६ वैशाख २०८१ बिहीबार
राजनीति

पुष्पकमल दाहालका आरोह अवरोह

प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसद भवनबाट बाहिर निस्किँदै पुष्पकमल दाहाल। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रो पटक नेपालको प्रधानमन्त्री बनेका छन्। यस अघि उनी २०६५ साउनमा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। पहिलो संविधान सभा उनले ९ महिना सरकारको बागडोर सम्हाले। तत्कालीन प्रधानसेनापछि रुक्माङगत कटवाललाई हटाउने निर्णय विवादमा परेपछि दाहालले राजीनामा दिएका थिए।

१० बर्षे जनयुद्धको नेतृत्व गर्दै लामो समय भूमिगत जीवन बिताएका दाहाल २०६३ असार २ गते खुला राजनीतिमा सार्वजनिक भएका थिए।

दाहालको जन्म पश्चिम नेपालको कास्कीको लेवाडेमा २०११ मंसिर २६ गते भएको थियो। पिता मुक्तिराम दाहाल र माता भवानीको कोखबाट जेष्ठ छोराको रुपमा जन्मेका दाहालको परिवार उनी ८ बर्षको हुँदा चितवन बसाईं सरेको थियो। २०२६ सालमा एसएलसी उत्तिर्ण गरेका दाहालले रामपुर कृषि क्याम्पसबाट बि.एस्सी एजी गरेका छन्।  

२०२८ मा पुष्पलाल समूहबाट राजनीतिमा प्रवेश गरेका दाहाल चौथो महाधिवेशन हुँदै २०३५ साल देखि पार्टीको पूर्णकालिन कार्यकर्ता बनेका थिए। २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ संविधान सभा सदस्य बनेका दाहाल दोस्रो संविधानसभामा सिराहा ५ बाट निर्वाचित भएका थिए। उनले काठमाडौं १० बाट पराजय ब्यहोरेका थिए।

२०४० सालमा युवक संघको अध्यक्ष बनेका दाहाल असफल सेक्टरकाण्ड पछि पार्टीको बागडोर सम्हाल्न पुगे। २०४६ मा नेकपा मसालको महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री दाहालनै भए। सेक्टरकाण्ड पछि मोहन वैद्यले दाहाललाई पार्टी नेतृत्वमा ल्याएका थिए  त्यस पछि उनी अहिले सम्म पार्टीको नेतृत्वमा छन्।

२०५१ सालमा नेकपा एकता केन्द्रको विस्तारित बैठकले पार्टीको नाम फेरेर नेकपा माओवादी राख्दै २०५२ देखि जनयुद्ध सुरु गरेको थियो। उनी २०५७ मा नेकपा माओवादीको अध्यक्ष बनेका थिए। त्यस अघि २०५१ देखि नेकपा माओवादीको महामन्त्री थिए। कक्षा १० सम्म छविलालको नामले चिनिने उनले त्यहि समय नाम परिवर्तन गरी पुष्पकमल बनाएका थिए। भूमिगत समयमा कल्याण, विश्वास, निर्माण जस्ता भूमिगत नाम राखेका उनी प्रचण्डको नामले चर्तित छन्।

जनयुद्धको समयमा माओवादीले बनाएको जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर समेत दाहाल नै थिए। कास्की हेम्जाकी सीता पौडेलससँग बिबाह गरेका दाहालका तीन छोरी र एक छोरा छन्। दाहालले करिब २ बर्ष गोरखाको आरुघाटमा अध्यापन समेत गराएका थिए।

प्रकाशित: १९ श्रावण २०७३ ११:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App