८ वैशाख २०८१ शनिबार
राजनीति

दाहाल ३९ औं प्रधानमन्त्री

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रोपटक मुलुकको कार्यकारी प्रमुख निर्वाचित भएका छन्। संविधानसभाको पहिलो निर्वाचनलगत्तै २०६५ सालमा प्रधानमन्त्री बनेर नौ महिनामै बाहिरिएका उनलाई सात वर्षपछि बुधबार व्यवस्थापिका संसद्को बहुमतले मुलुकको ३९ औं प्रधानमन्त्री चयन गरेको हो।

प्रधानमन्त्रीको एकल उम्मेदवार रहेका दाहालले तत्काल कायम रहेका सदस्यमध्ये ३ सय ६३ मत ल्याएका थिए। संसद्मा बुधबार कुल ५ सय ७३ सांसद् उपस्थित थिए। उनको विपक्षमा २ सय १० मत पर्‍यो। दाहालको पक्षमा नेपाली कांग्रेस, राप्रपा, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, फोरम लोकतान्त्रिक र स्वतन्त्र गरी १७ दलले मत दिएका थिए भने विपक्षमा नेकपा एमाले, राप्रपा नेपालसहितका दलले मतदान गरे।

नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई बर्खास्त गर्ने विवादास्पद निर्णयका कारण उनले पहिलोपटक प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यतिबेला संविधानसभाको ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री बनेका उनले अहिले तेस्रो ठूलो दलको नेताका रूपमा जिम्मेवारी सम्हालेका हुन्।

पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सय २० सिट जितेर सबैभन्दा ठूलो दल भएको एकीकृत नेकपा माओवादी दोस्रो निर्वाचनमा २६ सिटमा सीमित हुन पुगेको थियो।

आगामी नौ महिना सरकारको नेतृत्व गर्नेगरी प्रमुख सत्तासाझेदार दल नेपाली काग्रेससँग भएको सहमतिका आधारमा उनले जिम्मेवारी पाएका हुन्। संविधानको धारा २२९ को उपधारा ३ अनुसार भएको निर्वाचनमा स्पष्ट बहुमत ल्याएकाले मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित भएको घोषणा सभामुख ओनसरी घर्तीमगरले गरेकी थिइन्।

नेपाली कांगे्रस सभापति शेरबहादुर देउवाको प्रस्ताव र केन्द्रकै नेता कृष्णबहादुर महरा, मधेसी मोर्चाका उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्णलगायत १६ दलका नेताको सर्मथनमा दाहालले मंगलबार प्रधानमन्त्री पदमा उम्मेदवारी दिएका थिए। अघिल्लो दिनको प्रतिबद्धताअनुसार समर्थनमा रहेका दलले उनको पक्षमा मत दिएपछि संविधानमा तोकिएको सामान्य बहुमतभन्दा धेरै मत ल्याएर दाहाल निर्वाचित हुन सफल भए।

सहमतिमा प्रधानमन्त्री चयन हुन नसकेपछि गत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रिया आह्वान गरेकी थिइन्। दाहालको पक्षमा माओवादी केन्द्र, नेपाली कांग्रेस, राप्रपा, संघीय समाजवादी फोरम, सद्भावना, तमलोपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा संयुक्त, अखण्ड नेपाल, समाजवादी जनता पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक थरुहट, खुम्बुवान राष्ट्रिय मोर्चा, थरुहट तराई पार्टी, बहुजन शक्ति पार्टी र दलित जनजाति पार्टीले मतदान गरेका थिए।

उनको विपक्षमा नेकपा एमाले, राप्रपा नेपाल, नेमकिपा, नेकपा माले र राष्ट्रिय जनमोर्चाले मतदान गरे। एमालेका ८ सांसद मतदानमा अनुपस्थित रहे।  ओली सरकारमा जनसंख्या तथा वातावरणमन्त्री रहेका विश्वेन्› पासवान र शान्तिमन्त्री एकनाथ ढकालले अन्तिम समयमा दाहालको पक्षमा मतदान गरेका थिए।

दाहालको दल नेकपा माओवादी केन्द्रले असार २८ गते केपी ओली नेतृत्वको सरकारबाट बाहिरिँदै असार २९ गते संसद्मा अविश्वास प्रस्ताव दर्ता गराएको थियो। एमाले अध्यक्षसमेत रहेका ओलीले अविश्वास प्रस्तावमाथि मतदान हुनु केही घन्टाअघि साउन ९ गते राजीनामा गरेका थिए।

२१ सांसद अनुपस्थित

व्यवस्थापिका संसद्को कुल सदस्य संख्या ६ सय १ हुने संविधानमा व्यवस्था भए पनि केही सदस्य रिक्त र केहीले मतदान गर्न नपाएका कारण पूर्ण हुन पाएको छैन। विद्या भण्डारी राष्ट्रपति निर्वाचित भएको, सुशील कोइराला र सूर्यबहादुर थापाको निधन भएको र बाबुराम भट्टराईले राजीनामा दिएका कारण ४ सांसदको पद रिक्त छ। तत्कालीन संविधानसभामा मन्त्रिपरिषद्बाट नियुक्त हुनुपर्ने दुई सदस्यको पद खाली छ। फौजदारी मुद्दामा अनुसन्धानमा रहेका सञ्जय साह र ल्हारक्याल लामा निलम्बनमा परेका कारण मतदान गर्नबाट वञ्चित भएका छन्। सभामुख ओनसरी घर्तीले बराबर भए मात्र मत दिन पाउने व्यवस्थाका कारण उक्त मत जोडिएको छैन।

बुधबारको निर्वाचनमा २१ सांसद अनुपस्थित थिए।  नेपाली कांग्रेसका नरहरि आचार्य र शशांक कोइराला बिरामी भएका कारण मतदानमा सहभागी भएनन् भने वीरबहादुर बलायर र मनमोहन भट्टराई आमाको किरिया बसेका कारण मतदानमा उपस्थित हुन सकेनन्। माओवादीका सांसद योगेन्द्र तामाङ घिसिङ मतदानका बेला ढोका थुनिएपछि बाहिरै परेका थिए। एमालेका ८ सांसद पनि मतदानमा अनुपस्थित रहे। अन्य पार्टीका ९ सांसद मतदानमा सहभागी भएनन्।

प्रकाशित: २० श्रावण २०७३ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App