८ वैशाख २०८१ शनिबार
अन्य

रेलको गीति लिक

मधुरो घाम लागेको एक दिन पुतलीसडकमा चिया गफ जु¥यो, संगीतकार हरि लम्साल र गायक सन्तोष लामासँग । गफ न हो, कुरो र कुलो जता लग्यो, उतै बग्छ भनेझैँ कुरो कुद्यो रेलझैँ ।
खासमा कुरो रेलकै थियो ।  

नेपाली लोकजीवनमा रेल जोडिएकै कारण आज प्लेनको जमानाका कलाकार समेत ‘रेलै’ले गीत चलाइरहेका छन् । रेलका गीत त थोरै मात्र प्रमोसन गरे पनि भव्य चल्ने संगीतकर्मीको विश्लेषण छ । तर नेपालमा गुड्ने रेल कहिले चल्ला त्यो कसैलाई थाहा छैन ।


नेपालमा रेल ल्याउने कुरा हरेकजसो सरकारको अजेन्डा बन्दै आएको छ । हरेकजसो ठूला नेताले पनि  बिकाउ नारा बनाउन छाडेका छैनन् । यस्तै, देशमा रेलको प्रसंग उचालिएको एक सन्दर्भमा मनीष थापाले गीत लेखेछन् –
नेपालैमा नि लै लै रेल आउने कुरा,
कहिले होला नि नारान सपना पूरा ।
कान्छीलाई घुमाउँला भन्ने थ्यो रहर,
तर सबै मनका रहर भएन पूरा ।
अनि गीतकार थापा र संगीतकार लम्सालले त्यो गीतलाई  ‘कथा मेरो’ गीतिसंग्रहमा समेट्ने निर्णय गरे । संगीतकार लम्सालले त्यस गीतलाई नेपाली लोक फ्लेभरमा कम्पोज गरे, अनि आफैँ गाए । त्यो गीतिसंग्रहको बजारमा कुनै चर्चा भएन । ‘एल्बम नै व्यापारिक हिसाबले फ्लप भएपछि गीत हिट हुने कुरै छैन,’ संगीतकार लम्साल भन्छन्, ‘त्यस्तै, सात–आठ वर्षअघिकै कुरा हो ।’
त्यो बजारमा आएन त के भो ? नेपालको राजनीतिक बजारमा रेलको नारा त सधैँ उस्तै बिकाउ भइरहेकै छ । हरेक चुनावका घोषणापत्रको पाना भर्ने इस्यु पनि रेल नै बनाइएको छ । नेपालमा फेरि रेल नगुडेसम्म नेपाली राजनीतिमा रेलको राजनीतिक सपना बाँड्न छाडिने छाँट देखिन्न । राजनीतिमा रेलको एजेन्डाजस्तै नेपाली गीतमा रेल शब्दको ‘दोहन’ भइरहेकै छ ।
रेल शब्द समावेश भएका धेरै नेपाली गीत बहुचर्चित भएका छन्, सपनामा पनि रेलको अनुहार नदेखेका नेपालीका ओठमा समेत झुन्डिएका छन् । पछिल्लो दशक पनि केही रेलका गीतले राम्रै लोकप्रियता पायो । संगीत बजारमा रेलको गीत गाउने क्रम अझै रोकिएको छैन ।
झन्डै दशकअघि नै हरि लम्सालले गाएर पनि गुमनाम भएको ‘नेपालैमा नि लै लै रेल आउने कुरा’ ०७३ मा पुनः रेकर्ड भयो, सन्तोष लामाको स्वरमा । यो गीत ठीक त्यतिबेला सार्वजनिक भयो, जतिबेला दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र छक्का–पन्जामा समावेश ‘पूर्व–पश्चिम रेल’ गीत चर्चाको चरमचुलीमा थियो ।
