८ वैशाख २०८१ शनिबार
अर्थ

बिबीलाई जहाज बेच्ने/नबेच्ने निर्णय सञ्चालक समितिबाट

काठमाडौं – नेपाल वायुसेवा निगमले सञ्चालनमा नरहेको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजलाई आफ्नो ३० वर्ष पुरानो जहाज बेच्ने कि नबेच्ने भन्ने निर्णय आगामी सञ्चालक समिति बैठकमार्फत गर्ने भएको छ। 
बिबी एयरवेजले एकथान ठूलो बोइङ जहाज खरिद गर्न डेढ करोड रुपैयाँ दिएर ‘सम्पर्कबिहीन’ भएपछि निगम व्यवस्थापनले सञ्चालक समितिमा यससम्बन्धी प्रस्ताव लगेर निर्णय गर्न लागेको हो। 

बिबीले डेढ वर्षदेखि ‘ग्राउन्डेड’ निगमको एकथान ठूलो बोइङ जहाज गत असोज अन्तिम साता खरिद गरेको थियो । निगम सञ्चालक समितिले बिबीलाई उक्त जहाज बेच्न अनुमति दिएपछि व्यवस्थापनले बिबीसँग जहाजको कूल मूल्यको १० प्रतिशत रकमवापत १ करोड ५१ लाख ८४ हजार रुपैयाँ लिएको थियो। 

‘रकम प्राप्त भएको एक साताभित्र जहाज खरिद सम्झौता गर्ने समझदारी थियो,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले नागरिकसँग भने, ‘तर, त्यसपछि बिबी एयरवेजका सम्बद्ध अधिकारी कोही पनि हाम्रो सम्पर्कमा आएका छैनन् । अब यो जहाज न हामीले अन्य कम्पनीलई बेच्न पायौं न मर्मत गर्न नै पायौं । यही कारण हामी अन्योलमा छौं ।’ 
बिबी एयरवेज गैरआवासीय नेपाली व्यवसायी भवन भट्टको टिबिआई ग्रुपअन्तर्गतको कम्पनी हो । भट्ट गैरआवासीय नेपाली (एनआरएन) संघका नवनियुक्त अध्यक्ष हुन्। 

बिबीका अध्यक्ष भट्ट, प्रबन्ध निर्देशक शिशिर भट्टलगायत उच्च अधिकारी जति ताकेता गर्दा पनि सम्पर्कमै नआएपछि निगम व्यवस्थापनले बाध्य भएर सञ्चालक समितिमा प्रस्ताव लैजान लागेको हो । बिबीका महाप्रबन्धक अनिमेष मिश्रसँग एक महिनाअघि कुराकानी हुँदा ‘हामी आउँछौं’ भने पनि त्यसयता उनीहरू सम्पर्कमा नआएको निगमको भनाइ छ ।
‘उहाँहरूलाई चिठी, इमेल, ल्यान्डलाइन टेलिफोन, मोबाइल फोनबाट पटक–पटक सम्पर्क गर्दा पनि वास्ता गर्नुभएन,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता श्रेष्ठले भने, ‘त्यही भएर अब बस्ने सञ्चालक समिति बैठकमा बिबीलाई जहाज बेच्ने कि नबेच्ने, उसको पैसा फिर्ता दिने कि नदिने भन्ने प्रस्ताव पेस गर्छौं र उपयुक्त निर्णय गर्छौं ।’

यता बिबीका अधिकारीले भने निगमको जहाज आफूहरूले नै खरिद गर्ने बताएका छन् । ‘निगमको बोइङ जहाज हामी नै खरिद गर्छौं,’ बिबीका प्रबन्ध निर्देशक शिशिर भट्टले नागरिकसँग भने, ‘खरिद नगर्ने भए डेढ करोड रुपैयाँ किन बुझाउँथ्यौं ?’

भट्टले आफूहरू सम्पर्कमै रहेको दाबी गरे । निगमले भन्नासाथ उपस्थित हुने पनि उनले बताए । ‘निगमलाई बाँकी रकमको चुक्ता योजना दिन भनेका थियौं, तर अहिलेसम्म दिएको छैन,’ उनले भने, ‘हामी होइन उनीहरू नै सम्पर्कमा छैनन् । यसअघि एनआरएनएको चुनावले केही व्यस्त भएका थियौं, त्यत्ति हो ।’ बिबीले थप मर्मतपछि निगमको जहाजबाट भारतको नयाँदिल्ली उडाउने तयारी गरेको छ।

