७ वैशाख २०८१ शुक्रबार
खेल

अफगानिस्तानसँग बदलाको अवसर [भिडियो]

काठमाडौं- सन्दीप लामिछानेको कप्तानीमा चार महिनाअघि नेपाली युवा टोलीले सिंगापुरमा आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगता खेलेको थियो । चार टोली सहभागी प्रतियोगिताका बाँकी दुई टोलीलाई हराएको नेपाल अफगानिस्तानसँग निरीह बन्यो । समूह चरण र फाइनल गरी अफगानिस्तानविरुद्धका दुवै खेलमा नेपाल नमीठो हार स्विकार्न बाध्य भयो । फलस्वरूप नेपाल न्युजिल्यान्डमा हुने २०१९ को यु–१९ विश्वकप खेल्नबाट वञ्चित भयो ।

त्यसको ठीक चार महिनापछि शुक्रबार पुनः नेपालले अफगानिस्तानविरुद्ध खेल्दै छ, एसिसी यु–१९ युथ एसिया कपमा । जहाँ नेपाललाई उक्त हारको बदला लिने अवसर छ । विश्वकप छनोटमा हार्दाको दुवै खेलमा नेपालका ब्याट्म्यानहरूले कमजोर प्रदर्शन गरेका थिए । त्यसको तुलनामा नेपाली युवा टोलीले मलेसियामा सन्तुलित प्रदर्शन गरिरहेको छ । नेपालले सन्दीपको स्थानमा ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई कप्तानीको जिम्मेवारी दियो ।
‘शुक्रबार अफगानिस्तानविरुद्धको महŒवपूर्ण खेल खेल्दै छौं । केही महिनाअघि उनीहरूले हामीलाई दुई पटक हराइसकेका छन्,’ अफगानिस्तानविरुद्धको खेलबारे नेपाली युवा टोलीका मुख्य प्रशिक्षक विनोद दासले थपे, ‘तर, अहिले अवस्था फेरिएको छ । त्यसयता हामीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सुधार गरेका छौं । अफगानिस्तानविरुद्धको खेलका लागि हामी तयार छौं ।’
पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएर प्रतियोगिता थालेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । अपराजित रहँदै आएको भारतलाई १९ रनले हराएको नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आयोजक मलेसियालाई ८ विकेटले पाखा लगाएको थियो । सेमिफाइनल प्रवेशका लागि मलेसियामाथिको जित मात्र पर्याप्त नहुने नेपाललाई बंगलादेशले भारतलाई हराइदिएपछि नकआउट चरण प्रवेशका लागि बाटो खुला भएको हो । उपाधिका लागि बलियो दाबेदार मानिएको भारत र श्रीलंका समूह चरणबाटै बाहिरिँदा समूह ‘ए’ मा उपविजेता बनेको नेपालले सेमिफाइनलमा अफगानिस्तानलाई प्रतिद्वन्द्वी पायो ।
अफगानिस्तानविरुद्धको विगतलाई फर्केर हेर्ने हो भने नतिजा नेपालको पक्षमा छैन । यसअघि खेलेका ९ मध्ये ६ खेलमा नेपाल पराजित भएको छ । तीन खेलमा नेपालले नतिजा आफ्नो पक्षमा पारेको छ । पछिल्ला चार खेलमा नेपाल निरीह बनेको छ । तर, नेपालका प्रशिक्षक दासले शुक्रबारको खेलमा आफ्नो टोली कुनै दबाबमा नरहेको बताएका छन् ।
‘हामीसँग योजना छ । अघिल्ला खेलमा जस्तै त्यसलाई कार्यान्वयन गर्नेमा विश्वास छ । अघिल्ला खेलमा जस्तै हाम्रो खेलभावनामा परिवर्तन भएको छैन,’ प्रशिक्षक दासले थपे, ‘सबै खेलाडीलाई आफ्नो भूमिका राम्रोसँग थाहा छ । राम्रो प्रदर्शन गर्ने विश्वास छ ।’
नेपालले शुक्रबार अफगानिस्तानलाई पराजित गरे उपाधिका लागि पाकिस्तानविरुद्ध खेल्नेछ । बिहीबार किनरारा ओभलमा भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई डर्कवर्थ लुइसका आधारमा २ रनले पराजित गरेको हो ।  
पिनाक घोषले ८२ र अफिफ होसेन ध्रुबोले ५२ रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रनको योगफल खडा गरेको थियो । २ सय ७५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३९ ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएर खेलिरहँदा वर्षाले खेल अवरुद्ध बनेपछि डकवर्थ लुइसका आधारमा बंगलादेश २ रनले पराजित भयो । पाकिस्तानका लागि मुहम्मद ताहाले ९२ रन बनाउँदा साद खान ३५ रनमा अविजित रहे ।

प्रकाशित: १ मंसिर २०७४ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App