८ वैशाख २०८१ शनिबार
अन्य

लगानी विस्तार

राजनीतिमा नेताहरूले कुरा बदलिरहनु कुनै अचम्मको कुरा होइन । नेताले विचार बदलिरहनु पनि कुनै अचम्मको कुरा होइन । दल बदलिनु त झनै अचम्मको कुरा भएन । तर, राजनीतिमा जब कुनै व्यापारीले दल बदल्छ, तब साँच्चै अचम्मको कुरा हुने रहेछ । हालसालै मात्र एक ठूला, ठूला मात्र होइन अत्यन्तै ठूला, व्यापारीले एकाएक दल बदल्नुभयो । उहाँको त्यो दल बदल कार्यले देशको राजनीतिमा मात्र होइन, अर्थनीतिमा समेत ठूलै हलचल ल्याइदियो ।

‘तर यो राजनीतिमा अर्थनीतितिरका व्यापारी उद्योगपतिहरू पनि किन भाग लिन आउँछन् हँ ? राजनीतिमा उनीहरूको के काम ?’ अचानक भजनलालले मलाई प्रश्न ग¥यो । वास्तवमा हो पनि । राजनीति र व्यापारी दुई अलग–अलग विधा हुन् । विधा नै अलग्गै भए पनि सँगै चाहिँ किन बस्छन् हँ ?


