coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाजुरा-६\बाजुरा : नयाँ अनुहारबीच प्रतिस्पर्धा

बाजुरा- २०६४ सालयताको निर्वाचन परिणाम हेर्दा बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । २०६४ मा कांग्रेसका देवराज जोशीले ८ सय मतान्तरले जितेका थिए भने २०७० मा एमालेका कर्णबहादुर थापाले ४ हजार बढी मतान्तरले जितेका थिए । दुवै चुनावमा माओवादी तेस्रो स्थानमै रह्यो ।

कांग्रेसले माओवादीभित्रको असन्तुष्टिका कारण जित्ने अनुमान गरेको छ भने एमालेले पार्टीको मतमा माओवादी मत थपिँदा जित सहज हुने आस गरेको छ ।

जितको अन्तर जति भए पनि दुवै निर्वाचनमा कांग्रेसले १८ हजारको हाराहारीमा मत ल्याएको छ । पहिलो संविधानसभा निर्वाचनमा माओवादीले १३ हजार मत ल्याए पनि दोस्रो चुनावमा आईपुग्दा ५ हजार ६ सय ९१ मतमा झरेको थियो ।
स्थानीय तह निर्वाचनमा माओवादी झनै खस्केको छ भने कांग्रेस र एमालेको मतान्तर झिनो छ । नौ स्थानीय तहमध्ये ६ कांग्रेस र ३ मा एमालेले जितेको छ तर मतको संख्या हेर्दा ६ सय ३४ मत कांग्रेसको बढी छ ।
स्थानीय तह निर्वाचनमा कांग्रेसले २३ हजार २ सय ३, एमालेले २२ हजार ५ सय ६९, माओवादीले ३ हजार ९ सय ५६, राप्रपाले १ सय २०, नयाँ शक्तिले ८९ र स्वतन्त्रले ४० ल्याएको देखिन्छ । स्थानीय तहको मत जोड्दा वाम गठबन्धनको २६ हजार ५ सय २५ र लोकतान्त्रिक गठबन्धनको २३ हजार ४ सय १२ मत छ ।
  कांग्रेसले माओवादीभित्रको असन्तुष्टिका कारण जित्ने अनुमान गरेको छ भने एमालेले पार्टीको मतमा माओवादी मत थपिँदा जित सहज हुने आस गरेको छ ।
जिल्लामा    यसपटक नयाँ अनुहारबीच प्रतिस्पर्धा छ । कांग्रेसबाट प्रदेश (क) मा उम्मेदवार रहेका पूर्व भूमिसुधार सहायक मन्त्री जनकराज गिरीबाहेक अरु पाँचजना नयाँ अनुहार हुन् ।
    प्रतिनिधिसभातर्फ कांग्रेस जिल्ला सभापति कविराज पण्डित र वाम गठबन्धनबाट एमाले केन्द्रीय सदस्य लालबहादुर थापा उम्मेदवार छन् । थापा २०५४ सालमा जिल्ला विकास समितिको सभापति थिए । पण्डितले २०४३ सालदेखि नेवि संघबाट राजनीति सुरु गरेका हुन् भने थापाले २०४४ सालदेखि  अनेरास्ववियुबाट राजनीति सुरु गरेका हुन् । पण्डित र थापा दुवै कानुनको विद्यार्थी हुन् । उनीहरु जिल्लामा लामो समयदेखि पार्टी राजनीतिसँगै वकालती काममा सक्रिय छन् । जिल्ला बारमा समेत सँगै काम गरेको अनुभव दुवैसँग छ ।
यस्तै प्रदेश (क) का कांग्रेस उम्मेदवार गिरी २०४० सालदेखि कांग्रेस राजनीतिमा सक्रिय छन् । उनी २०५६ सालको संसदीय निर्वाचनमा विजयी भई २०५८ सालमा भूमि सुधार सहायक मन्त्री बनेका थिए ।
प्रदेश (क) का वाम गठबन्धनका उम्मेदवार बलदेव रेग्मीले २०४७ सालमा राजनीति सुरु गरेका हुन् । द्वन्द्वको समयमा एमालेका तत्कालीन पार्टी सचिव आफ्ना सरोदर दाजु ताराचन्द्र रेग्मीको माओवादी पक्षबाट हत्या भएपछि उनको राजनीतिक सक्रियता बढ्यो । उनी जिल्लामा २०६६ सालदेखि पार्टी सचिवको भूमिकामा छन् ।
प्रदेश (ख) का कांग्रेस उम्मेदवार पदम शाही पुराना नेता हुन् । २०३८ सालमा राजनीतिक यात्रा सुरु गरेका शाहीले २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेलेका थिए ।
यस्तै प्रदेश (ख) का वाम गठबन्धनका उम्मेदवार प्रकाश शाह नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य हुन् । उनी २०४६ सालदेखि राजनीतिमा सक्रिय छन् । २०६६ सालमा एमालेको जिल्ला अध्यक्ष निर्वाचित उनी २०७१ सालमा वैकल्पिक केन्द्रीय सदस्य बनेका हुन् ।