छक्का–पन्जाको छायामा परेर पनि हुन सक्छ, सन्तोषको गीतले त्यति बजार लिन सकेन । तथापि यो गीतले रेलसँग जोडिएको समृद्धिको सपना राम्रैसँग बोलेको गीत सुन्दा महसुस गर्न सकिन्छ । संगीतकार लम्साल भन्छन्, ‘यो गीतमा सामान्य नेपाली नागरिकको चिन्ता र सपना छ । रेल आए आफ्नी प्रेमिकालाई पूर्वदेखि पश्चिमसम्म घुमाउँला भन्ने रोमान्सको कल्पना पनि छ ।’ देशमा कृषि, पर्यटन लगायत विकासका क्षेत्रमा रेलले कस्तो खालको क्रान्ति ल्याउन सक्छ भन्ने सम्भावनालाई गीतले व्यक्त गरेको छ । गीतमा पूर्वदेखि सुदूर पश्चिम सम्मका महŒवपूर्ण पर्यटकीय स्थलको समेत परिचय दिइएको छ ।
केपी ओलीले पानीजहाज र मेट्रोरेलको प्रसंग उछालिरहेकै वेला रेकर्ड गरिएको यो गीतले राम्रै लोकप्रियता पाउला भन्ने आशा गायक लामाले गरेका रहेछन् । तर, उनले सोचेजस्तो भएन । उनी भन्छन्, ‘तर, फरक खालको गीतका रूपमा राम्रै छाप भने छोड्न सफल भयो ।’ गायक लामा र संगीतकार लम्साल यो गीत केवल गीत मात्र होइन भन्छन् । गीतका हरेक शब्दमा उनीहरू नेपालीको रेल सपना महसुस गर्छन् ।
संगीतकार हरि लम्सालले वास्तविक जीवनमा रेल देखेको भारतमा हो । ‘नेपालमा रेल आउनुको मतलब विकासको मूल फुट्नु हो,’ उनी भन्छन्, ‘सरकारले चाह्यो भने यो त्यति गाह्रो पनि हैन ।’ संगीतकार लम्सालको रेल सपना पनि कमजोर छैन । उनी आफ्नो घर नवलपरासीबाट रेल चढी काठमाडौं आई गीत रेकर्ड गरी बेलुका फेरि घर फर्कने सपना देख्छन् ।
गायक सन्तोष लामाले भने पहिलोपटक रेल चढेको बेलायतको लन्डनमा हो । राजनीतिक व्यवस्था स्थिर भए रेल छिटै आउनेमा उनी आशावादी छन् । भन्छन्, ‘हेरौँ, हाम्रै जीवनकालमा काठमाडौंमा रेल चल्न पनि सक्छ नि ।’
पहिल्यै रेल गीतको सर्जक रहिसकेका संगीतकार हरि लम्सालको रेल गीतियात्रा अझै रोकिएको छैन । हालै लम्सालले शास्त्रीय स्वादमा एउटा कविता गाएका छन् । गएको कुशेऔँसीका दिन धेरै रेडियोले बजाएको गीतमा बुवाको महिमा गाइएको छ । निरा शर्माको रचना र लम्सालको आफ्नै संगीत रहेको कविताको गीति भर्सनमा ‘मोनोरेल’ विम्ब निकै स्वादिलो सुनिएको छ । लम्सालको ‘बा’ गीतको हरफ भन्छ –  
‘हाम्रो अँधेरो मेटाउन मैनझैँ जलिरहे,
हाम्रा खुसी समेट्न मोनोरेलझैँ चलिरहे ।
जिन्दगीभर कुदिरहे, कुदिरहे
थाकेर सुइय नगरी, सधैँ एक्लै कुदिरहे ।’
केपी ओली सरकार र प्रचण्ड सरकारका बेला रेल विषय ‘हट केक’ बनाउने प्रयास गरियो । कहिले सगरमाथा छेडेर चीनबाट ल्याइने रेल, कहिले भारतबाट तराइको पूर्व–पश्चिम रेल, त कहिले सहरमा गुड्ने मेट्रो रेल । सरकार, संसद् र सञ्चार माध्यमसम्मको रेलको तातो बहसले सहर गर्माइरह्यो । यसै मेसोमा संगीतकर्मी राजनराज शिवाकोटीले एक गीतको सिर्जना गरे ।
‘पूर्व–पश्चिम रेल, छुकछुक छुकछुक गुडेको सपना देखेँ मायालु...’