बिबीले कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एकथान ‘बोइङ ७५७–२००’ सिरिजको जहाज भाडामा लिई २०६९ भदौ २८ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो तर, सञ्चालनको तीन महिनामै सबै उडान बन्द गरेको थियो । पाँच वर्षपछि फेरि अन्तर्राष्ट्रिय उडान गर्ने उद्देश्य लिएर बिबीले वायुसेवा निगमको जहाज तीन दशक पुरानो भए पनि खरिद गर्न १० प्रतिशत रकम बुझाएको थियो। 

बिबीले १४ लाख ६० हजार अमेरिकी डलर (१५ करोड १८ लाख ४० हजार रुपैयाँ) मा जहाज खरिद गरेको हो । यसको १० प्रतिशतवापत हुन आउने १ करोड ५१ लाख ८४ हजार रुपैयाँ बिबीले निगमको खातामा जम्मा गरिदिएको छ ।
निगमले बेच्न खोजेको ‘बि७५७–२००’ सिरिजको उक्त जहाज करिब डेढ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छ । ‘९एन–एसिए’ कलसाइन भएको १ सय ९० सिट क्षमतायुक्त यो जहाज निगमले सन् १९८७ मा अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग खरिद गरेको थियो । यसको नाम ‘कर्णाली’ हो । यो जहाज बेच्न निगमले दुईपल्ट ‘ग्लोबल टेन्डर’ आह्वान गरेको थियो।

निगमका अनुसार उक्त जहाज जे जस्तो अवस्थामा छ त्यहीअनुसार बिक्री गरिएको हो । जहाजमा ‘आरबी२११–५३५इ४’ मोडेलका दुईथान इन्जिन छन् । तीमध्ये एउटा इन्जिनको आयु शून्य छ भने अर्कोको आयु जम्मा १ सय घन्टामात्र छ । जहाज खरिद गर्ने कम्पनीले उडाएर लैजान त्यति अवधि राखिएको हो। 

निगमले बोइङ एसिए जहाज पुरानो भएको र मर्मत खर्च अत्यधिक लाग्ने भएपछि बिक्री गर्ने निर्णय गरेको थियो । यसको दुईथान इन्जिन मर्मत गर्नमात्र करिब २ अर्ब रुपैयाँ लाग्ने भएपछि ‘बनाउनभन्दा बेच्न फाइदा’ भन्दै निगम जहाज बिक्री गर्ने निर्णयमा पुगेको थियो। 

निगमसँग रहेको यस्तै अर्को एउटा जहाज भने उडानमा प्रयोग भइरहेको छ । निगमका दुईथान बोइङले उडान गरिरहँदा वार्षिक २ अर्ब रुपैयाँ आम्दानी गर्थे । तर, ती जहाजले जति आम्दानी गर्थे, त्यसको अधिकांश हिस्सा मर्मतमै खर्च हुने गरेको थियो। 

त्यसबाहेक बि७५७ जहाज उडाउँदा प्रतिउडान जति आम्दानी हुने गर्छ, त्यसको करिब ४५ प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गरेको थियो । अहिले निगमसँग रहेका एयरबस कम्पनीमा निर्मित नयाँ जहाजले भने यसको आधामात्र इन्धन खपत गर्ने गर्छन् । पुरानो हुँदै जानु र मर्मत खर्च उच्च हुँदै गएपछि निगमसँग बिक्रीको विकल्प थिएन।  

तीन दशक पुरानो उक्त जहाज ६ महिनादेखि लिलाम बढाबढमा बेच्न गरेको प्रयास असफल भएपछि निगम सञ्चालक समितिले जहाजको भाउ १७ लाख १० हजार डलरबाट २ लाख १० हजार घटाएर १५ लाख डलरमा बिक्री गर्न व्यवस्थापनलाई अनुमति दिएको थियो।  

पहिलो पटक टेन्डर आह्वान गर्दा एउटा पनि आवेदन परेको थिएन । दोस्रो पटक भने अमेरिकाको एभियन सिस्टम्स इन्कर्पोरेटेड र इजरायलको एपिएस एयरपार्ट्स, सर्भिसेस एन्ड सप्लाइज लिमिटेड तथा नेपालका हिमालया एभिएसन कन्सल्ट्यान्ट तीलगंगा, टिबिआई ग्रुप नेपाल गैरीधारा, जनार्दनमान डंगोल सानेपा, बिबी एयरवेज नागपोखरी र अनु मानन्धर नयाँबानेश्वरले बि७५७ जहाज खरिद गर्न आवेदन हालेका थिए। 

तीमध्ये एभियनले १० लाख डलर, टिबिआई ग्रुपले १२ लाख ५० हजार डलर र हिमालया एभिएसनले १३ लाख डलरमा जहाज किन्ने प्रस्ताव गरेका थिए । बाँकी चारजनाले भने मूल्य प्रस्ताव गरेका थिएनन्। 

प्रकाशित: ३ मंसिर २०७४ ०५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App