४ वैशाख २०८१ मंगलबार
अर्थ

माथिल्लो तामाकोशीले २०७५ पुसभित्र बिजुली उत्पादन थाल्ने

दोलखा—स्वदेशी लगानीको सबै भन्दा ठुलो माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको हेडरेस टनेल अर्थात मुख्य सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ। आयोजनाको बाँधस्थल लामावगर र गोंगर दुवै तर्फबाट ७ बर्ष अघि खन्न सुरु गरिएको ८.४ किलोमिटरको मुख्य सुरुङ मार्ग बिहिबार पुरा भए सगैं ‘ब्रेक थ्रु’ को उत्सव मनाईएको दिनलाई अधिकारीहरुले आयोजनको निर्माण चरण मध्येको एउटा महत्वपूर्ण सफलता भनेका छन्। 

जमिन भित्रको प्रकृति संग जुधेर भुगोल, नाप, लगायत सबै मिलाउनु पर्ने कठिन कार्यका कारण दुई तर्फबाट खन्दै लगिएको सुरुङ बाधा अवरोध विनै बिचमा छेडिएर पुरा हुने कार्यलाई ठुलो सफलताको रुपमा मानिने भएकाले यसरी दुवै तर्फबाट खन्दै लगिएको सुरुङ भेटिएर पुरा हुने कामलाई ‘ब्रेक थ्रु’ भनिन्छ। 

उर्जा मन्त्रालयका अधिकारीहरुको उपस्थिीतीमा बिहिबार मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिएको थियो । उर्जा सचिव अनुप कुमार उपाध्ययले दोलखाको विगु गाउँपालिका १ लावागर स्थित गोंगरमा रहेको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको कार्यालयमा बसेर सुरुङ मार्ग भित्र रहेका प्राविधिकहरुलाई टेलिफोनबाट ब्रेक थ्रु गर्न निर्देशन दिएपछि बिष्फोटक पदार्थको साहयताले सुरुङ मार्ग जोड्न बाँकी राखिएको २ मिटर अन्तरको भाग बिष्फोट गरि ब्रेक थ्रु गरिएको थियो । बिष्फोट लगतै आयोजनाको मुख्य सुरुङ मार्ग जोडिएको घोषणा उपाध्यायले गरेका थियो। सो उत्सवमा बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहित उर्जा र प्राधिकरणका अधिकारीहरु उपस्थित थिए। 

सुरुङ मार्ग पुरा भए सगैं आयोजनाको महत्वपूर्ण काम बाँधस्थल देखि पावर हाउस सम्म पानी आउने ठाउँ खुलेको आयोजना प्रमुख बिज्ञान प्रसाद श्रेष्ठले बताए । ‘आयोजनाको कठिन मध्येको काम बाँधस्थलमा जम्मा गरेर पावर हाउस सम्म टर्बाईन घुमाउन पानी ल्याउने ठाउँ अब खुल्यो’–ब्रेक थ्रु उत्सव सकेपछि साँझ नागरिकसंग प्रतिक्रिया दिदै श्रेष्ठले भने – ‘आयोजनाको सुरुङ मार्गका कामहरु अब लगभग सकिएको छ।'

उनका अनुसार बाँधस्थलमा टबाईन घुमाईसकेपछि निकास भएर पुःन नदीमा पानी पठाईने अडिट टनेल ३ बर्ष अघि नै पुरा भईसकेको छ। श्रेष्ठका अनुसार यो सगैं अब खनिएको सुरुङलाई कंङक्रिट गर्ने र स्टिल राख्ने काम सुरु हुनेछ। 

बिहिबार ब्रेक थ्रु उत्सव मनाए लगतै आयोजनाले आफ्ना कामको प्रगती विवरण सुनाउदै ९२ प्रतिशत काम पुरा भएको घोषणा गरेको छ। ‘आगामी २०७५ को पुस महिना भित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेका छौं’ श्रेष्ठले भने। 

हाल सम्म १७.९ मिटर सुरुङ निर्माणका कामहरु पुरा भएको आयोजनामा अब ९ सय २० मिटरको साना सुरुङहरु बनाउन बाँकी रहेको आयोजनाका प्रवक्त गणेश न्यौपानेले जानकारी दिए। 

२०६७ सालबाट सुरु भएको आयोजना २०७२ मा सम्पन्न हुने लक्ष्य राखिएको थियो। २०७२ को भुकम्प र नाकाबन्दीका कारण धकेलिएको
 आयोजना आगामी बर्षको पुस भित्र सम्पन्न हुने दाबी अधिकारीहरुले गरेका छन्।

प्रकाशित: ३ मंसिर २०७४ १२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App