८ वैशाख २०८१ शनिबार
अन्य

कलाकार अजय सबैतिर ठिक

कलाकार अजय अधिकारी ‘सुशील’ले केही दिनअघि फेसबुकमा तस्बिर पोष्ट गरे । त्यो तस्बिर थियो–घरबाट स्कूल जान हिडेपनि दिनभर बाग्मती नदीमा गएर खेल्ने विद्यार्थीको। 

उनले त्यहाँ लेखेका थिए–‘समय निकालेर विद्यार्थी नियाल्दै गएको थिए, बाग्मतीमा खेलिरहेको देखेँ । केही मलाई देख्दै भागे भने केहीलाई समाएर सम्झाई स्कूल ल्याए । अभिभावक रोजीरोटीको लागि विहानै काममा निस्कन्छन् । छोराछोरी विद्यालय गयौं भनेर दिनभर खेलेर फर्किन्छन् ।’ अजय मासिक एक रुपैयाँ लिएर नर्सरीदेखि मास्र्टससम्म अध्ययन गराउने समता स्कुलका प्रिन्सीपल हुन् । समता यस्तो विद्यालय हो, जहाँ हजारौं विद्यार्थी पढ्न पुग्छन् । धेरै जसोचाँही मजदुरका छोराछोरी हुन्छन । समतामा आएका विद्यार्थीलाई जसरी हुन्छ पढाउनपर्छ भनेर अजय सोचमग्न रहन्छन् । स्कुलले उत्कृष्ट नतिजा हात पार्नमा अजयको मेहनत जोडिएको छ । तर, अजय आफूलाई समता विद्यालयको प्रिन्सीपल भनेर चिनाउँदैनन् । अजय कलाकार हुन् । उनी यही परिचयबाट बढी चिनाउँछन्। 

‘स्कुलमा सामाजिक भावले काम गरेको हुँ,’ उनले भने, ‘मेरो रुची कलाकारिता भएको हुँदा मेरो कलाबाट चिनोस् भन्ने चाहेको हुँ ।’ अजय सामाजिक संजालमा पनि उतिकै चर्चित छन्। कलाकारिता क्षेत्रमा ताराको रुपमा उदाएका अजयले आधा दर्जन बढी एल्बम बजारमा ल्याइसकेका छन्।

अजयले आफूलाई सबै प्रकारको कलाकारको रुपमा उभ्याएका छन् । उनी गीतको रचना गर्छन् । संगीत भर्छन्, गाउँछन् । म्युजिक भिडियोमा खेल्छन् । म्युजिक भिडियोको निर्देशन गर्छन् । यती मात्र होइन्, नाटक पनि बनाएका छन् उनले । अघिल्लो दसैंबेला प्रर्दशन गरेको नाटक ‘काजीबा’ उनैले निर्देशन तथा अभिनय गरेका थिए । सामाजिक सन्देश फैलाउने सर्ट फिल्म ‘सोच’ अजयकै निर्देशन तथा अभियनयमा बनेको थियो । यो फिल्म युट्युवमा करिब ६ लाख पटक हेरिएको छ।

अजयका गीत पनि सन्देशमूलक हुन्छन् । ‘मलाई मन पर्यो हाम्रै नेपाल’ राष्ट्रको कुरा उल्लेख गरेर गाएका छन् । ‘घाँसको भारी’ यसमा आमाले स्मरण गर्दै गाएका छन् । ‘पढ्न आउ भनेर’ बालबालिकाको लागि स्कुल जान प्रेरित हुनेगरी गाएका छन्। 

‘पानी नखाइ बस्नै पर्दैन’ यो अजयलाई ‘युर्टन’ गराउने गीत हो । गायिका कोमल वली र अजयले गाएको गीतमा म्युजिक भिडियो समेत अजय र वलीकै छ । तिजमा श्रीमतीलाई पानी नखाइ व्रत नबस्न अनुरोध गर्दै गाएको गीत तिज बेलाचर्चामा आउने गरेको छ । त्यसैगरी दसैंतिहारलाई  सम्बोधन हुनेगरी गाएको गीत पनि युट्युवमा चर्चामै पाइन्छ। 

यि सबै गीतको शब्द, संगीत र गायन अजयकै छ । अजयले आफ्नो गीत स्रोता तथा दर्शकमाझ ल्याउँदा जन्मोत्सव पारेर ल्याउँछन् । मंसिर ३ उनको जन्म दिन हो । यही दिन उनको लागि कला बाँड्ने दिन बनिदिन्छ । २७औं जन्मदिनको तयारीमा रहेका अजय ‘तिमीलाई एउटा कुरा भन्नलाई ल्याएको’ गीत सार्वजनिक गर्दै छन् । पहिलो एल्बम ‘रहर’ पनि २०६९ सालमा जन्म दिनकै अवसरमा सार्वजनिक गरेका थिए। 

‘कलाकारिता सानैदेखिको रहर हो,’ उनले भने, ‘त्यसैले मैले तीन वटा एल्बमको नाम समेत रहरलाई जोडेर राखेको छु ।’ उनी आफूलाई कलाकारितामै स्थापित पात्रको रुपमा चिनाउन चाहान्छन् । फिल्ममा बाहेक कलाकारिता क्षेत्रमा उनको सबैतिर उपस्थिति देखिन्छ । ‘यसपटक फिल्ममा पनि अभिनय गर्ने अवसर पाएको छु,’ उनले भने, ‘भूमिका चाँहि तय भएको छैन् तर, न्वारनमै चर्चामा आएको फिल्म हो ।’

अजय चर्चाको लागि दौडिदैनन् । ‘मेरो कलाको सबैतिर चर्चा हुनैपर्छ जस्तो लाग्दैन्,’ अजयले भने, ‘जतिले मेरो कला सुन्छन्, हेर्छन सबैले मन पराएका छन् त्यसैमा खुसी छु ।’ अजयका ६ वटा एल्बम बजारमा आएका छन् । भोगेँ, देखेँ अनि लेखेँ किताव पनि बजारमा छ । झण्डै ५० हारहारीमा गीत गाइसकेका अजयले आधा दर्जन बढी म्युजिक भिडियो तथा विज्ञापनमा खेलेका छन् । हाँस्य क्षेत्रमा पनि देखापर्ने अजय सामाजिक कार्यमा पनि अघि देखिन्छन् । प्राकृतिक विपत्तीलगायतमा सहयोग अभियानमा जुट्छन् उनी । 

काठमाडौँकै मध्यमस्तरको परिवारमा जन्मेका उनलाई घरबाट डाक्टर पढ्न दवाव थियो । अजयका दाई अहिले डाक्टर बनेका छन्। ‘म डाक्टर नभएर के भयो र ? मैले पढाएका मेरा विद्यार्थीहरु डाक्टर, इन्जिनियर, नर्स, आर्मी, पुलिस, पत्रकार, व्यवसायी सबै भएका छन,’ उनले भने, ‘म त सामाजिक असल मान्छे बन्न चाहान्छु ।’ उनलाई सबैभन्दा खुसीचाँही त्यसबेला लाग्छ–जब परिवारसँग बस्दा गीत तथा अन्र्तवार्ता टेलिभिजनमा बज्छ । त्यसबेला छोरो डाक्टर नबनेको कुरामा बुबाआमालाई पनि चिन्ता नहुने उनी बताउँछन्। 

प्रकाशित: २ मंसिर २०७४ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App