हास्यव्यंग्य प्रधान चलचित्र छक्का–पन्जामा समावेश यो गीत राजनराज र अञ्जु पन्तले गाएका छन् । यो गीतले राजनराज शिवाकोटीलाई कुनै गीतले दिन नसकेको चर्चा दिलायो । उनलाई यसअघि नै चलचित्र ‘वडा नम्बर छ’ को ‘सुर्के थैली खै’ गीतले भयंकर सफलता दिलाइसकेको थियो । यद्यपि चलचित्र संगीतको ‘सुपरडुपर हिट’ भन्ने विशेषण दिने हो भने ‘पूर्व–पश्चिम रेल’लाई दिन मिल्ने विश्लेषण गीतकार शिवाकोटी आफैँ गर्छन् ।
‘पूर्व–पश्चिम रेल’ आमनेपालीको झैँ संगीतकार शिवाकोटीको आफ्नै पनि सपना हो । उनी भन्छन्, ‘त्यही सपनाको प्रतिनिधित्व हुने गरी गीत लेखेको हुँ ।’ देशमा रेलको रेलो चलिरहेका वेला यो गीतलाई धेरैले मन पराएको हुन सक्ने उनी अनुमान गर्छन् । यद्यपि रेल शब्द मात्र नभएर गीत लोकप्रिय हुनुमा संगीत र भिडियो पक्ष पनि जिम्मेवार ठान्छन्, कलाकार शिवाकोटी । अब उनको कामना छ, पूर्व–पश्चिम रेल गाइनेको सपना मात्र नभई विपना भइदियोस् ।
नेपाली गीतमा रेल शब्दको इतिहास लामो छ । तथापि रेल गीतको हरि, सन्तोष अनि राजन भर्सन भने एक अर्थमा फरक छ । फरक यस अर्थमा कि उनीहरुको गीतमा नेपालमै रेल गुडाउने सपनाको प्रतिविम्ब छ । तर, पहिलेपहिलेका लोकगीतमा भारततिर कतै रेल चढेका नोस्टाजिक कथा हुन्थे । तिनमा नेपालकै हिमाल, पहाडमा रेल चलाउने सपना थिएनन् । त्यस मानेमा मनीष अनि राजनहरूलाई रेल गीतको सन्दर्भमा स्वप्नद्रष्टा स्रष्टा भन्दा फरक नपर्ला ।
केही वर्षअघि रामकृष्ण ढकालले गाएको ‘पहाडको छुकछुके रेल, छुट्यो हजुर रोक्दै नरोकी’ ले संगीत बजारमा तहल्का पिटेको थियो । दोस्रो विश्वयुद्धअघि नै बनेको देशको एउटै जनकपुर–जयनगर रेल–वे समेत बन्द छ । यस्तो वेला पनि नेपालीले खै कहाँको पहाडमा गुडेको छुकछुके रेल गीतलाई उधुमै प्रेम गरे । त्यस्तै, हेमन्त शर्माको ‘गुडेको रेल पनि रोक्दिनथेँ मैले त’ गीत पनि सञ्चारमाध्यममा निकै बजाइएको गीतमा पर्छ । लोकपपका लागि चर्चित गायक हेमन्त शर्माले गाएको यो ठट्यौली गीत धेरैको मुखमा झुन्डिएको छ । यीबाहेक अन्य धेरै लोक दोहोरी र पप गीतमा समेत ‘रेल’ शब्दको प्रयोग भइरहेकै छ ।
नेपाली गीतमा रेल शब्दको राइँदाइँ चलेको अहिले  मात्र नभई लामो समयदेखि हो । लालबहादुर खातीको ‘अरु कालो रेलको धुँवाले’ होस् या लोकबहादुर क्षेत्रीको ‘आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा’ कालजयी गीत भएर निस्किए । धर्मराज थापाको ‘आइपुग्यौँ रेलैमा, नौ बजे बेलैमा’ आफ्नो समय मात्र नभई आजसम्म धेरै नेपालीको मनमा बसेको छ । नेपाली भाषामा गीत रेकर्ड गर्ने पहिलो गायिका मेलवादेवीको नाम बरु धेरैलाई थाहा नहुन सक्छ तर उनैले गाएकोे ‘सवारी मेरो रेलैमा’ गीत सदा सुनिन्छ ।
‘अर्काको देशमा, रेलको टिसानैमा’, ‘माया साथैमा उडायो रेलैले (नेपथ्य)’, ‘यो नानीको शिरैमा... मै हुँ कान्छी रेलको ड्राइभर (प्रेमध्वज प्रधान)’, ‘रेलको ढोका बन’,  ‘जाउँजाउँ रेलैमा’ जस्ता पुराना गीत बहुचर्चित रेलका गीत हुन् ।
