६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रदेश १/धनकुटा : बिरासत जोगाउन दुवै गठबन्धनलाई चुनौती

धनकुटा- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनकुटामा वामपन्थी र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ । धनकुटामा वाम र लोकतान्त्रिक गठबन्धनको मात्रै चुनावी प्रचार देखिएको छ । साना दलहरु छायामा परेका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा एक लाख ५ हजार १८८ मतदाता छन् । जिल्लामा वाम गठबन्धनमा २ र लोकतान्त्रिक गठबन्धनमा तीनवटा दल सामेल छन्।

जिल्लामा दुवै गठबन्धनबाट पुराना र राष्ट्रिय राजनीतिमा दखल राख्ने व्यक्तिहरु चुनावी प्रतिस्पर्धामा छन्। प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले धनकुटाका अध्यक्ष राजेन्द्रकुमार राई र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापा मुख्य प्रतिस्पर्धी हुन्।

यी दुवै जना उम्मेदवार साबिक मुगा गाविस हाल पाख्रिबास नगरपालिका निवासी हुन् । पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा पञ्चायतकालमा प्रधानमन्त्री भएका बेला बहुदलीय व्यवस्थाका लागि २०३५÷३६ सालमा जेलनेल भोगेका राई वाम गठबन्धनका उम्मेदवार हुन्। मुगामा थापा परिवारसँग पौंठेजोरी खेल्दै हुर्केका राई उनै थापाका छोरा सुनिलबहादुरसँग चुनावी प्रतिस्पर्धामा छन् । २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा २ मा यी दुवै उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला थापाले राईलाई ४५६ मतअन्तरले पराजित गरेर बुवा थापाको बिरासत थामेका थिए।

२०७४ सालको स्थानीय तह निर्वाचनमा धनकुटाको सातवटै तहमा जितेको एमालेका उम्मेदवार राई माओवादी केन्द्रको सहयोगमा वर्चस्व जोगाउने अभियानमा छन् । त्यस्तै बुबा थापाले जित्दै आएको जिल्लामा कांग्रेस र संघीय समाजवादी फोरमको सहयोगमा बिरासत जोगाउने चुनौती राप्रपा प्रजातान्त्रिकका उम्मेदवार एवं बहालवाला उद्योगमन्त्री थापासँग रहेको छ ।

दुवै उम्मेदवारले आफंैले जित्ने दाबी गरेका छन् । एमाले उम्मेदवार राई अघिल्लो निर्वाचनभन्दा फरक परिस्थिति रहेको र वाम गठबन्धन इमानदारपूर्वक कार्यान्वयनमा लागेकाले सजिलै जित्ने दाबी गर्छन् । वामपन्थीको किल्ला रहेको धनकुटाको साबिक क्षेत्र नं. १ मिसिएकाले वाम गठबन्धनका उम्मेदवारलाई सहज हुने अनुमान छ । तर पैसा र पावरको सही सदुपयोग गर्न सक्ने राप्रपा प्रजातान्त्रिकका उम्मेदवार थापाले वाम गठबन्धनभित्रका र बाहिरका मत प्रभावित गर्न सक्ने आकलन धेरैकोे छ । संगठनबिनै चुनाव जित्दै आएका थापाले आफूले प्रतिस्पर्धात्मक रुपमा जित निकाल्ने बताए।

स्थानीय निर्वाचनमा ७ वटा स्थानीय तहको प्रमुखका उम्मेदवारको पाएको मतको आधारमा वाम गठबन्धनसँग ३९ हजार ९८६ मत छ ।  लोकतान्त्रिक गठबन्धनसँग २२ हजार ८२ मत छ । यो मतको आधारमा वाम गठबन्धन १७ हजार ९०४ मतले अगाडि छ । वाम गठबन्धनलाई जित्नका लागि यो मत पर्याप्त भए पनि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वामपन्थीकै मत चोरेर जित्ने दाउमा छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभाका लागि राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्र रसाइली,  एकीकृत राप्रपा राष्टबादीका सुभानसिं राई, नेसनल मंगोल अर्गानाइजेसनका श्याममान राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रसिंह नेम्वाङले उम्मेदवारी दिएका छन् । वाम र लोकतान्त्रिक गठबन्धनका कारण उनीहरुको उम्मेदवारी चर्चाबाहिर छ।
 

