७ वैशाख २०८१ शुक्रबार
राजनीति

उम्मेदवारलाई लक्षित गरी जताततै बम आक्रमण

बाग्लुङको गल्कोट नगरपालिका हटियामा एमाले–माओवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रमस्थलनजिक विस्फोट भएको छ ।
गल्कोट बहुमुखी क्याम्पसको प्रांगणमा कार्यक्रम भइरहँदा क्याम्पसको पछाडिपट्टि डम्पिङ साइटबाट विस्फोटको चर्को आवाज आएको कार्यक्रम स्थलमा पुगेका पत्रकार रामबहादुर जिसीले बताए । फोहोर फालिएको ठाउँबाट विस्फोटको आवाज आए पनि हेर्दा केही नदेखिएको जिसीले बताए । ‘चर्को विस्फोटको आवाज आयो, हामी पनि यही थियौं,’ जिसीले भने, ‘पछि हामी सबै त्यहाँ गएर हेर्दा केही त्यस्तो चिज देखिएन ।’
जिल्ला प्रहरी कार्यालय बाग्लुङले भने विस्फोटको कुनै जानकारी नआएको जनाएको छ । ‘हामीलाई सबैजनाले यही भनेर सोधिरहनुभएको छ,’ जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता डिएसपी विश्वराजसिंह थापाले भने, ‘हामी निरन्तर सम्पर्कमा छौं, हाम्रो च्यानलबाट त्यस्तो कुनै जानकारी आएको छैन ।’
कार्यक्रम स्थलनजिकबाट चर्को विस्फोट आवाज आएपछि कार्यक्रममा सहभागी तितरबितर भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आउने कार्यक्रम थियो ।

नारायणकाजीलाई लक्षित गरी बम विस्फोट
गोरखा–२ का उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी गोरखा नगरपालिका ११ सिर्दीखोलाछेउको सडकमा बिहीबार बम विस्फोट भएको छ । दिउँसो करिब चार बजेतिर सडक छेउको फोहोरमा एक्कासि बम पड्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले स्थानीयलाई उद्धृत गर्दै भने, ‘बिहानैदेखि त्यहाँ बम रहेछ, कसैले पनि भनेनन्, पछि थाहा भयो ।’ कन्टेनरजस्तो बाकसबाट पड्किएकाले कुन खालको बम भन्ने अझै यकिन भएको छैन ।
बिहीबार दिउँसो गोरखा नगरपालिका ११ मा नारायणकाजी श्रेष्ठसहित चुनाव प्रचार टोलीको बैठक बसिरहेको थियो । उक्त टोलीलाई लक्षित गरी पड्काएको हुन सक्ने आशंका प्रहरीको छ । चुनाव बहिष्कार गर्ने टोलीले उक्त घटना गराएको हुन सक्ने आशंका प्रहरीको छ । बम पड्किएको स्थान हुँदै केही समयअघि मात्रै गोरखा–२ का उम्मेदवार श्रेष्ठसहितको वाम गठबन्धनको टोली हिँडेको थयो । बम पड्किएको ठाउँमा खाल्डो परेको छ ।