त्यस्तै, पछिल्लो समय लोकगीतका चर्चित पशुपति शर्मादेखि पप संगीतमा बिपुल क्षेत्रीसम्मले रेलका गीत गाएका छन् । पपगीतमा नौलो अभ्याससहित उदाएका गायक कमल खत्रीले हालै ‘जाउँला रेलैमा’ गीत आफ्नै शब्द र संगीतमा गीत रेकर्ड गरेका छन् । रेल गीत गाउने पंक्तिमा सामेल गर्न सफल भएकी छन्, नयाँ पुस्ताका सेन्सेसन तृष्णा गुरुङ पनि । आफ्नै शब्द र संगीतमा उनले ‘छुकछुक गर्दै रेलैमा’ गाएकी छन् । उनको फरक आवाज त पहिल्यैदेखि मन पराइएको हो, यो गीतका लागि समेत तृष्णा प्रशंसित छन् ।
रेल शब्दमा आधारित नेपाली गीत कति रेकर्ड भए भन्ने तथ्यांक भेट्न अब मुस्किल छ । शम्भु राई र पार्वती राईको युगल स्वर ‘छकछके रेलको इन्जिन’, प्रशान्त तामाङले गाएको ‘जाउँला रेलैमा सरर गोर्खा पल्टन’, रामचन्द्र काफ्लेको स्वर रहेको ‘दार्जिलिङको घुम्तीमा घुम्यो रेल’, ‘रेलैमा फरर के हो’, पशुपति शर्माको गाएको ‘मायाले दिएको रुमाल’, देवी घर्ती र सन्तोष लम्सालको युगल स्वर रहेको ‘छाइछाइ कडिया बजाउँदै रेलैमा’, धन ज्ञाङमी र रीमा गुरुङले गाएको ‘जाऊँ जाऊँ रेलैमा’, देवी घर्ती र प्रेम सापकोटाले गाएको ‘घुमाइदिम्ला जापानी रेलैमा’ जस्ता गीत रेकर्ड भएका छन् । र, चर्चित पनि भएका छन् ।
कवि तथा गीतकार श्रवण मुकारुङ त रेल शब्दलाई नेपालीले असाध्यै प्रेम गरेको देख्छन् । नेपाली गीतमा जस्तै नेपालीको जीवनसँग रेलको साइनो उहिल्यैदेखिको हो । लोकगीतमा रेल विम्बको बीजारोपण रोजगारीका लागि लाहुर जाने दाजुभाइको सपनासँगै भएको उनी मान्छन् ।
‘रेल चढी लाहुरे बन्न जान्थे । फर्कंदा रेलै चढेर फर्कन्थे,’ मुकारुङ भन्छन्, ‘त्यो रेल मिलन र बिछोडको एक प्रकारको वाहक थियो ।’ श्रीमान् रेल चढेर लाहुर जाने र फर्कनु श्रीमतीको जीवनमा ठूलो घटना हुन्थ्यो । त्यस्तै, लाहुरेका आमाबुबा अनि छोराछोरीका लागि रेल त्यस्तै ठूलो चिज थियो । गीतकार मुकारुङ भन्छन्, ‘यसरी रेल मानिसको जीवनकै रूप थियो । अनि, रेल भन्नेबित्तिकै अर्कै खालको अनुभूतिको प्रवाह हुन्थ्यो । त्यसैले लोकगीतमा रेलले सधैँ ठाउँ पायो ।’
जीवनसँग जोडिएका कारण गीतमा ‘रेल’ सुन्दा नेपालीको मन आल्हादित हुने गरेको व्याख्या उनी गर्छन् । ‘रेल दुःखसुखसँग जोडिएको छ । त्यसैले सपना अनि नोस्टाल्जियाका विम्ब गीतमा पनि आएको हो,’ उनी भन्छन्, ‘रेल शब्दसँगको एक प्रकारको प्रेमकै कारण रेलका गीत पनि नेपालीको जिब्रामा झुन्डिएका हुन् ।’
नेपाली लोकजीवनमा रेल जोडिएकै कारण आज प्लेनको जमानाका कलाकार समेत ‘रेलै’ले गीत चलाइरहेका छन् । रेलका गीत त थोरै मात्र प्रमोसन गरे पनि भव्य चल्ने संगीतकर्मीको विश्लेषण छ । तर नेपालमा गुड्ने रेल कहिले चल्ला त्यो कसैलाई थाहा छैन । नेपालको विकासमा ‘रेल’ नारामा सीमित भए पनि नेपाली संगीतको दुनियाँमा भने ‘रेल’ निकै फापेको छ । कुनै दिन रेल चल्यो भने संगीतकार लम्सालको घर ‘नवलपरासीको कावासोतीबाट काठमाडौं आएर गीत रेकर्ड गरेर फेरि कावासोती फर्कने’ सपना पूरा पनि होला ।

प्रकाशित: २ मंसिर २०७४ ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App