coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भूकम्प प्रभावित गुम्बाको सर्वेक्षण सुरु

काठमाडौं- सरकारले २०७२ वैशाख १२ को भूकम्पबाट प्रभावित गुम्बा तथा बिहारको सर्वेक्षण सुरु गरेको छ । सर्वेक्षणका लागि बिहीबारबाट भूकम्प प्रभावित ३१ जिल्लामा इन्जिनियर परिचालन गरिएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सिएलपिआइयू)ले भूकम्प प्रभावित ३१ जिल्लाका गुम्बा÷बिहारको क्षति मूल्यांकन सर्वेक्षण गर्न ९० जना इन्जिनियर खटाएको जानकारी दिएको छ । सिएलपिआइयूका निर्देशक इश्वरचन्द्र मरहठ्ठाले २५ जना इन्जिनियर बिहीबारै जिल्ला पुगिसकेको बताए ।
उनका अनुसार सबैभन्दा बढी गुम्बा क्षति भएको जिल्ला सिन्धुपाल्चोकमा ६ जना इन्जिनियर सर्वेक्षणका लागि खटिएका छन् । दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, मकवानपुर र कास्कीमा तीन–तीनजना र नवलपरासीमा एकजना इन्जिनियर खटाइएको उनले बताए । कास्कीमा खटिने इन्जिनियरलाई पर्वत, बागलुङ, गुल्मी र म्याग्दीमा समेत सर्वेक्षण गर्ने जिम्मेवारी दिइएको छ । ती जिल्लामा गुम्बाको संख्या कम भएकाले थप जिम्मेवारी दिइएको उनले बताए ।
निर्देशक मरहठ्ठाका अनुसार रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, संखुवासभा, गोरखा, तनहुँ, लमजुङ, चितवन, रसुवालगायत जिल्लामा शुक्रबारबाट इन्जिनियर खटिनेछन् । गोरखा, रसुवा, सोलुखुम्बुमा तीन–तीन जना, ओखलढुंगा, खोटाङ, भोजपुर, रामेछाप, संखुवासभामा दुइ–दुई जना र तनहुँ, लमजुङ, चितवनमा एक–एकजना इन्जिनियर खटाइएको छ ।
‘जिल्लामा खटिएका इन्जिनियरले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइ प्रमुख, गुम्बा पुनर्निर्माण संघर्ष समितिका जिल्ला संयोजकलगायत सहभागी हुने बैठकपछि सर्वेक्षणको काम सुरु गर्नेछ,’ निर्देशक मरहठ्ठाले भने । डिएलपिआइयू र स्थानीय तहसँग समन्वय गरी सर्वेक्षण सम्पन्न गरिने उनले बताए । ‘मंसिरभित्र सर्वेक्षणको काम सकेर पुस १५ सम्म नतिजा सार्वजनिक गरिसक्छौं,’ उनले भने, ‘माघ पहिलो साताबाटै पुनर्निर्माणको काम सुरु हुन्छ ।’
निर्देशक मरहठ्ठाका अनुसार बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा प्राप्त निवेदनका आधारमा सिएलपिआइयूले सर्वेक्षण गर्न लागेको हो । ‘अहिलेसम्म ३१ जिल्लाबाट एक हजार तीन सय ५९ गुम्बा तथा बिहारको निवेदन परेको छ । यी गुम्बा तथा बिहारमा के कति क्षति भएको हो विस्तृत क्षति मूल्यांकन गरी त्यसैको आधारमा अनुदान वितरण गरिनेछ,’ उनले भने । कतिपय निर्माण नै नभएका गुम्बाले समेत निवेदन दिएको गुनासो आएको बताउँदै उनले सर्वेक्षणबाट यथार्थ तथ्य आउने जानकारी दिए । ‘वास्तविक क्षति भएका गुम्बालाई क्षतिका आधारमा अनुदान उपलब्ध हुन्छ,’ उनले भने, ‘क्षति पुगेका कुनै पनि गुम्बा नछुटोस् भनेर हामीले १५ दिनको सूचनासमेत जारी गरिसकेका छौं ।’

प्रकाशित: १ मंसिर २०७४ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App