सिँचाइ राज्यमन्त्रीको गाडीमा विस्फोट
रोल्पामा उम्मेदवारलाई लक्षित गर्दै बिहीबार फेरि बम विस्फोट गराइएको छ । सिँचाइ राज्यमन्त्री तथा नेपाली कांगेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार अमरसिंह पुनको गाडीलाई लक्षित गर्दै बम विस्फोट गराइएको हो । सदरमुकाम हुँदै जौलिपोखरीको सभामा भाग लिन हिँडेका पुनको गाडीलाई लक्षित गर्दै घोडागाउँमा बम विस्फोट गराइएको थियो ।
विस्फोटलगत्तै राज्यमन्त्री पुनले भने, ‘जसले गराएको भए पनि यो काम राम्रो होइन । यस्ता गतिविधि तुरुन्तै बन्द गरिनुपर्छ ।’ उनले थपे, ‘विस्फोट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गराएको आशंका छ। मसँगै चुनावी मैदानमा रहेका प्रतिस्पर्धीले तर्साउन पनि घटना गराएको हुन सक्छ ।’ विस्फोट गराउनेको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले बताए ।
‘बम विस्फोट सुनियोजित’
म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा मंगलबार लोकतान्त्रिक गठबन्धनविरुद्ध लक्षित गरी गराइएको बम विस्फोट सुनियोजित भएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । कांग्रेसले उक्त घटनालाई लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनका लागि हुन लागेको शान्तिपूर्ण निर्वाचन बिथोल्न गरिएको असफल प्रयासको संज्ञा दिएको छ ।
कांग्रेस म्याग्दीका सभापति एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार खमबहादुर गर्बुजा ‘खम्बिर’ ले जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक गठबन्धनको मनोबल गिराउन घटना गराइएको उल्लेख छ । ‘जनताको उर्लंदो साथ र समर्थनबाट आत्तिएकाको सुनियोजित घटना हो, घटनामा संलग्न भएकाको खोजीमा जोड दिइयोस्,’ विज्ञप्तिमा भनिएको छ ।
रत्नेचौरमा चुनावी आमसभा सम्पन्न गरी अर्जममा घरदैलो र ज्यामरुककोटमा चुनावी आमसभाका लागि जाँदै गरेको अवस्थामा कांग्रेसका निवर्तमान सांसद रेशमबहादुर बानियाँ, लोकतान्त्रिक मोर्चाबाट प्रदेश (क) का उम्मेदवार भीमप्रसाद गौचन, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ र उपमेयर सञ्जु बरुवाललगायत सवार सवारीसाधनलाई लक्षित गरी घटना गराइएको कांग्रेसले जनाएको छ ।
लोकतान्त्रिक गठबन्धनलाई जिल्लाका अन्य क्षेत्रमा समेत विभिन्न अवरोध गर्नुका साथै धम्कीपूर्ण पत्र पठाइएकोप्रति कांग्रेसले सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ । पश्चिम म्याग्दीमा पार्टीका सक्रिय कार्यकर्तालाई विप्लव माओवादीको नाममा निष्क्रिय बस्न अनुरोधसहित चेतावनी पत्र पठाइएको छ ।

बम पड्काउने पक्राउ
निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चारजना कार्यकर्ता पक्राउ परेका छन् । पूर्व सूचना तथा सञ्चारमन्त्री एवं प्रदेश सभा (ख) का वाम गठबन्धनका उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि उनीहरु पक्राउ परेका हुन् । चुनावविरोधी गतिविधि हुन सक्ने आशंकामा प्रहरीले बिहीबार भोजपुरका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लोकबहादुर बिष्ट, दुर्गा भट्टराई, जीवन राई र गोपाल पराजुली छन् । पराजुली नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष र बिष्ट सचिव हुन् । यस्तै भट्टराई राष्ट्रिय युवा जनस्वयंसेवकका जिल्ला सदस्य र राई स्थानीय स्वाथ्यचौकीका कर्मचारी भएको भोजपुरका प्रहरी नायब निरीक्षक गीतानारायण चौधरीले बताए । नेपाल कम्युनिस्ट पार्टीले भने विज्ञप्ति जारी गरी पक्राउको विरोध गरेको छ ।
जिल्लामा उम्मेदवार र राजनीतिक दलसँग छलफल गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । शेरधन राईसँग मात्र अंगरक्षक रहेकोमा बुधबारबाट थप पाँचजना उम्मेदवारलाई पनि अंगरक्षक उपलब्ध गराइएको छ ।

संगम घर्तीमगर/बाग्लुङ, नरहरि सापकोटा/गोरखा, हरिकृष्ण गौतम/म्याग्दी, दिनेश सुवेदी/रोल्पा, एक्सन राई/भोजपुर

प्रकाशित: १ मंसिर २०७४ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App