७ वैशाख २०८१ शुक्रबार
समाज

जीतपुर-सिमरा उपमहानगरमा ८४ करोड ५० लाख बजेट बिनियोजन

सिमरा- सडक सञ्जाल र शिक्षालाई प्राथमिकतामा राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको प्रथम नगर सभा बिहीबार सम्पन्न भएको छ । उपमहानगरको प्रथम नगर सभाले चालु वर्षका लागि ८४ करोड ५० लाख दुई हजार आठ सय ९२ रुपैयाँको बजेट बिनियोजन गर्दै सडक सञ्जाल, शिक्षालाई मुख्य प्राथमिकतामा राखेको हो । सभाले स्वास्थ्य, कृषि, सिचाई, शहरी विकास, पर्यटन, सहकारीलगायतका कार्यक्रममा बजेट बिनियोजन गर्दै उपमहानगरको निति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

उपमहानगरले चालु खर्चतर्फ ८ करोड ९२ लाख, पुँजीगततर्फ ४५ करोड १४ लाख र सशर्त अनुदान खर्चतर्फ ३० करोड २० लाखको बजेट विनियोजन गरेको हो । उपमहानगरका नगर प्रमुख डा. कृष्ण पौडेलले सभामा नीति तथा कार्यक्रम गर्दै समृद्ध उपमहानगर बनाउने अभियानअन्तर्गत पहिलो चरणमा चालु वर्षका लागि योजना ल्याइएको बताए । प्रथम सभामा बोल्दै नगर प्रमुख डा. पौडेलले नगरबासीको चाहनालाई समेटेर र उपमहानगरमा आवश्यक देखिएका योजनालाई बजेटमा समावेश गरिएको बताए ।

‘लामो समयपछि निर्वाचन भएको छ । उपमहानगरबासीको चाहना र अपेक्षा धेरै छन् । हामीले सकेसम्म योजना समेटने प्रयास गरेका छौं,’ डा. पौडेलले भने ‘वडा र नगर स्तरीय योजनाले पहिलो चरणमा उपमहानगरमा परिवर्तन ल्याउनेछ । उपमहानगरबासीले परिवर्तनको महसुस गर्नेमा आशावादी छु ।’

उपमहानगरले सडक सञ्जालतर्फ तीन करोड ९८ लाख, कृषीमा दुई करोड १६ लाख, शिक्षा एक करोड ३९ लाख, भवन निर्माण तथा शहरी बिकास तीन करोड ३० लाख, स्वास्थ्य एक करोड ८ लाख १५ हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरण एक करोड, खानेपानी तथा सरसफाई एक करोड ३८ लाख, संस्थागत विकास तथा सेवाप्रवाह ९१ लाख, सहकारी ५५ लाख, संस्कृति प्रवद्र्धन ६२ लाख, उर्जा ५५ लाख, उद्योग ३२ लाख ५० हजार, सिचाई २५ लाख, वन तथा भूसंरक्षण २५ लाख, पर्यटन ३० लाख र खेलकुदतर्फ १५ लाख बजेट विनियोजन गरेको छ । उपमहानगरले सबै क्षेत्रको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको नगर प्रमुख डा. पौडेलले बताए । नगर प्रमुख डा. पौडेलले राष्ट्रिय गौरवको आयोजना निर्माण र अब्यवस्थित बसोबासको समस्या समाधान गर्नका निम्ति उपमहानगरले गम्भिरताका साथ अघि बढाउने डा. पौडेलको भनाई थियो ।

उपमहानगरको २४ वडाका लागि तोकिएको ६० लाख बजेटबाट आएको वडा स्तरिय योजनासहित  नगर स्तरिय योजनाका लागि बजेट विनियोजन गरेको उपप्रमुख सरस्वती चौधरीले बताईन् । सभामा बजेट कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख चौधरीले योजना कार्यान्यवनमा उपमहानगर प्रतिबद्ध रहने बताईन् । ‘छोटो समयमा धेरै काम गर्नुछ, सकेसम्म हामीले पूर्वाधार निर्माणमा बजेट छुट्याएका छौ’ चौधरीले भनिन् ‘कार्यान्यवनतर्फ पनि हामी गम्भिर हुनुपर्छ । जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्नुपर्छ ।’

प्रकाशित: २ मंसिर २०७४ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App