६ वैशाख २०८१ बिहीबार
कला

धनगढी तताए हेमन्तले

धनगढी–डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन् । रुबस होटलमा दिउसो भएको एकल रचना वाचन कार्यक्रममा उनले गीत, गजल र कविता सुनाएर माहौल तताए।  

साहित्यिक सृजनामा सधैं सिमान्तकृतहरुको आवाज मुखरित गर्दै आएका विवशले भगवानको खोजी शिर्षक कविताबाट वाचन शुभारम्भ गरे । उनले हली, बा दमाहा र ढोलक, देशको खोजी, कतारको रैबार, भुकम्प, कौशी र बाबा जस्ता मर्मस्पर्शी कविता सुनाए।

सय रुपैयाँको टिकट काटेर कविता सुन्न आएकाहरुले पर्रर ताली बजाएर कविलाई हौस्याएका थिए । उनले छन्दका गीत र डेउडा पनि गाए । विवशको यो दोस्रो एकल वाचन हो । यस अघि गएको असोज ५ गते पोखरामा उनले यसैगरी कविता सुनाएका थिए।  

शनिबार रचना वाचन समूहको प्रस्तुतिमा रोट्रयाक्ट क्लब अफ धनगढी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी र सुदूरपश्चिमाञ्चल गजल मञ्चले संयुक्त रुपमा आयोजना गरेका हुन् । कार्यक्रमलाई रैका ट्राभल्स, रुबस होटल लगायत संस्थाले सहयोग गरेका थिए।

कार्यक्रममा गायक शिशिर साधकको समूहले विवशका केही गीत गाएर दर्शकको मन जित्यो । कार्यक्रमको सुरुमै महाकाव्यकार मनिराज जोशीले कवि विवश र गायकको समूहलाई फूलमाला लगाइदिएका थिए। 

कार्यक्रममा कविहरु पदमराज जोशी, टोपेन्द्र शाह रसिक, अभि अजनवी र जनक रसिकले विवशका सृजनामा आञ्चलिक स्वाद पाइने भन्दै तारिफ गरेका थिए । कवितामा मानवीय पीडाका गहिराईभित्र आस्था अड्याउने ठाउँ खोज्दै हिँडेका छन् विवश । विवश साँस्कृतिक अध्येता पनि हुन्।  

उनका ‘विवशका स्रमाई, असौजको जून र यादै जनमभरि’ गरी तीन वटा गीति एल्बम, आफ्नै मनसँग र सैपालको आँगन कवितासँग्रह तथा कथा एउटै तिम्रो मेरो प्रकाशित छन्। 

रेडियो नेपालबाट विसं २०६८ सालका लागि उनले उत्कृष्ट गीतकार पुरस्कार पाएका थिए । उनका तीन दर्जन गीत रेकर्ड भैसकेका छन्। 

प्रकाशित: ३ मंसिर २०७४ ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App