८ वैशाख २०८१ शनिबार
अर्थ

बिचौलियाका सात तह : तरकारीको मूल्य छोई नसक्नु

काठमाडौं- उपत्यकामा हरेक तरकारीको प्रतिकेजी मूल्य एक सय २० रुपैयाँभन्दा माथि छ । मूल्य झनै अकासिने क्रममा छ । गत हप्ता खुद्रा तरकारी पसलमा गोलभेंडाको मूल्य एक सय २० रुपैयाँ थियो । अहिले एक सय ३० सम्ममा बिक्री भइरहेको छ ।
मूल्य बढ्नुमा ५० प्रतिशतले घटेको आपूर्तिको हात रहेको दाबी व्यवसायीहरुको छ । तर यो मौसममा कुनै पनि कोणबाट आपूर्तिमा कमी आउने कारण देखिँदैनन । आलु, प्याज, टमाटर, काउली, भिन्डी लगायत तरकारीको मूल्य एक सय २० रुपैयाँभन्दा माथि पुगेको छ । दैनिक मूल्यवृद्धि भइरहने हो भने खाद्यान्नभन्दा तरकारीको मूल्य धेरै हुने देखिन्छ ।
कृषि विकास मन्त्रालयका सह–सचिव तथा कालीमाटी फलफूल बजारका अध्यक्ष काशीराज दाहाल भने आपूर्तिमा कमी आउनुका साथै बिचौलियाका कारण तरकारीको मूल्य बढेको बताउँछन् । ‘तरकारीको मूल्यवृद्धि हुनुको प्रमुख कारण किसानदेखि उपभोक्तासम्म आई पुग्दा सात तह पार गर्नुपर्ने बाध्यता हो,’ दाहालले भने, ‘अहिले आपूर्तिमा कमी आएको मौका पारेर प्रत्येक तहले नाफा बढाउँदा मूल्य अकासिएको हो ।’ उनका अनुसार यो बीचमा ६ तहले पहिलेको भन्दा २०–२० प्रतिशत बढी नाफा राखेका कारण अहिले उपत्यकामा तरकारीको मूल्य अकासिएको हो ।
उनका अनुसार अहिले करिब चार लाख मेट्रिक टन तरकारी आपूर्ति भइरहेको छ । विगतमा सात लाख मेट्रिक टन तरकारी आपूर्ति हुने गरेको थियो । अहिले आधा घटेको छ ।
‘निर्वाचनले पनि तरकारीको मूल्यमा असर गरेको छ । गाउँमा उत्पादन गरिएको तरकारी निर्वाचनका कारण गाउँमा नै खपत भइरहेको छ, ‘उनले भने, ‘काठमाडौं आइपुगेका तरकारी किसानदेखि कालीमाटी हुँदै उपभोक्तासम्म पुग्दा बिचौलियाले नाफामाथि नाफा राखेका कारण तरकारीको मूल्य अकासिएको हो ।
गाउँमा किसानले उत्पादन गर्ने तरकारी गाउँमा नै ठेकेदारले जम्मा गर्छन् । यसपछि अर्को व्यक्तिले लिन्छ । उसले फेसर चौथो व्यक्तिलाई बिक्री गर्छ । पाँचौं व्यक्तिले ढुवानी सहित उपत्यका ल्याउँछ । छैटौंमा कालीमाटीमा नयाँ मूल्य निर्धारण हुन्छ । यसपछि होलसेल हुँदै उपभोक्तासम्म तरकारी पुग्दा  सातौं तह हुन्छ । हरेक तहमा २० प्रतिशतका दरलले नाफा राख्दा उपभोक्तामाझ ६० रुपैयाँको काउली एक सय ५० रुपैयाँ मूल्य देखिएको दाहालको भनाइ छ ।  
तरकारी मूल्य निर्धारण गर्ने कुनै नीति छैन । बजारकै कारण तरकारीको मूल्य निर्धारण हुन्छ । तरकारी बिक्री वितरणको स्पष्ट नीति छैन । सरोकार संस्थाले यसतर्फ ध्यान दिन जरुरी रहेको दाहाल बताउँछन् ।
कालीमाटी बजारभित्रै दुईथरी मूल्य
कालीमाटी फलफूल तथा तरकारी विकास समितिको एउटा बजार छ भने केही निजी व्यवसायीले छुट्टै खुद्रा तरकारी बजारको ६० वटा स्टल राखेका छन् । तरकारी बजारभित्र स्टलको मूल्य तीन हजारदेखि ४५ सयसम्म रहेको समितिले जनाएको छ । यसरी छुट्टै खुद्रा तरकारी पसल राखेका कारण पनि बजारभित्रै तरकारीको मूल्यमा अन्तर देखिएको उपभोक्ता बताउँछन् ।
होलसेलको मूल्यमा यहाँ १० देखि ५० प्रतिशले महँगो पर्ने गरेको समितिकै कर्मचारी बताउँछन् । यसरी हेर्ने हो भने कालीमाटीभित्र नै तरकारीको मूल्य नियन्त्रण छैन । कहिलेकहीँ तरकारीको मूल्यवृद्धि हुनुमा व्यवसायी र समितिको मिलमतो भएको आरोप समेत लाग्दै आएको छ ।
