coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पाँच दिनमा एक खर्ब १४ अर्ब डलरको जहाज अर्डर

दुबई– युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा पाँच दिनसम्म चलेको १५औं ‘दुबई एयर सो’ मा करिब एक खर्ब १४ अर्ब अमेरिकी डलरबराबरको जहाज खरिद अर्डर भएको छ । उड्डयन क्षेत्रमा यो नयाँ कीर्तिमान भएको आयोजकले दाबी गरेका छन्। 

प्रत्येक दुई–दुई वर्षमा आयोजना हुँदै आएको दुबई एयर सो आयोजकका अनुसार सन् २०१५ को दाँजोमा यसपालि कारोबारसँगै दर्शक पनि २० प्रतिशतले बढेर ७९ हजार तीन सय ८० जना पुगेका छन्। 

युरोपेली जहाज निर्माता कम्पनी एयरबसले पाँच दिनसम्ममा ६२ अर्ब ५० करोड डलरमा पाँच सय ३५ थान जहाज जहाज बेच्न विभिन्न वायुसेवासँग सम्झौता गरेको छ । यसमा एयरबसको प्रतिस्पर्धी अमेरिकी जहाज निर्माता कम्पनी बोइङ थोरै परिमाणले पछाडि परेको छ । बोइङले भने पाँच दिनभित्र विभिन्न कम्पनीलाई ५० अर्ब डलरमा दुई सय ९६ थान जहाज बेच्ने सम्झौता गरेको छ। 

एयरबसले भारतको सस्तोमा उडान गर्ने बजेट एयरलाइन्स इन्डिगोसँग ४९ अर्ब ५० करोड डलरबराबरको जहाज खरिद अर्डर सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार एयरबसले इन्डिगोलाई ‘ए३२० निओ’ सिरिजका चार सय ३० थान जहाज आपूर्ति गर्ने छ । यी ‘न्यारो बडी’ जहाज हुन्।

त्यसैगरी बोइङले पनि एयर सोको अन्तिम दिनसम्ममा दुबईको बजेट एयरलाइन्स फ्लाई दुबईसँग २७ अर्ब डलरबराबरको जहाज खरिद सम्झौता गरेको छ । सम्झौताअनुसार बोइङले फ्लाई दुबईलाई ‘बि७३७ म्याक्स’ सिरिजका दुई सय २५ थान जहाज आपूर्ति गर्ने छ । यी ‘न्यारो बडी’ जहाज हुन्।

‘कूल कारोबार र दर्शक संख्याले आफैं बोल्छ, यो वर्ष पनि दुबई एयर सो सफलतापूर्वक सम्पन्न भएको छ,’ दुबई एयर सोको आयोजक टार्सस एफ एन्ड ई मिडिल इस्टका प्रबन्ध निर्देशक मिचेल भान एकेलिजेनले भने, ‘भौगोलिक हिसाबमा दुबई विश्व उड्डयनको केन्द्रविन्दुमा पर्छ र दुबई एयर सोमा सधैं अविश्वसनिय र अतुलनिय सम्झौता तथा नवीन र नौला विचार देख्दै आएका छौं।’

आयोजकका अनुसार कुबेतको एक वायुसेवा कम्पनी वातानिया एयरवेजले एयरबससँग ए३२० निओ सिरिजका २५ जहाज भाडामा लिने सम्झौता गरेको छ । त्यसैगरी मध्यपूर्वको सस्तोमा उडान गर्ने बजेट एयरलाइन्स एयर अरेबियाले पनि एयरबससँग ‘ए३२१ निओ’ सिरिजका ६ थान जहाज भाडामा लिने सम्झौता गरेको छ । त्यस्तै एयरक्याप र इजिप्ट एयरले पनि ए३२० निओ सिरिजका १५ थान जहाज भाडामा लिने सम्झौता गरेको छ। 

‘बोइङ कम्पनीका लागि दुबई एयर सो असाध्यै लाभदायी र सफल भएको छ । हाम्रा क्षेत्रीय ग्राहक (वायुसेवा कम्पनी, लिजिङ कम्पनीलगायत) ले हाम्रा उत्पादन र प्रविधिप्रति कायम राखेको विश्वाससँगै मध्यपूर्वमा हाम्रो साझेदारी पनि निरन्तर बढिरहेको छ,’ बोइङको मध्यपूर्व, उत्तर अफ्रिका र टर्की हेर्ने अध्यक्ष बर्नार्ड डनले भने, ‘हामीले प्रमुख वायुसेवा कम्पनी इमिरेट्स एयरलाइन, फ्लाई दुबई, अजरबैजान एयरलाइन्स, एलाफ्को र इथियोपियन एयरलाइन्सँग जहाज खरिद सम्झौता गरेका छौं ।’

दुबई एयर सोको १६औं संस्करण सन् २०१९ मा हुने छ । युएईको इमिरेट्स एयरलाइनले १६ अर्ब डलरमा ‘बि७८७–१०’ सिरिजका ४० थान जहाज खरिद सम्झौता गरेको छ । यो सम्झौताअनुसार पहिलो जहाज सन् २०२२ मा आपूर्ति हुने छ । इमिरेट्स एयरबसको सबैभन्दा धेरै यात्रु बोक्ने ‘ए३८०’ र बोइङको सबैभन्दा धेरै यात्रु बोक्ने ‘बि७७७’ सिरिजका जहाज धेरै सञ्चालन गर्ने संसारकै एकमात्र वायुसेवा कम्पनी हो ।

प्रकाशित: ३ मंसिर २०७४ ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App