तीन प्रतिद्वन्द्वी एकठाउँमा
वाम उम्मेदवारलाई जिताउन बाजुरामा २०७० को दोस्रो संविधानसभा चुनावमा प्रमुख पार्टीबाट उम्मेदवार बनेका तीनजना एक ठाउँमा छन् । २०७० मा एमालेबाट निर्वाचित कर्णबहादुर थापा, दोस्रो भएका कांग्रेस उम्मेदवार मनबहादुर रावल र  तेस्रो स्थानमा रहेका माओवादीका सहदेव बोगटीले अहिले वाम गठबन्धनको पक्षमा भोट मागिरहेका छन् । रावलले असोज १८ गते कांग्रेस छोडेका हुन् ।

सबैको अजेन्डा : समृद्धि
बाजुराका सबै उम्मेदवारले समृद्धिको योजना अघि सारेका छन् । जनतालाई सुनाउने र भाषणमा बोल्ने सबै अजेन्डा विकास, समृद्धि र परिवर्तनसँग सम्बन्धित छन् । प्रतिनिधिसभाका वाम गठबन्धनका उम्मेदवार थापाले जिल्लालाई दुर्गमताको परिचयबाट मुक्त गर्न उम्मेदवारी दिएको बताएका छन् । उनले समृद्ध नेपाल निर्माण, सामाजिक सांस्कृतिक रुपान्तरण, गुणस्तरीय, सन्तुलित र न्यायिक विकास, ५ वर्षभित्र जिल्लाका ६९ वटै वडामा सडक पु¥याउने र अँध्यारोमुक्त बाजुरा निर्माण गर्ने संकल्प लिएको बताए ।
यस्तै कांग्रेसको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार पण्डितले लोकतन्त्र र संविधानको रक्षाका लागि उम्मेदवारी दिएको बताएका छन् । उनले संविधान कार्यान्वयन, लोकतन्त्रको संस्थागत विकास, शान्ति र स्थिरता कायम गर्न, जिल्लाको सन्दर्भमा यातायात, स्वास्थ्य र शैक्षिक क्षेत्रको गुणस्तर सुधारका साथै युवा बेरोजगारलाई स्वरोगारमुखी कार्यक्रम सञ्चालन गर्नु जितपछिको पहिलो काम हुने बताए ।
प्रदेश (क) का वाम गठबन्धनका उम्मेदवार रेग्मीले भोक, गरिबी र अज्ञानता हटाउनु, सडक निर्माण, बिजुली, पर्यटन क्षेत्रको विकास र जडिबुटीको प्रवद्र्धन गर्नु र कोल्टी क्षेत्रलाई जैतुन जोन र युवा रोजगारीका लागि स्याउ उत्पादनको पकेट क्षेत्र बनाउने योजना अघि सारेका छन् । प्रदेश (क) का कांग्रेस उम्मेदवार जनकराज गिरीले कर्णाली करिडोर चीन र भारतसँगको सम्बन्ध विस्तारका रुपमा विकास गर्नु, मानसरोवर जाने यात्रुका लागि प्रमुख पर्यटकीय मार्ग बनाउनु, पादुका क्षेत्रलाई पर्यटनको हबका रुपमा विकास गर्नु र वाईमा सुक्खा बन्दरगाहको रुपमा विकासको खाका तयार पार्ने योजना बनाएका छन् ।
प्रदेश (ख) का वाम गठबन्धनका उम्मेदवार शाहले समान शिक्षा, सडक विकास, आधुनिक कृषि क्षेत्रको विकास, युवा जनशक्तिको व्यवस्थापन गर्न स्वरोजगारका कार्यक्रम सिर्जना र बाजुरालाई उज्यालो बाजुरा र उत्पादनको बाजुराका रुपमा परिचित गराउने बताएका छन् । त्यस्तै प्रदेश (ख) का कांग्रेस उम्मेदवार शाहीले प्रत्येक वडा कार्यालयसम्म दुई लेनको पक्की बाटो निर्माण, शिक्षा र स्वास्थ्य सेवा सर्वसुलभ बनाउने र एक छाक खानसमेत नपाएकालाई उचित दामसहितको काम दिलाई जीवनस्तर सुधारका गतिविधि सञ्चालन गर्ने बताएका छन् ।

प्रकाशित: २ मंसिर २०७४ ०३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App