देशको व्यापारी बन्धु समाजबाट यसरी दल बदलेको यही पहिलो घटना भने थिएन । यस्तो दलबदलको काम यसअघि पनि भई नै रहेको हो । वास्तवमा राजनीतिमा ‘अर्थ’नीतिको कति ठूलो प्रभाव परेको हुन्छ भन्ने कुराको यो नै ज्वलन्त उदाहरण हो । चुनावका वेला त झनै ठूलो प्रभाव पार्छ ।
‘तर यो राजनीतिमा अर्थनीतितिरका व्यापारी उद्योगपतिहरू पनि किन भाग लिन आउँछन् हँ ? राजनीतिमा उनीहरूको के काम ?’ अचानक भजनलालले मलाई प्रश्न ग¥यो । वास्तवमा हो पनि । राजनीति र व्यापारी दुई अलग–अलग विधा हुन् । विधा नै अलग्गै भए पनि सँगै चाहिँ किन बस्छन् हँ ?
यो मैले जवाफ दिन सक्ने सवाल थिएन । अतः मैले यही प्रश्न सोही दलबदलु ठूला व्यापारीसमक्ष नै राखेँ, ‘साउजी, तपाईं हालै पुरानो दल बदलेर नयाँ दल प्रवेश गर्नुभयो । त्यसका लागि धेरै–धेरै धन्यवाद ।’
‘धन्यवाद,’ हल्का मुस्कानसहित उहाँको प्रत्युत्तर आयो ।
मैले पनि हल्का मुस्कानसहित प्रश्न राखिहालेँ, ‘साउजी त देशको एउटा ठूलो व्यापारी हुनुहुन्छ, यो सबैलाई थाहा छ । तर यत्रो ठूलो व्यापारी भईकन पनि किन तपाईं राजनीतिमा आउनुभएको होला ? राजनीतिमा के काम तपाईंको ?’
उहाँले आफ्नो आँखामा लगाइराख्नुभएको सानो पावरदार चस्मा चट्ट निकाल्नुभयो । केही सोच्नुभयो, वा सोचेजस्तो मात्र गरेको हुन सक्छ । अनि भन्नुभयो, ‘हेर्नुस्, म एउटा व्यापारी मान्छे । एउटा व्यापारी मान्छे कुनै पनि ठाउँमा किन जान्छ ?’
‘त्यही त म सोध्दै छु, किन जानुभएको ?’ मैले पनि जोड दिएँ ।
‘त्यही त म सोध्दै छु, किन गएँ हुँला ?’ उहाँले पनि त्यसैमा जोड दिनुभयो ।
‘अब जानुभएको तपाईं हो, मलाई कसरी थाहा हुन्छ किन जानुभयो ? थोडै तान्त्रिक हुँ र म ?’ मैले आफ्नो निरीहता प्रकट गरेँ ।
उहाँको मुस्कानमा केही प्रतिशत बढोत्तरी भयो । भन्नुभयो, ‘हेर्नुस्, म व्यापारमा अत्यन्त सफल भएको एउटा व्यापारी हुँ । त्यसैले मेरो सतप्रतिशत ध्यान सधैँ व्यापारमै केन्द्रित  हुन्छ । राजनीतिमा म आउनुको उद्देश्य पनि मूलतः व्यापार नै हो ।’
‘व्यापार ?! कस्तो व्यापार साउजी ?’ मेरो भने अनुहारमा भएको मुस्कान पनि गायब भयो ।
उहाँको चाहिँ अघि चार दाँत देखिने मुस्कान अहिले सोह्र दाँतमा पुग्यो, ‘हा, हा... व्यापारको कुरा तपाईं बुझ्नुहुन्न । मैले व्यापार व्यवसायकै सिलसिलामा धेरै क्षेत्रमा लगानी गरेको छु । उत्पादन क्षेत्रमा हेर्ने हो भने खाद्यान्न उद्योग, कपडा उद्योग, स्टिल उद्योगमा मैले लगानी गरेको छु । सेवा क्षेत्रमा मनोरञ्जन, इन्टरनेट, टेलिभिजनमा लगानी गरेको छु । सामाजिक क्षेत्रमा त्यति नै लगानी गरेको छु । मैले सबै क्षेत्रमा लगानी गरेँ, तर राजनीतिक क्षेत्रमा भने अहिलेसम्म लगानी गरेको छैन । त्यही लगानी विस्तार गर्ने क्रममा म राजनीतिक क्षेत्रमा आएको हुँ । यसलाई मेरो बिजनेस एक्स्पान्सनको प्लान भन्दा पनि हुन्छ तपाईंले ।’
साउजी राजनीतिक कुरा गर्दै हुनुहुन्छ कि व्यापारिक कुरा गर्दै हुनुहुन्छ, म कन्फ्युज्ड भएँ । मैले भनेँ, ‘तपाईंको यो बिजनेस प्लानचाहिँ मैले बुझिनँ साउजी ।’
‘हा,हा... यो साह्रै सिम्पल कुरा छ,’ उहाँले सम्झाउनुभयो, ‘म चाहन्छु कि देशमा त्यस्तो कुनै क्षेत्र नहोस्, जसमा मेरो लगानी नभएको होस् । अहिले हेर्दा मैले देखेँ कि राजनीतिक क्षेत्रमा त मेरो पटक्कै इन्भेस्ट भएको रहेनछ । त्यसैले यसपटक म राजनीतिक क्षेत्रमा पनि इन्भेस्ट गर्दै छु । अहिले भइरहेको सबै कुरा यसैका लागि हो ।’
‘तर !’ म अकमकिएँ ।
‘तर के ? भन्नुस्,’ प्रश्नका लागि उहाँले नै हौसला दिनुभयो ।
‘राजनीतिमा लगानी गरेर मुनाफा होला र साउजी ? के पाइन्छ र यसमा ?’ मैले सोझो प्रश्न राखेँ ।
उहाँको आँखा अचानक तेजिलो हुन थाल्यो, ‘कुनै पनि व्यापारीले मुनाफा नहुने क्षेत्रमा लगानी गर्छ ? राजनीति त झन् सबैभन्दा राम्रो टर्न ओभर दिने क्षेत्र रहेछ । मैले अहिले पो थाहा पाएँ ।’
‘कसरी ?’ मेरो उत्साहित प्रश्न निस्क्यो ।
‘राजनीतिमा लागिरहेका मानिस तपाईं देख्नुहुन्न ?’ उहाँले आँखा कर्के पार्नुभयो ।
‘देख्छु । तर, देख्दिनँ,’ मेरो अस्पष्ट उत्तर ।
‘राजनीतिमा उनीहरूको लगानी खासै छैन । तैपनि करोडौँको टर्न ओभर लिइरहेका छन् । मैले दशवटा सेक्टरबाट उठाउन नसकेको टर्न ओभर उनीहरू एउटै सेक्टरबाट उठाइरहेका छन् । त्यसैले राजनीति सबैभन्दा बढी मुनाफा दिने सेक्टर हो । यसपटक म यही सेक्टरमा लगानी बढाउँदै छु,’ उहाँको स्पष्ट उत्तर ।
व्यापारीहरूको संघ–संस्थामा चुनावसुनाव हुँदा ‘राजनीति भयो’ भन्ने आरोप लागेको त मैले सुन्ने गरेको छु । तर, यो राजनीतिक दलहरूको चुनावमा ‘व्यापार भयो’ भन्ने कुरा भने पहिलोपटक सुन्दै छु । व्यापारिक संस्थामा राजनीति गर्न मिल्छ भने राजनीतिक दलमा व्यापार गर्न किन मिल्दैन ?
मेरो मनमा अनायास प्रश्न उठे । र, उत्तर पनि मनले नै दिए । मानौँ मनभित्र हाजिरी–जवाफ कार्यक्रम चलिरहेको छ ।          

प्रकाशित: २ मंसिर २०७४ ०७:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App