन एकेडेमी र विदेशबाट पनि चिकित्सक ग्राड्युट हुन्छन् ।
विद्यालय, विश्वविद्यालयस्तरको शिक्षा भनेको हरेक समाजको राष्ट्रको विकासको एउटा अति आवश्यक पूर्वाधार हो । विभिन्न विषयको अध्ययन÷अध्ययापन, जस्तै– चिकित्साशास्त्र पनि एउटा प्रमुख र विशेष किसिमको विद्या हो । यसमा सैद्धान्तिक ज्ञान, सिप, व्यावहारिक ज्ञानका साथै नैतिक, सामाजिक एवं मानवीय मूल्य÷मान्यतामा आधारित आचरणको ज्ञान पनि उत्तिकै आवश्यक पर्छ । सबैखालको ज्ञान, अध्ययन संस्थामा मात्र हासिल गर्न सम्भव नभए पनि कतिपय ज्ञान र अनुभव कार्य सँगसँगै पनि अघि बढ्दै जान्छ ।
हामी चिकित्सक चाहे पुराना धेरै अनुभव बोकेका किन नहोस् वा भर्खरै मात्र पास गरेकै किन नहोस्, सेवामा उति नै गहन तरिकाले मेहनत गरी दत्तचित्त भई लाग्न आवश्यक छ । हाम्रो लगनशीलता र निस्वार्थ सेवा भावनामात्र भएर पनि पुग्दैन, नेपाल सरकार तथा सम्बन्धित निकाय र सर्वसाधारणको समेत उत्तिकै दायित्व छ स्वास्थ्य सेवाको स्तर वृद्धिमा । अर्थात सबैको संयुक्त प्रयत्नले मात्रै स्वास्थ्य सेवाको स्तरीयता, दायरा र पहँुच फराकिलो हुन सक्छ ।
हाम्रो देशमा चिकित्सा सेवाको दायरा पक्कै पनि विस्तार भएका छन् । यद्यपि सरल, सुलभ, समान किसिमका सेवा सबैको पहुँचमा पु¥याउन अझै धेरै गर्न बाँकी छ् । सबै मिलेर कोसिस गरौँ, स्वास्थ्य शिक्षा र सेवा यहीँ राम्रो र गुणस्तरीय बनाउन सकिन्छ । सम्भव छ ।
लेखक काठमाडौं विश्वविद्यालय स्कुल मेडिकल साइन्सेजका प्राध्यापक हुन् ।

प्रकाशित: ४ मंसिर २०७४ ०२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App