तरकारीमा बिलिङ सिस्टम छैन
तरकारीमा कतै बिलिङ सिस्टम छैन । बिलिङ सिस्टम नभएका कारणले तरकारीको मूल्य वृद्धि नियन्त्रण हुन सकेको छैन । मूल्य वृद्धि नियन्त्रणका लागि कुनै नीति छैन । किसान, होलसेल हुँदै उपभोक्तासम्म बिलिङ सिस्टम भए तरकारीको मूल्य नियन्त्रण हुन सक्ने कृषि विकास मन्त्रालयका सहसचिव तथा तरकारी बजारका अध्यक्ष दाहालको भनाइ छ ।
होलसेल तरकारीमा ४० प्रतिशत नोक्सान
स्थानीय तरकारी ठेकेदारले किसानबाट तरकारी किन्दा विग्रिएको, कुहिएको समेत होलसेलमा लिँदा उपभोक्तलाई दोहोरो मार खेप्नु परेको छ । यसकारण  उपभोक्ताले तरकारी किन्ने क्रममा कुहिएको तरकारीको मूल्यसमेत तिर्नुपर्ने अवस्था रहेको दाहालले बताए । होलसेलबाट उपभोक्तासम्म पुग्दा ३० देखि ४० प्रतिशत नोक्सान बेहोर्नु पर्ने अवस्था छ ।
 प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना निस्क्रिय
स्थानीयत तहबाट देशको मुख्य सहरमा तरकारी आयात गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बनेको छ । तर, अहिलेसम्म कुनै काम गर्न सकेको छैन । चालु आर्थिक वर्षबाट सञ्चालनमा आएको उक्त परियोजनामा ६ अर्ब रुपैयाँ बिनियोजन गरेको छ । यस रकमबाट ५० देखि ८० प्रतिशत किसानलाई अनुदान दिने व्यवस्था रहे पनि प्रभावकारी काम हुन सकेको छैन ।
यता, कृषि विकास मन्त्रालयका सह–सचिव दाहाल स्थानीय सहकारी तथा समूहसँग समन्वय गरेर ग्रामीण क्षेत्रमा उत्पादन गरिएको तरकारी सहरसम्म पु¥याउने योजना भइरहेको बताउँछन् ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अधिकृत मनोज धितालले ५० प्रतिशत मात्रै तरकारी आपूर्ति भएका कारण तरकारीको मूल्य अकासिएको बताउँछन् ।
‘राजधानीमा तरकारी आपूर्ति हुने मुख्य क्षेत्र तराई हो । केही महिनाअघि आएको बाढीका कारणले पनि उत्पादनमा समस्या भयो । भारतबाट आयात हुने तरकारी उतै महँगो छ । उपत्यकाबाहिरका मुख्य सहरमा समेत तरकारी खपत वृद्धि भएका कारण काठमाडौंमा तरकारी कम आयात भएको हो,’ उनले भने ।  
थोक मूल्यमा सानो गोलभेंडा प्रतिकेजी ७२ रुपैयाँ भए पनि बजारमा एक सय १० रुपैयाँ छ । पोहोर कात्तिक महिनामा सरदर सानो गोलभेडाको मूल्य ३७ रुपैयाँ थियो । थोक मूल्यमा प्रतिकेजी प्याज ६७ रुपैयाँ रहेकोमा खुद्रा बजारमा भने एक सयभन्दा माथि रहेको उपभोक्ता बताउँछन् । गत वर्ष कात्तिकमा सरदर प्याजको मूल्य २३ रुपैयाँ थियो ।
गाँजर  प्रतिकेजी ९१ रुपैयाँ छ । बन्दा ६७ रुपैयाँ छ । यसको मूल्य बुधबारको तुलनामा २० प्रतिशतले वृद्धि भएको छ । स्थानीय काउली भने बुधबारको तुलनामा २३ प्रतिशतले मूल्य घटे पनि बजारमा भने एक सयभन्दा माथिको दरमा बिक्री भइरहेको छ ।  
असोज–कात्तिकको समयमा तरकारीको उत्पादनमा तुलनात्मक रुपमा कमी आउनु, सिजन अनुसार मागको उत्पादनमा वृद्धि गर्न नसक्दा बजारमा तरकारीको मूल्य वृद्धि भएको तरकारी व्यवसायी जीवन श्रेष्ठले बताए । उनका अनुसार कालीमाटीमा दसैंअधिको जस्तो चाप छैन । ‘आपुत्र्ति कम भएका कारण तरकारी मूल्यमा फरक पर्न गएको हो,’ उनले भने ।
कालीमाटी फलफूल तथा तरकारी विकास समिति र बल्खु कृषि तथा तरकारी बजारमा तरकारी आपूर्तिमा कमी भएको व्यवसायी बताउँछन् ।

प्रकाशित: १ मंसिर २०७४ ०६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App