दुवै उम्मेदवारलाई अन्तरघातको चिन्ता
वाम र लोकतान्त्रिक गठबन्धनका दुवै उम्मेदवारलाई आफ्नै पार्टीभित्र र गठबन्धनका दलका असन्तुष्ट कार्यकर्ताबाट असहयोग हुने खतरा छ । लोकतान्त्रिक गठबन्धनमा उम्मेदवार बनेका थापालाई उनका पुराना सहयोगीले साथ दिएका छैनन् । बुबा थापाले साथमा राखेका पुराना पञ्च गोपाल थापा एमाले प्रवेश गरी पाख्रिबास नगरपालिका वडा नं. ५ को वडाध्यक्ष निर्वाचित भएका छन् । मूर्तिढुंगामा प्रभाव पार्ने केशव काफ्लेको मृत्यु भएको छ। पञ्चायतकाल र बहुदलीय व्यवस्थामा पनि जनप्रतिनिधि भएका मानबहादुर मिश्र, टीकाप्रसाद घिमिरे, माधव भट्टराईलगायत निष्क्रिय छन्।

त्यस्तै कांग्रेस र संघीय समाजवादी फोरमका कार्यकर्ताले समेत अन्तरघात गर्ने सम्भावना उत्तिकै छ । असहयोग भए एमाले उम्मेदवार राईलाई फाइदा हुनेछ।

त्यसो तर एमाले उम्मेदवार राईलाई पनि वाम गठबन्धनमा रहेका माओवादी केन्द्रमा असन्तुष्ट नेताकार्यकर्ताले असहयोग गर्ने खतरा छ। पार्टीमा सर्वसम्मत उम्मेदवार बनेका राईलाई २०७० सालमा जस्तो पार्टीभित्रैका कार्यकर्ताले असहयोग गर्ने अवस्था नरहे पनि केही कार्यकर्ताले उनलाई साथ नदिने सम्भावना छ। आफ्नै कार्यकर्ता विपक्षमा लागे र माओवादी केन्द्रका असन्तुष्ट कार्यकर्ताले विपक्षमा मतदान गरे राईलाई खतरा हुनेछ। त्यसैले एमालेले सबै कार्यक्रममा माओवादी केन्द्रलाई अगुवा बनाएको छ । जिल्लाको निर्वाचन परिचालन कमिटीको संयोजक र गाउँ तहको संयोजक माओवादी केन्द्रका कार्यकर्ता छन्।

लोकतान्त्रिक गठबन्धनले संयुक्त चुनावी कार्यक्रम बनाउन सकेको छैन। ‘आआफ्नै तरिकाले चुनावी कार्यक्रम गरिरहेका छाैं। मंसिर लागेपछि संयुक्त चुनावी सभा आयोजना गर्छौं’, कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले भने।  

प्रदेशमा दुवै गठबन्धनको प्रतिस्पर्धा
प्रदेशसभामा धनकुटाका दुवै निर्वाचन क्षेत्रमा वाम र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा छ । प्रदेशसभाको (क) निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट एमालेका निरन राई र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका मनोहरनारायण श्रेष्ठ मैदानमा छन्।

एमाले उम्मेदवार राई वामपन्थी नेता भक्त बोलना राईका छोरा हुन् भने कांग्रेस उम्मेदवार श्रेष्ठ सहिद भीमनारायण श्रेष्ठका छोरा हुन् । संविधानसभा निर्वाचन २०७० मा समानुपातिक सांसद बनेका श्रेष्ठ ०४८ सालको आमनिर्वाचन र २०६४ सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका थिए । एमाले उम्मेदवार राई पहिलोपटक उम्मेदवार बनेका हुन्। यो क्षेत्रमा चौबिसे गाउँपालिका, साँगुरीगढी गाउँपालिका, खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाका १, २, ३, ६ र ६ नम्बर वडा र धनकुटा नगरपालिकाका वडा नं. २ बाहेक सबै वडा पर्दछ । स्थानीय तह निर्वाचनमा वाम गठबन्धनले यस क्षेत्रमा २० हजार ९६० मत पाएको छ । लोकतान्त्रिक गठबन्धनसँग १२ हजार ६२४ मत छ।

त्यस्तै (ख) निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट पूर्वजिविस सदस्य इन्द्रमणि पराजुली उम्मेदवार छन्। लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अर्जुन थापा छन्। थापा २०४८ र २०५६ सालमा कांग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवार भएका थिए भने पराजुली पहिलोपटक उम्मेदवार बनेका हुन्। यो क्षेत्रमा पाख्रिबास नगरपालिका, महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिका, खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाका ४ र ५ नम्बर वडा र धनकुटा नगरपालिकाको वडा नं. २  पर्दछ। यो क्षेत्रमा स्थानीय तह निर्वाचनमा वाम गठबन्धनले १९ हजार ३६ मत पाएको थियो । लोकतान्त्रिक गठबन्धनले ९ हजार ४५८ मत पाएको थियो।

प्रकाशित: १ मंसिर २०७४ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App