४ वैशाख २०८१ मंगलबार
राजनीति

देउवा डडेल्धुरा पुग्दा कांग्रेसको ‘शक्ति प्रदर्शन’

देउवा डडेल्धुरा पुग्दा एकत्रित भएको कांग्रेस कार्यकर्ताहरूको भीड । तस्बिरः नागरिक

डोटी – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तहको मतपरिणाम अनुसार वामगठबन्धन कांग्रेसभन्दा झण्डै साढे आठ हजार मतले अघि छ । सोही मतपरिणामलाई आधार मानेर देउवालाई यसपटक चुनाव जित्न कठिनाई हुने विश्लेषण हुने गरेको छ। 

सोही तर्क खण्डन हुनेगरी बिहीबार डडेल्धुरा कांग्रेसले सदरमुकाममा ‘शक्ति प्रदर्शन’को शैलीमा विशाल चुनावी सभाको आयोजना गरेको छ। निर्वाचनका दौरानमा बिहीबार पहिलोपल्ट प्रधानमन्त्री देउवा जिल्ला पुग्दा डडेल्धुरा कांग्रेसले सदरमुकाम नै ‘खचाखच’ हुनेगरी नेताकार्यकर्ता ओरालेको छ । सभामा जिल्लाका गाउँगाउँबाट दश हजार भन्दा बढी कांग्रेस कार्यकर्ता सदरमूकाम ओर्लिएका थिए। 

‘देउवा हार्छन’ भनेर विश्लेषण गर्नेहरूलाई बिहीबारको उर्लदो जमात हेरेर विश्लेषण गर्न अधिकांश नेताहरूले सुझाव दिएका थिए । ‘डडेल्धुरामा देउवा हार्छन, कांग्रेस हार्छ भनेर भन्नेहरूले हेरुन यो उर्लदो जमात,’ आमसभालाई सम्बोधन गर्दै प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्रका उम्मेदवार रघुवर भट्टले भने,‘अनि विश्लेषण गरुन् । को जित्छ, को हार्छ। डडेल्धुरामा देउवा जनताको मनमनमा बसेका छन् । कांग्रेस मनमनमा बसेको छ ।’ पार्टीभित्रको सामान्य असन्तुष्टीमा फाइदा लुटेकाहरूले हौसिएर गरेको टिप्पणी जायज नहुने उनले बताए। 

देउवाकै कारण डडेल्धुरा समुन्नतीको बाटोमा अघि बढेका कारण डडेल्धुराले देउवालाई कहिल्यै माया नमार्ने प्रदेश सभा ‘ख’ का उम्मेदवार जिल्ला सभापति कर्ण बहादुर मल्लले बताए। ‘डडेल्धुराले देउवाको माया मार्नसक्ने दिन कहिल्यै आउदैन् । जुन कुरा यहाँमा जनताले प्रष्टका बुझेका छन्,’ उनले भने। 

सो चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘नाम’ र ‘नाक’ जोगाउन पनि डडेल्धुराका जनताले कांग्रेसलाई मतदान गर्ने दाबी गरे । डडेल्धुरामा कांग्रेस हार्ने कल्पना समेत नगरेको बताउँदै उनले कांग्रेस हार्दा डडेल्धुरा पनि हार्ने भएकाले नाम र नाक दुबै जोगाउन जनता कांग्रेसलाई भोट हाल्ने बताए। 

डडेल्धुरा सदरमुकाममा यतिठूलो भीड हालसम्म कहिल्यै नलागेको उपस्थितहरूले बताएका थिए। ‘यत्रो भीड त कहिल्यै लागेन् । पहिले देउवा आउँदा नी भिड नै हुन्थ्यो,’ डडेल्धुराका पत्रकार राम धामीले भने,‘तर, आजको भीड अहिलेसम्मकै ठूलो नै हो।’ 

डडेल्धुरामा बहुदलीय व्यवस्था आएसंगै २०४८ सालदेखी निरन्तर देउवा निर्वाचन जित्दै आएका छन्। २०४८, २०५१, २०५६, २०६४ र २०७० का निर्वाचन जितेका देउवा यसपटक छैठौँ पटक निर्वाचन जित्ने होडमा छन् । तर, स्थानीय तहको निर्वाचनको नतिजाका आधारमा देउवालाई ‘असहज’ देखिएको भन्ने टिप्पणी हुने गरेको छ । देउवासँग यसपटक पनि विगतका संविधान सभा निर्वाचनमा पराजित हुँदै आएका नेकपा माआवादी केन्द्रका खगराज भट्ट प्रतिस्पर्धी छन्। उनलाई वामगठबन्धन भएकाले एमालेले पनि सघाइरहेको छ। 

प्रकाशित: ३० कार्तिक २०७४ १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App